|

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत विहीबार जय नेपाल सिनेमा हलको कम्पाउन्डभित्र १५ मिटर गहिरो खनेर टुकुचा खोला उत्खनन गर्‍यो। महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको टुकुचा खोला पत्ता लगाएसँगै सामाजिक सञ्चालमा निकै चर्चाको विषय बन्यो।  

कतिपयले महानगरका मेयर बालेन साहले गरेको कामको प्रशंशा गरेका छन् भने कतिपयले विरोध जनाए। वर्षौदेखि अतिक्रमणको चपेटामा परेको टुकुचा खोलालाई पहिला कै स्वरुपमा फर्काउने उदेश्यले उत्खनन गरिरहेको छ। ऐतिहासिक सम्पदामा डोजर लगाएको भन्दै सो विषय अदालतसम्म पुग्यो। पाटन उच्च अदालतले अतिक्रमित टुकुचामाथि डोजर नचलाउन आइतबार अन्तरिम आदेश समेत दिएको छ। तर,यता महानगरले उत्खनन् गर्ने अभियानलाई निरन्तरता दिइरहने जनाएको छ।

बिहीबारदेखि अभियानको रुपमा उत्खननको काम सुरु गरेको महानगरको टोलीले शनिबार कमलादीस्थित लक्ष्मी बैंकको पर्खाल भत्कायो। साथै बाटोमा डोजर चलाएर जमिनमुनि बगेको टुकुचा फेला पारेको थियो। त्यस्तै महानगरपालिकाले आइतबार हात्तीसार स्थित सिद्धार्थ बैंक पछाडि टुकुचा खोलाको उत्खनन गरेको थियो। सोमबार पनि सो क्षेत्रमा डोजर लगाई खोला खोज्ने काम भइरहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

महानगरपालिकाले साउन १२ गते सार्वजनिक सूचना जारी गरी टुकुचामा भएको अतिक्रमण हटाउन भनेको थियो। ३५ दिने सूचनाको म्याद सकिएपछि टुकुचाको उत्खनन तथा खोजी सुरु गरेको महानगरले वरपरका घरलाई केही दिनमै भत्काउने चेतावनी समेत दिएको थियो।​

अदालतसम्म टुकुचा 

काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्नका लागि डोजर चलायो। जय नेपालको हलको आँगनमा डोजर लगाएसँगै अतिक्रमण गरी बनाएको संरचना हटाउने अभियान चलायो। खोलालाई प्राकृतिक रुपमा बग्न दिनु पर्ने भन्दै खोजीकार्य जारी राख्यो। महानगरको सो अभियानको विरोध गर्दै प्रेसिडेन्ड ट्राभल्स एन्ड टुर्सका तर्फबाट निर्देशक भोलाविक्रम थापासमेत तीनजनाले घर भत्काउन रोक लगाउन माग गर्दै  शुक्रबार उच्च अदालत पुगे। 

सो रिटको सुनुवाइ गर्दै उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङ माथि बनेका घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दियो। 

न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले कानुन बमोजिम उचित क्षतिपूर्ति नदिई घर लगायतका संरचना नभत्काउन आइतबार काठमाडौं महानगरपालिकाका नाममा  सो आदेश जारी गरेको थियो। दुवै पक्षलाई पेसी तोकी असोज ५ गते छलफलमा बोलाइएको छ। 

जेनेक्स इन्भेस्टेमन्टको नाममा काठमाडौं महानगरपालिका–१ कित्ता नम्बर ७ को क्षेत्रफल ०–९–१–१.६, उत्तरमान लामाको नाममा रहेको कित्ता नम्बर ३०३८ क्षेत्रफल ०–५–२–० र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको कित्ता नम्बर ३०३९ को क्षेत्रफल ०–५–२–० मा बनेका घरहरू कानुनी रीत नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिइएको छ। 

रिट निवेदकहरूले काठमाडौं महानगरपालिका–१ स्थित कित्ता नम्बर ७ को घरजग्गा २०६८ सालमा खरिद गरी भोगचलन गर्दै आएको तथा कित्ता नम्बर ३०३८ र ३०३९ को १० आनाभन्दा बढी जग्गा २०५३ सालमा किनेर त्यसमा घर बनाउन महानगरबाट भवन निर्माणको इजाजत लिएकाले तत्काल नभत्काउन आदेश दियो।

