|

पाल्पा : बारीभरि हराभरा खुर्सानीका बोट। बोटमा फलेका हरिया र राता फल। हेर्दा निकै आनन्द लाग्ने बगैँचाजस्तो। त्यही बगैँचामा रमाइरहेका छन्, रिब्दीकोट गाउँपालिका–२ भुटुकाका दीपक पाण्डे।

उमेरले ४८ वर्ष पुगे। जोस जाँगर भने भर्खरका युवाको जस्तै देखिन्छ। घर अगाडि ठूलो बारी छ। त्यो बारीभरि खुर्सानीका बोट छन्। बिहान उठेदेखि बेलुकीसम्म तिनै खुर्सानीका बोटको स्याहार गर्न व्यस्त भइरहन्छन् उनी।

‘कृषि काम गर्न दुःख छ तर काम गरेको फल राम्रैसँग प्राप्त भएपछि थाकेको शरीरमा उमंग पैदा हुँदोरहेछ।’ पाकेका खुर्सानी टिपिरहेका उनले पुलुक्क फर्किएर भने।

दीपकले १२ रोपनी बारीमा अकबरे खुर्सानी खेती गरेका छन्। १२ हजार खुर्सानीका बिरुवा रोपेका छन्। गत चैत महिनाको अन्तिम साताबाट बिरुवा रोप्न थालेका उनले बैशाखको दोस्रो साता सकेका थिए। रोपेको तीन महिना पुगेपछि उत्पादन लिन थालिसकेका छन्।

साउन महिनादेखि नै खुर्सानी टिप्न सुरु गरिएको हो। उनी भन्छन्, ‘अहिलेसम्म ३० क्विन्टलभन्दा बढी खुर्सानी बिक्री भइसकेको छ। करिब ५ लाख बराबर कारोबार भएको छ।’ होलसेलमा प्रतिकिलो १२० रुपैयाँमा बिक्री भएको छ। खुद्रामा प्रतिकिलो १५० रुपैयाँसम्म खरिद गरेर लैजाने गरेका छन्। एक सिजनमा ९० क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुन्छ। यो सिजनमा कम्तीमा ८ लाख कमाउने उनको अनुमान छ।

उनले ३ हजार लगानी गरेर व्यावसायिक खुर्सानी खेती थालेका थिए। अहिलेसम्म करिब ५ लाख लगानी पुगेको छ। एक किलो बीउ ३ हजारमा खरिद गरेर दुई जनाले बाँडेका थिए। आधा किलो बीउबाट २५ हजार जति बिरुवा उत्पादन भएको थियो। जसमध्ये ६ हजार बिरुवा नर्सरीबाट नै बिक्री गरे। केही बिरुवा आफन्त र साथीभाइलाई निशुल्क दिए। १२ हजार बिरुवा उनी आफैँले रोपेका थिए।

खनजोत, मल्चिङ, बिरुवा रोप्ने, गोडमेल गर्ने र विषादीका लागि खर्च गर्दा अहिलेसम्म ५ लाख लगानी पुगेको उनले सुनाए।

वार्षिक १० लाख आम्दानी गर्ने लक्ष्य

एउटा बोटमा १ देखि डेढ किलोसम्म फल फल्ने कुरा सुनेका थिए दीपकले। अहिले उनकै बारीमा भएका खुर्सानीका एउटा बोटमा २ किलोसम्म फलेको छ। उनले भने ‘सायद उपयुक्त जमिन, आवश्यकता अनुसार मलजल मिलेको र राम्रो स्याहार पाएर होला।’

अर्को वर्षदेखि आम्दानीमा वृद्धि हुनेछ। ‘सुरुको वर्षमा सबै कुराको व्यवस्थापन गर्दा यति ठूलो खर्च भएको हो। अर्को वर्षदेखि खर्च कम हुन्छ।’ उनले भने ‘बहुबर्षे खुर्सानीका बोटलाई सामान्य गोडमेल गर्ने, काँटछाँट गर्ने र विषादीको मात्रा व्यवस्थापन गरे हुन्छ। त्यसैले खर्च कम हुन्छ। आम्दानी धेरै हुन्छ।’ अर्को वर्षदेखि १० लाख बढी आम्दानी गर्ने उनको लक्ष्य छ।

