कांग्रेस र माओवादीले ठूलो दिल गरे मात्रै सहमति हुन्छ

|

आमचुनाव नजिकिएसँगै रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। चुनावी माहोल बनाउन मात्रै नभएर सत्ता गठबन्धनका लागिसिट बाँडफाँडको विषय पनि झन् झन् पेचिलो बनिरहेको छ।  

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठबन्धनबाट जान सिट बाँडफाँडको गृहकार्यमा जुटिरहेका छन्। तर, सिट मिलाउन सकिरहेका छैनन्। 

गठबन्धनको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाएपछि पनि शीर्ष तहको नेताहरू निरन्तर गृहकार्यमा जुटेका छन्। तर, हालमा लाग्यो शून्यकै अवस्था छ। दलहरू आआफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण भागवण्डा मिल्न सकेको छैन। १६५ निर्वाचन क्षेत्रमा अझै २०० भन्दा धेरै सिटको दाबी कायमै छ। 

आधाजसो ठाउँको सिट बाँडफाँटमा सहमति बनेपछि कुनै क्षेत्रमा दुईदेखि तीन दलसम्मको दाबी कायमै छ। दलहरूको अडानकै कारणले सहजै गठबन्धनमा कस्सिएको गाँठो फुक्ने अवस्था देखिएको छैन। गठबन्धनमा सहभागी मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक ढंगले सिट बाँडफाँड नभएर गठबन्धनबाटै बाहिरिने चेतावनी दिइसकेको अवस्था छ। 

गठबन्धनमा भागबण्डा पेचिलो बनिरहेको अवस्थामा गठबन्धनमा नमिलेको कुरा हो? सिट भागबण्डाको मापदण्ड, गठबन्धनको आगामी भविष्य, अहिलेसम्मका बैठकको प्रगतिलगायतका विषयमा गठबन्धन सिट बाँडफाँट कार्यदलका सदस्य तथा जसपा नेता रामसहाय यादवसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानी– 

गठबन्धनमा कार्यदलसहित शीर्ष नेताहरू नै निरन्तर सिट बाँडफाँडको गृहकार्यमा जुट्दा पनि सहमति बन्न सकेको छैन। खास नमिलेको कुरा कहाँ हो? 

हामीले प्रतिवेदन शीर्ष तहमा बुझाइसकेका छौँ। तर, अहिले संख्या तोकेर अगाडि बढ्ने भने सकेको छैन। क्षेत्रगत आधारमा मिलाउने प्रयास गरिरहेका छौँ। क्षेत्रगत आधारमा सहमति जुटाउनुपर्छ भन्नेमा सबै सजग हुनुहुन्छ। विभिन्न कोणबाट छलफल जारी छ। त्यसकारण क्षेत्रगत सहमतिमा आधारमा सहमतिमा पुग्ने गृहकार्य गरिरहेका छौँ। 

मधेशका धेरै ठाउँमा एमाले र माओवादी मिलेको अवस्थामा पनि हामी थोरै मतले मात्रै हारेका छौँ। त्यसलाई हामीले मुख्य आधारको रूपमा देखाएका छौँ।

तपाईँहरूले शीर्ष तहलाई कार्यदलको तर्फबाट प्रतिवेदन बुझाउनुभयो। त्यसमा कसलाई कति सिट हुनेगरी मापदण्ड बनाउनुभएको छ? 

हामीले ०७४ को निर्वाचन र अहिलेको स्थानीय तहको निर्वाचनलाई नै आधार मान्ने हो। त्यसमा कसले कहाँ जितेको छ। कसको संगठन कस्तो छ भन्ने सबै आधारलाई समेटेका छौँ। त्यसमा हामीले सबै पार्टीको जिम्मेवार नेताहरूको व्यवस्थापनलाई पनि हेरेर निर्णय गर्नुपर्छ भनेका छौँ। त्यसमा लागि सबैले सहमति जनाउनुभएको छ। हामीले बनाएको मापदण्डको सेरोफेरोमै रहेर शीर्ष तहमा अहिले छलफल भइरहेको छ। 

तपाईँहरूले ३२ सिटको दाबी गरिराख्नुभएको छ। त्यो कतिको स्वाभाविक हो? 

हामीले दाबी गरेको ३२ सिट स्वाभाविक नै हो। हामीले ०७४ सालमा १९ सिट जितेका छौँ। पश्चिममा एक सिट जितेका छौँ। मधेशका धेरै ठाउँमा एमाले र माओवादी मिलेको अवस्थामा पनि हामी थोरै मतले मात्रै हारेका छौँ। त्यसलाई हामीले मुख्य आधारको रूपमा देखाएका छौँ।

यसपालिको चुनावमा पनि हामी कमजोर देखिएका छैनौँ। ०७४ मा जितेको र थोरै मतले पराजित भएको साविक नेकपाको विभाजन भइसक्यो। अहिले त एमालेबाट माधव नेपालजीहरू पनि अर्को पार्टी गठन गरेर बाहिरिनु भएको छ। त्यसैको आधारमा हाम्रो ३२ सिट दाबी स्वाभाविक हो भन्ने लाग्छ। 

तर, गठबन्धनमा रहेका ठूला दलले जसपा र एकीकृत समाजवादीको कारणले सहमति बन्न नसकेको आरोप लगाएका छन् नि!

