पढ्दै कमाउँदै

|

सल्यान : खेतीकिसानी गर्ने भन्दा धेरैले नाक खुम्च्याउने गर्छन्। युवापुस्ता खेतीतर्फ खासै आकर्षित भएको पाइँदैन। विदेशमा गएर ज्याला मजदुरी गर्न तयार हुने तर आफ्नै खेतबारीमा कुटोकोदालो गर्न युवा हिच्किचाउँछन्।

कतिपय युवा भने विद्यालयमा खेतीकिसानी गर्दै आइरहेका छन्।

शिवजन माविका प्राविधिक धारअन्तर्गत पर्ने तीनवर्षे बाली विज्ञान (बीएस्सी एजी), १८ महिने कृषि जेटीए, भेटेरिनरी, वन प्राविधिक पढ्ने झन्डै ५० जना विद्यार्थीको पाँच समूहले पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्दै आएका छन्। व्यवसायतर्फ उन्मुख गर्न पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले तरकारी, फूललगायत बेर्ना उत्पादन गर्न बीउ, टनेलसहितको जग्गा उपलब्ध गराउनुका साथै उत्पादित वस्तु बिक्रीको व्यवस्थासमेत गरेको छ।

पढ्दै तरकारी खेती गर्दै कमाउँदै गर्न थालेपछि अहिले पढाइ खर्च, कोठाभाडा खर्च, खाने खर्च लगायत अन्य खर्चका लागि घरको भर पर्नु नपरेको कृषि डिप्लोमा पढ्दै आएकी बनगाड कुपिण्डे नगरपालिकाकी १९ वर्षीया भूमा बस्नेतले बताइन्। पढ्दै कमाउँदै कार्यक्रमबाट धेरै कुरा सिक्ने अवसर मिलेको उनको भनाइ छ।

उनले भनिन्, ‘हाम्रो अहिले आठजनाको एउटा समूह छ। समूहलाई विद्यालयले एकएक टनेल उपलब्ध गराएको छ। त्यसमै तरकारी बीउ उत्पादन तरकारी खेती गर्दै आएका छौं।’

उनले एक सिजनमा ३५ देखि ७० हजार रुपैयाँसम्म कमाइ हुने बताइन्। ‘पहिला घरबाट अड्कलेर ल्याएको रुपैयाँले एक महिना खर्च जुटाउन गाह्रो हुन्थ्यो। पैसा सकिनेबित्तिकै फोन गर्नुपर्थ्यो। साथीभाइसँग सापटी लिनुपर्थ्यो। अहिले त्यस्तो समस्या छैन। धेरै सहज भएको छ’,  उनले भनिन्।

आफ्नो समूहले अहिले काउलीको बेर्ना उत्पादन गरेको र दैनिक एक हजारदेखि १५ सयसम्मको बिक्री गरिरहेको छात्रा सुजिता रानाले बताइन्। कार्यक्रमले पढाइसँगै आफूहरूलाई व्यावसायिक बनाउन उत्साहित गरेको र पछि गएर बेरोजगार भएर बस्न नपर्ने उनको बुझाइ छ। पढाइसँगै तरकारी खेती गरेर आयआर्जन गर्न थालेपछि धेरै राहत भएको रानाको भनाइ छ।

प्राविधिक धारअन्तर्गतका विद्यार्थीका लागि सरकारले पढाउँदै  कमाउँदै कार्यक्रम लागू गरेर विद्यालयलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ। त्यहीबाट प्रत्येक समूहलाई तरकारी खेती गर्न २५ हजार रुपैयाँ फिर्ता गर्ने गरी अनुदान दिँदै आएको विद्यालयका प्रधानाध्यापक हीरालाल नेपालीले बताए।

विद्यालयले विद्यार्थीलाई तरकारी खेती गर्न जग्गा, टनेल, बीउलगायत कृषि औजार उपलब्ध गराउँदै आएको उनले जानकारी गराए। उनले उत्पादित वस्तु बिक्री गर्न तरकारी बिक्री केन्द्रसमेत विद्यालय परिसरमा स्थापना गरेको बताए। विद्यार्थीले उत्पादन गरेको तरकारी बिक्री केन्द्रमार्फत बिक्री हुने गरेको नेपालीको भनाइ छ।उनले भने, ‘यो कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयमा ११ र १२ मा अध्ययनरत अन्य विद्यार्थीलाई पनि सहभागी गराउन थालेका छौँ।’

यस कार्यक्रमबाट अन्य विद्यार्थी पनि उत्साहित भएकाले सरकारले उपलब्ध गराएको अनुदान र जग्गा पर्याप्त नभएकाले विद्यालयको स्रोतबाट थप जग्गा भाडामा लिने तयारी भइरहेको नेपालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.