|

इलाम :  नेपालको राजनीतिक परिवर्तनसँगै खेलकुदमा संघहरू गठन हुने क्रम बढ्दै गएको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएका १८५ खेल संघलाई हेर्ने हो भने ४० भन्दा ज्यादा मार्सल आर्टसकै संघहरू छन्।

०४६ सालको राजनीतिक परिर्वतनपछि खेल संघहरू दर्ताहरू क्रम चुलिएको देखिन्छ। तर सक्रियता र प्रतियोगिता आयोजना नहुनाले नेपालीहरूले खेलकै नाम लिँदा फुटबल, भलिबल, एथलेटिक्स, कराँते, तेक्वान्दो, क्रिकेट लगायतको नाम लिन्छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्व र उसको राजनीतिक आस्थाका आधारमा खेल संघ दर्ता गरिनु अहिले परम्परा जस्तै बनेको छ । यसले वास्तविक खेल संघ र खेलाडी मर्कामा छन् ।

एउटै खेलका फरक–फरक संघ राखेपमा दर्ता भएका छन् । मार्सल आर्ट अन्तर्गत कराँतेको मात्र राखेपमा दुई दर्जन संघ छन् । तेक्वान्दोको अवस्था पनि उस्तै छ । नेपालीले पत्तो नपाएका  तङ इल मो दो, योङमुदो, कर्फ बल संघ, केम्पोकाई संघ, लाठी संघ, गोरखा खुकुरी मार्सल आर्ट, साम्बो, नेपाल चक्र बल संघलगायत १५० भन्दा बढी संघ खेलकुदका नाममा वितण्डा मच्चाइरहेका छन् । कतिपय संघहरू खेलाडीको नाममा विदेशमा कामदार पठाउने कार्यमा समेत संलग्न भएको पाइन्छ।

तङइलमोदो खेलको नाममा २ लाख बजेट

स्थानीय सरकारले समेत राजनीतिक आस्थाका आधारमा झोले संघलाई प्रतियोगिताको नाममा बजेट विनियोजन गर्दै आएको छ। इलामको सूर्योदय नगरपालिकाले चालु आर्थिक वर्षको बजेटमा तङ–इल–मो–दो नामको खेलको राष्ट्रिय प्रतियोगिता आयोजनाको नाममा २ लाख रुपैयाँ बजेट छुट्याएको छ। सो खेल सूर्योदयमा प्रशिक्षण सुरु भएको १ वर्ष पूरासमेत भएको छैन्। मार्सल आर्टस बिधाको भनिएको खेल हाल वडा नं १३ मा मात्र प्रशिक्षण हुँदै आएको छ।

प्रशिक्षणमा स्थानीय १२-१३ जना बालबालिकाहरू सहभागी छन्। खेलाडीहरू ह्रवाइट बेल्टबाट भर्खरै मात्रै यल्लो बेल्ट र ग्रिन बेल्टमा अपग्रेड भएका छन्। तर इलाममा विस्तार नै नभएको खेललाई राष्ट्रिय प्रतियोगिताको नाममा स्थानीय सरकारलाई बजेट विनियोजनमा हतारो देखिएको छ। तङ इल मो दो मा ह्रवाइट बेल्ट देखि ब्लाक बेल्ट नाइन डानसम्म हुन्छ।

संघको कार्यवाहक अध्यक्ष प्रकाश श्रेष्ठले अहिले ज्योति माविको खेलमैदानमा बालबालिकाहरूलाई सिकाइरहेका छन्। झापाका बासिन्दा उनी ज्योती माविमा निजी स्रोतका शिक्षक हुन्। खेलकुद मन्त्रालयको तथ्यांकअनुसार सो खेल २०६८ साल माघ १७ स्थापना भएको देखिन्छ।

राष्ट्रिय खेलकुद परिषदमा सो संघ १२८ नम्बरमा दर्ता रहेको देखिन्छ। तर संघसंग मुख्य प्रशिक्षक भने छैन। संघको प्रदेश र क्षेत्र संरचना छैन।

१५ जिल्लामा संघ स्थापना भएको देखाइएको छ। अहिले यो क्रम बढेर ४० भन्दा बढि जिल्लामा पुगेको संघका निवर्तमान अध्यक्ष सन्तोषकुमार पौडेल बताउँछन्।

मन्त्रालयको तथ्यांकमा संघको जग्गा, भवन, फर्निचर लगायतको सामाग्री नभएको उल्लेख छ। तर पौडेल आफ्नै कार्यालय भएको थोरै मार्सल आर्टसका संघ मध्ये तङ इल मोदोसमेत रहेको दाबी गर्छन्।