त्यो गलत कुरा हो। गठबन्धनमा निर्माणमा सबैभन्दा धेरै योगदान जसपाको छ। त्यसकारण हामी गठबन्धनलाई अगाडि बढाएर लोकतन्त्र र संघीयता लगायत उपलब्धिको रक्षा गर्नुपर्छ भनेर लागिरहेका छौँ। तर, ठूला दलहरूले गठबन्धन बचाएर जाने विषयमा पनि गम्भीर बन्न सक्नुपर्छ। हामीले आरोप–प्रत्यारोप नभएर सहमतिको बाटो खोजेका छौँ। 

गठबन्धन पनि जोगाउनुपर्छ भन्नुहुन्छ। अनि सिट बाँडफाँटमा किन लचक बन्नुहुन्न? 

गठबन्धन जोगाएर लाने र अहिले सम्मको उपलब्धिको रक्षाका लागि नेतृत्व गरेको दलहरू नै जिम्मेवार हुनुपर्छ। कांग्रेस र माओवादी केन्द्रले ठूलो दिल गर्न सक्नुपर्छ। गठबन्धनमा रहेका साना दलहरूलाई सहमतिमा मिलाएर लाने मुख्य जिम्मेवारी उहाँहरूकै हो। हामी धेरथोर लचक हुन तयार छौँ।

हामीले सबैलाई सम्मानजनक स्थान दिनुपर्छ भन्नेमा जोड दिइरहेका छौँ। गठबन्धनलाई सफलतापूर्वक अगाडि बढाउनुपर्छ भन्ने नै हाम्रो धारणा हो।

तर, सबैलाई सम्मानजनक हुनुपर्छ भनेका हौँ। ठूला दल अडानबाट पछि नहट्ने सानालाई पेल्न खोज्ने अनि हामी मधेशमा एक्लै जित्न सक्ने ठाउँमा उहाँहरूले पनि दाबी गरे पनि समस्या भएको हो। त्यसैले ठूला दलले मिलाएर सम्मानजनक रूपमा सिट बाँडफाँड गर्नुपर्छ भनेर लागेको हौँ। 

सबै दल अडानबाट पछि नहट्ने भएपछि गठबन्धन त टुट्ने नै देखियो नि!

हामी गठबन्धन टुटाउने पक्षमा छैनौँ। सिट बाँडफाँडको विषयलाई हामी जसरी भए पनि मिलाएर अघि बढ्ने प्रयासमा छौँ। गठबन्धन जोगाउन सबै दल सचेत छन्। र, सबैले लचकता अपनाएको पनि देखिन्छ। त्यही आधारमा हामी छलफल सकारात्मक ढंगले नै अगाडि बढिरहेको छ। 

कुन दलले कति सिट लिएर सहमति हुनसक्छ? 

कुन दलले कति सिट लिएर सहमति हुनसक्छ भन्ने कुरा अहिले होइन। यो त छलफलपछि सबैको सहमति बनिसकेपछि भन्ने कुरा हो। प्रारम्भिक प्रस्ताव त सबैले राखेका छन्। त्यसमा ठूला दलहरूले अलि बढी जिम्मेवार भएर अघि बढ्नुपर्छ। 

तपाईँ सहमतिको कुरा गर्नुहुन्छ। तर, पार्टी अध्यक्षले त सम्मानजनक सिट नपाए गठबन्धन तोड्छौँ भन्ने अभिव्यक्ति दिइराख्नुभएको छ।

अध्यक्षज्यूको अभिव्यक्ति स्वाभाविक हो। गठबन्धनमा सम्मानजनक सहमति भएन भने गठबन्धनमा नरहन सक्छौँ। हामीले सबैलाई सम्मानजनक स्थान र सहभागिता गराउनुपर्छ भन्नेमा जोड दिइरहेका छौँ। गठबन्धनलाई सफलतापूर्वक अगाडि बढाउनुपर्छ भन्नेमै नै हाम्रो धारणा हो। त्यही अनुसारको सहमति गर्ने प्रयासमा छौँ। 

भनेपछि मागे जति सिट नपाए गठबन्धन तोड्नुहुन्छ?

अहिलेसम्म हामीले सम्मानजनक सिट पाउँछौँ भन्नेमै छौँ। गठबन्धनलाई जसरी पनि सफल गर्नुपर्छ। गठबन्धनलाई एक बनाउनुको विकल्प छैन। 

तपाईँहरूको पकड मधेशमा मात्रै हो। अहिले तपाईँहरूलाई पार्टी विभाजन पनि भएकाले बेलामा चुनावमा असर गर्दैन? 

जसपाबाट केही नेता मात्रै बाहिर गएका हुन्। तर, पार्टीको संस्थापन पक्ष हामी नै हौँ। कमजोर भएको छैन। पहिलाको नेता र संगठन हाम्रो उस्तै बलियो छ। केही साथीहरू गए पनि हामीलाई चुनावमा असर गर्दैन भन्नेमा ढुक्क छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.