महानगरको निरन्तर अभियान

महानगरपालिकाले इच्छुमती अर्थात् टुकुचा खोला खोज्ने अभियानलाई निरन्तरता दिएको छ। आइतबार पाटन उच्च अदालतले डोजर नचलाउन अन्तरिम आदेश दिएपनि महानगरले सो अभियानलाई निरन्तरता दिएको हो। अदालतले भने अनुसारको तीनवटा संरचनालाई नभत्काइ अन्य स्थानमा खोजी कार्य जारी राखिएको प्रवक्ता मानन्धरले जानकारी दिए।

टुकुचा भूमिगत भएको सुरुवाती चरणदेखि अन्तिमसम्म खोजि गरेको थियो। हाल बीचमा देखिने गरी खोला खोज्ने काम भएको मानन्धरले बताए। कसैले रोकेर नरोकिने उनको भनाइ थियो। 

महानगरसँग छलफल गर्न टोली पठाउँदै विभाग 

पुरातत्व विभागले टुकुचा खोलाको विषयमा  महानगरसँग छलफल गर्नका लागि  विभागबाट टोली पठाउने भएको छ। १३० वर्ष अघि राणा प्रधानमन्त्री वीरशम्शेर पालामा निर्माण भएको भूमिगत सुरुङलाई ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा भन्दै संरक्षण गर्नुपर्ने विभागको तर्क छ।

यसको क्षति कम गर्नका लागि कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्नका लागि टोली पठाउन लागेको पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए।

‘टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा सुरूङ बनाइएको देखिन्छ। सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः हाम्रो पुरातात्विक सम्पदा मानिन्छ।  यसलाई जस्ताको त्यस्तै रोक्नु पर्ने भन्दै विभागलाई पत्र प्राप्त भएको छ। सो विषयमा अनुसन्धान भइरहेको छ।’ महानिर्देशक गौतमले भने,‘सम्पदालाई थप क्षति हुन नदिन विभागले पहल गर्ने छ।’

यसबीच नारायणहिटी दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिट मुनि ४ सय ४० मिटर लामो सुरुङमा हालेर जय नेपाल हलको आँगन हुँदै काठमाडौं प्लाजाको सीमानासम्म रहेको देखिन्छ। 

राणा प्रधानमन्त्री वीर शमशेरको छाप लागेको एक दस्तावेजमा बिक्रम सम्बत् १९४९ मा टुकुचामाथि पटांगिनी अर्थात् खुला चउर बनाउन जग्गा अधिग्रहण गरिएको र टुकुचालाई सुरूङ भित्र बगाएर माथि पुरिएको अधिवक्ता सञ्जय अधिकारी बताउँछन्।  ऐतिहासिक सम्पदा संरक्षण गर्नुपर्ने भन्दै विभाग,संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई समेत पत्र पठाएको अधिकारीले बताए। 

इच्छुमती रोक्नु गलत हो :  विज्ञ आचार्य 

यतिवेला टुकुचा खोलाको विषय सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा चर्चाको विषय बनेको छ। महानगरले खोला खाेजी गरेसँगै अदालतमा रिट पर्याे त्यस यता सम्पदा अभियान्ता र विज्ञहरुको फरक मत आउन थालेको छ। अभियन्ताहरुले खोलालाई भूमिगत राख्नु पर्ने बताउँदै आएका बेला सम्पदा विज्ञले भने खोला खुल्ला गर्नुपर्ने बताएका छन्। 

खोला आफैमा सम्पदा हो। जसलाई खोलाको बहाव रोक्न नहुने सम्पदा विज्ञ एवम् पुरातत्व विभागका पूर्वमहानिर्देशक कोषराज आचार्य बताउँछन्। उनी भन्छन्,‘ जसले र जुन समयमा बनाएको भए पनि खोलालाई सुरुङ बनाइ बगाउनु गलत हो। खाली गर्नुपर्छ।’  

राणाले बनाएको र धेरै समय अगाडी बनाएका संरचना भन्ने वित्तिकै ऐतिहासिक भन्ने प्रचलन छ। तर खोलालाई सुरुङ बनाउनु  आफैमा गलत हो। उनले थपे,‘कसैले उठाउन नसकेको विषय महानगरपालिकाका मेयर बालेन साहले उठाए। यो प्रशंसा योग्य विषय हो। उनको अभियान सहि छ।’ पुरानो अर्थात एक सय वर्ष नाघेका संरचनालाई सम्पदा मानिन्छ। तर खोलालाई सुरुङ बनाएको छ। यो आफैमा गलत भएकाले सम्पदाको रुपमा लिन नहुने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.