मुख्य प्रशिक्षकको बारेमा भने पौडलले बोलेनन्। उनले अहिले जिल्ला जिल्लामा स्वयमसेवक रुपमा प्रशिक्षकहरूले खेलाडी उत्पादन गरिरहेको बताए।

व्यक्तिको आडमा झोलाबाटै सञ्चालन

इलाममा २०७७ चैत्र ११ गते तदर्थ समिति बनाएपछि नेतृत्व पूर्ण छैन। तदर्थ समितिका विश्वजित गुरुङ हाल झापामा अध्ययन गरिरहेका छन्। अधिवेशन नै नभएको र कार्यालयसमेत नभएकाले संघ एकजना व्यक्तिको आडमा झोलाबाट संचालन भइरहेको छ।

जिल्लामा खेलको प्रगतिको बारेमा अध्यक्ष गुरुङ आफैँ अनभिज्ञ छन्। केन्द्रीय अध्यक्ष प्रकाश श्रेष्ठले प्रशिक्षण गराइरहेकाले सबै जानकारी उनले दिने भन्दै गुरुङ पन्छिए।

तदर्थ समिति बनाएको १ वर्ष ५ महिना भए पनि अधिवेशन हुन सकेको छैन। जिल्ला खेलकुद विकास समितिमा खेलको रेकर्ड पाइँदैन। राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला ज्वालाले समेत खेलको बारेमा अनविज्ञता प्रकट गरे।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला तङ इल मो दो नामको खेलका पदाधिकारीहरू हालसम्म सम्पर्कमा नआएको बताउँछन्। उनले तङ इल मो दो को गतिविधिबारे अनविज्ञता प्रकट गरे। सूर्योदय नगर खेलकुद विकास समितिका नवनिर्वाचित अध्यक्ष सौरभ आचार्यले समेत तङ इल मो दो खेलको बारेमा जानकारी नभएको बताए।

कोरोनाले झन् सजिलो

संस्था नै झोलामा बोकेर हिँड्नेहरूका लागि पछिल्लो समय कोरोना महामारीले थप अनुकूल बनाइदिएको छ। किनभने, महामारीको बहानामा कार्यक्रम र प्रतियोगिता पनि गर्नुपरेन। राष्ट्रिय खेलकुद परिषदका अनुसार कोभिड संक्रमणपछि सो संघ सम्पर्कमा समेत छैन्।

 राखेप संघ समन्वय शाखा प्रमुख चन्द्र राईको अनुसार कोभिडको संक्रमणपछि तङ–इल–मो–दो का पदाधिकारीहरू राष्ट्रिय खेलकुद परिषदसंग सम्पर्कमा आएका छैनन्। उनका अनुसार यसअघि तङ इल मो दोले फाट्टफुट्ट गतिविधि गर्ने गरेको थियो।

आगामी असोज २८ गतेबाट आयोजना हुने गइरहेको ९ औ राष्ट्रिय खेलकुदमा समावेश भएका ३८ खेलमा तङ इल मो दो छैन। निर्वमान अध्यक्ष पौडेल सहभागिताको लागि तय गएिको सबै मापदण्ड पुरा नभएकाले हाल राष्ट्रिय खेलकुदमा तङ इल मो दो समावेश नभएको बताउँछन्। उनी पर्यवेक्षकका रुपमा सहभागि भएर खेल प्रर्दशन भने गर्ने गरेको सुनाउँछन्। ‘ तोकिएको मापदण्ड पूरा नभएकाले सहभागिता जनाउन पाएका छैनौ। पर्यवेक्षकको रुपमा आमन्त्रण हुन्छ। हाम्रा खेलाडीहरूले डेमोस्ट्रेसन भने गर्ने गरेका छन्।’

नगर प्रमुखको इच्छामा बजेट

नगर प्रमुख रणबहादुर राईले व्यक्तिगत करकापमा परेर बजेट विनियोजन गरेको आरोप छ। उनलाई नेकपा एकिकृत समाजवादीका नेताहरूको आडबलमा राष्ट्रिय स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न योग्य खेलाडी नै उत्पादन नभएको अवस्थामा बजेट छुट्याएको आरोप छ। नगर प्रमुखलाई समेत खेलको बारेमा जानकारी छैन्। उनी तङ इल मो दोको एउटा कार्यक्रममा भने सहभागी भएका थिए।

