जोखिममा काठमाडौं उपत्यका

|

काठमाडौं : देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका छन्।

'हालसम्म डेंगुकै संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ‚' उनले भने। प्याकुरेलका अनुसार डेंगुबाट मृत्यु हुनेमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकाका रहेको समेत बताए। 

नेपालमा २०७६ सालमा पनि डेंगु तीव्र गतिमा फैलिएको थियो। त्यतिखेर काठमाडौं उपत्यकासहित देशभरि गरेर १९ हजारलाई डेंगु देखिएको थियो भने ६ जना संक्रमितको मृत्यु भएको थियो।

तर यसपटक डेंगुका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको उनले बताए। यसपटक डेंगुका बिरामीलाई कडा लक्षण देखिएको पाइएको समेत उनले बताए। 

संक्रमितको संख्या १६ हजारभन्दा धेरै

इडिसिडीका अनुसार हालसम्म डेंगु संक्रमितको संख्यासमेत १६ हजार ५ सय ८७ जना पुगेको छ। संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्।

बागमतीमा हाल १२ हजार ४०१ जना डेंगुका बिरामी रहेका छन्। गण्डकी प्रदेशमा ३२२ जना‚ लुम्बिनी प्रदेशमा २ हजार ४२२ जना, प्रदेश १ मा ५०४ जना, मधेश प्रदेशमा २४२ जना, कर्णाली प्रदेशमा २०३ जना र सुदूरपश्चिम प्रदेशमा ४९३ जना बिरामी रहेका छन्। 

काठमाडौंभन्दा ललितपुरमा धेरै बिरामी

यस वर्ष डेंगुको संक्रमण शुरु हुँदा नै ललितपुरमा डेंगुका धेरै बिरामी देखिएका थिए भने अझैसम्म पनि ललितपुरमा बिरामीको संख्या घटेको छैन।

इडिसिडीका अनुसार हाल ललितपुरमा ४ हजार ६०४ जना बिरामी छन् भने काठमाडौंमा ४ हजार ४५४ जना बिरामी रहेका छन्।

भक्तपुरमा पनि डेंगुका बिरामी बढ्दै गएका छन्। हाल भक्तपुरमा ७१३ जना बिरामी रहेका छन्।

दाङमा १ हजार ५९७ जना, रुपन्देहीमा ६५९ जना, चितवनमा ४१० जना, गुल्मीमा २९२ जना‚ दार्चुलामा १८८ जना र काभ्रेमा १५२ जना संक्रमित रहेका छन्। यी १० जिल्लामा जम्मा १४ हजार ६३ जना संक्रमित रहेका छन्। 

यसरि जोगिने डेंगुबाट

एडिस एजिप्टी प्रजातिको लामखुट्टेले मानिसलाई टोकेपछि डेंगुको संक्रमण हुने तथा डेंगुको भाइरसग्रस्त लामखुट्टेका अण्डाबाट हुर्कने सबै लामखुट्टेले टोकेमा डेंगु सर्ने प्याकुरेलले बताए।

‘डेंगु संक्रमण गराउने लामखुट्टे एक महिनासम्म बाँच्न सक्ने हुँदा त्यो खालको लामखुट्टे नष्ट नहुँदाको एक महिनासम्म मानिसलाई टोकेर डेंगु फैलने हुँदा सतर्क रहनु पर्छ’‚ प्याकुरेलले भने।

यो प्रजातिको लामखुट्टेले टोकेपछि मानिसलाई २ दिनसम्म सामान्य टाउको दुख्ने, २/३ दिनपछि लगातार १०२ देखि १०३ डिग्रीसम्म ज्वरो आउने गर्छ। ढाडका जोर्नी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, नाक र गिजाबाट रगत बग्नेजस्ता लक्षण देखिने उनको भनाइ छ।

उनका अनुसार घर वरपर रहेको पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेको टोकाइबाट जोगिन झुल टाँगेर सुत्ने, घरबाहिर करेसाबारीमा काम गर्न जाँदा सकेसम्म शरीर पूरै छोपिने गरी लुगा लगाउनुपर्छ। घर वरपर सफा राख्ने, लामखुट्टे भएका स्थानमा किटनाशक औषधि प्रयोग गर्नाले डेंगुको संक्रमणबाट बच्न सकिन्छ।​

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.