|

काभ्रे : काभ्रेको प्रतिनिधिसभाको प्रत्यक्ष तर्फका सिट बाँडफाँटमा सत्ता गठबन्धन दलबीच सहमति जुटेको छ। बुधबार सत्ता गठबन्धनका शीर्ष नेताहरूले काभ्रेको प्रतिनिधिसभा प्रत्यक्ष तर्फको दुवै निर्वाचन क्षेत्रको भागभण्डामा सहमति जुटाएको हो।

सहमतिअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ नेकपा (माओवादी केन्द्र) ले लिनेछ भने २ नेपाली कांग्रेसको भागमा परेको छ। १३ स्थानीय तह र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काभ्रेमा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्।

निर्वाचन क्षेत्रको सिट बाँडाफाँटमा सहमति जुटेको भए पनि पार्टीमा कसलाई टिकट दिने भन्नेमा आन्तरिक सहमति भने जुट्न सकेको छैन। त्यस्तैमा,  माओवादीभित्र ४ जना र कांग्रेसमा ५ जनाले टिकटको लागि दाबी गरेका छन्।

जसमा माओवादीबाट पूर्वऊर्जा राज्यमन्त्री समेत भइसकेका पार्टीको पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज), प्रतिनिधिसभा १ कै वहालवाला सांसद गंगाबहादुर दोङ (वामध्वज), बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र पार्टीका पूर्वजिल्ला अध्यक्ष तथा चौरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष दिननाथ गौतम (प्रयास) रहेको छ।

त्यस्तै, कांग्रेसबाट प्रतिनिधिसभा क्षेत्र नम्बर २ का लागि पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं,  पूर्व जिल्ला अध्यक्ष मधुप्रासद अचार्यसँगै अच्युतप्रसाद पौडेल, रामजी पन्त (मुकेश) र ठाकुरप्रसाद न्यौपानेको दाबी रहेका छन्।

जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरिएको भए पनि प्रदेशबाट टिकटको टुंगो नलाग्ने र केन्द्रमा नै पुग्ने एक नेताले बताए। दुवै दलका जिल्लास्थित नेताहरुका अनुसार माओवादीमा सूर्यमान दोङ, गंगाबहादुर दोङ र रत्नप्रसाद ढकालमध्ये एकले टिकट पाउनेछ। ती ३ जनामध्येमा सूर्यमान दोङको सम्भावना बढी रहेको उनीहरु बताउँछन्।

कांग्रेसमा हुँमागाई र अचार्यमध्ये एकले टिकट पाउने एक नेताले बताए। जिल्ला सभापतिको निर्वाचनमा तीर्थ लामालाई सहयोग गरेका कारणले पनि हुमागाईंले टिकट पाउन सक्ने ती नेताको भनाइ छ। ‘जिल्ला सभापति तीर्थ लामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन्,’ उनले भने, ‘जसले गर्दा सभापतिले आफूलाई सभापतिमा जिताउन भूमिका खेलेको हुनाले हुँमागाईंलाई नै टिकट दिन प्रधानमन्त्री देउवालाई आग्रह गर्ने र सोहीअनुसार नै हुँमागाईंले टिकट पाउनेछन्।’

काभ्रेको प्रतिनिधिसभा २ पूर्वमन्त्री गोकुल बाँस्कोटाको समेत निर्वाचन क्षेत्र हो। एमालेबाट चुनावी मैदानमा होमिएका बाँस्कोटालाई आफ्नो प्रतिष्ठा जोगाउन जित्नैपर्ने दबाब छन्। जसले गर्दा उक्त निर्वाचन क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.