कार्यबाहक अध्यक्ष श्रेष्ठले राखेपमा दर्ता भएपनि जिल्ला खेलकुदमा दर्ता नभएको स्विकार गरे। उनले तदर्थ समित रहेकाले केही दिनमा अधिवेशन गर्ने समेत बताए। श्रेष्ठले हालसम्म नेपालले ५१ वटा अन्तराष्ट्रिय पदक जितेको दाबी गरेका छन्। खेलकुद प्रर्वद्धनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए।

‘ तङ इल मो दो राष्ट्रिय प्रतियोगिताका लागि देशभरका खेलाडीहरू यहाँ आउँछन्। यसले पर्यटन प्रर्वद्धनका राम्रो योगदान पुग्छ।’ उनले भने ‘ खेलकै माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने हाम्रो लक्ष्य हो।’

प्रतियोगिताको नाममा ब्रहम्लुट

सूर्योदयमा यसअघि खेलकुदबाट पर्यटन प्रर्वद्धनको नारा राखेर केही दर्ता भएका खेलको राष्ट्रिय एवम अन्तराष्ट्रिय प्रतियोगिता आयोजनाको नाममा ब्रह्मलुटसमेत हुँदै आएको थियो। विगतका वर्षदेखि नै व्यक्तिगत प्रभावका आधारमा बजेट लिएर प्रतियोगिता आयोजना हुँदै आएको छ।

अन्तर्राष्ट्रिय प्रतियोगिताका नाममा आयोजित केही प्रतियोगिताहरूमा विदेशको टोली नाम दिएर नेपालको पश्चिम क्षेत्रका खेलाडीहरू खेलाइँदै आएको छ।

नेपालको टिमको रुपमा स्थानीयस्तरका खेलाडीहरू देखिन्छन्।  प्रतियोगिताका पारदर्शितामा माथि नै प्रश्न उठ्दै आएको छ। नारा पर्यटन प्रर्वद्धन राखिए पनि उपलब्धि भने हुन सकेको छैन।

अयोग्य भएको बजेट दिइदैन : नगर प्रमुख

नगर प्रमुख राई प्रक्रिया पुगेर आएको खण्डमा मात्र प्रतियोगिताका लागि बजेट दिन सकिने बताउँछन्। ‘नगर खेलकुद विकास समितिको प्रस्तावमा खेलकुदका गतिविधिहरू बजेटमा समावेश हुने हो। खेलकुदले ल्याएका कार्यक्रमहरू प्राथमिकताका आधार  नगरसभाबाट पारित भएर राजपत्रमा प्रकाशन गरिएको छ’ उनले भने ‘ नयाँ खेलकुद भएका प्रवर्द्धनका लागि खेलकुद समितिको सिफारिसमा नगरले प्रक्रिया अघि बढाएको हो। तर बजेट लिने समयमा प्रक्रिया नपुगेको पाइएमा नगर बजेट दिन बाध्य हुने छैन।

राजपत्रमा प्रकाशित भएको भन्दैमा बजेट पाइहालिन्छ भन्ने हैन राष्ट्रिय एवम अन्तर्राष्ट्रिय प्रतियोगिता संचालनका लागि योग्य नपाइए बजेटको दिने छैनौँ।’

 के हो तङ इल मो दो?

तङ इल मो दो मार्सल आर्टस विधाको खेल हो। एकिकृत मार्सल आर्टस भनिएको खेलमा कराते, उसु, जुडो लगायतका खेलहरूको कलाहरू मिश्रित गरिएको छ।

यो खेलको उत्पति दक्षिण कोरियामा भएको पाइन्छ। युनिभर्सल पिस फेडरेशनका संस्थापक सन् म्युङ मुनको निर्देशनमा डा सेयुकले करिब ४८ बर्ष अघि खेल स्थापना गरेका थिए। तर सन् २००१ बाट छिटपुट रुपमा गतिविधिहरू हुने गरेका छन्।

डा सन्ले स्थापना गरेको फेडेरेसनले नेपालमा समेत विविध कार्यक्रम गर्दै आएको छ। सन् २०१८ मा नेपालमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलन होलि वाइन प्रकरणको रुपमा समेत चर्चामा आएको थियो। विविध मार्सल आर्टस विधाहरूका कलाहरूलाई समेटेर खेल बनाइएको कार्यबाहक अध्यक्ष श्रेष्ठले बताए।

कोभिडको समयमा तङ इल मो दोले अनलाइनको माध्यमबाट कार्यशालाहरू गरेको उनले बताए। हाल यो खेल विश्वको ५२ वटा देशमा फैलिएको दाबी छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.