गाउँका युवालाई रोजगार

दीपकले यसअघि जिल्लाको सदरमुकाम तानसेन बजारमा खाद्यवस्तु र पेय पदार्थको व्यापार गर्दै आएका थिए। यस व्यापारबाट उनले वार्षिक १० लाखभन्दा बढी आम्दानी गर्थे तर कहिलेकाँही भने घाटा पनि बेहोर्नु परेको थियो। त्यसैमाथि कोरोनाको महामारी फैलियो। जसका कारण व्यापार घट्यो। कम्पनीले समेत पर्याप्त सामग्री पठाउन सकेन। व्यापार धराशयी बन्दै गयो। घर खर्च र कारोबार ब्यबहार चलाउन समस्या हुन थाल्यो।

विषम परिस्थितिमा अलमल परेका दीपक बजारको बसाइ छाडेर गाउँतिर फर्किए र खुर्सानी खेती गर्ने सोच बनाए। छिमेकी वडामा खुर्सानी खेती गर्दै आएका जनक आचार्यको घरमा पुगेर यसबारे जानकारी लिए। उनीसँगै खुर्सानीको बीउ समेत किनेर फर्किए।

हिजो अरुको कामदार बनेका उनी अहिले साहु नै बनेका छन्। अरुलाई काम दिन सफल भएका छन्। खुर्सानी खेतीको स्याहार गर्न दुइजना कामदार राखेका छन्। खान बस्नसहित मासिक १५ हजार तलब दिन्छन्। ती कामदारले खुर्सानीको बोटको रेखदेख, गोडमेल र टिप्ने काम गर्छन्।

दैनिक ज्यालादारीमा पनि कामदार खटाउँछन्। दैनिक खुर्सानी टिप्नका लागि ५/६ जना ज्यालादारीमा कामदार आउने गरेका छन्। एक किलो खुर्सानी टिपेवापत १५ रुपैयाँ ज्याला दिने गरेको उनले बताए। एक जनाले सरदर दैनिक ५० किलो खुर्सानी टिप्दै आएका छन्। विदेशबाट फर्किएका युवाले यहाँ जागिर पाएका हुन्।

आगामी दिनमा खुर्सानी खेती अझै विस्तार गर्ने र बन्दा, काउलीको पनि खेती गर्ने उनले सुनाए। खास किसानको पहिचान गरी तीनै तहका सरकारले सहयोग गर्नुपर्ने दीपकको माग छ।

बजारको अभाव छैन

यहाँ उत्पादन भएका खुर्सानी बिक्रीका लागि बजारको अभाव छैन। नजिकै रहेको हार्थोक बजारमा संकलन केन्द्र स्थापना भएको छ। सबै खुर्सानी केन्द्रले खरिद गर्छ। उत्पादन गर्न सके बजारका लागि समस्या नभएको दीपकले बताए। गत वर्षभन्दा यस वर्ष मूल्य घटेकोप्रति भने उनको गुनासो छ। गत वर्ष ३०० रुपैयाँ प्रतिकिलो बिक्री भएको थियो। आगामी दिनमा यसको मूल्य बढ्नेमा उनको आशा छ।

संकलन तथा प्रशोधन केन्द्र

हार्थोक बजारमा ‘पाल्पा-रिब्दीकोट अदुवा र खुर्सानी संकलन तथा प्रशोधन केन्द्र’ स्थापना गरिएको छ। रिब्दीकोट गाउँपालिकाका निवर्तमान अध्यक्ष नारायणबहादुर जिसीले पालिकाभरि अकबरे खुर्सानी उत्पादन अभियान सञ्चालन गरेका थिए। खुर्सानी उत्पादन भएपछि उनकै पहलमा संकलन केन्द्र स्थापना भएको हो।

गाउँपालिकाबाट ५० लाख बजेट विनियोजन गरेर यहाँका किसानलाई अकबरे खुर्सानी खेतीमा प्रोत्साहित गरेको जिसीले बताए। उनका अनुसार ५०० सय किसानलाई ६ लाख अकबरे खुर्सानीका बिरुवा वितरण गरिएको थियो। यो अभियान अन्तर्गत हेफर इन्टरनेशनलले किसानको समूह बनाउने, तालिम दिने र आवश्यक उपकरण दिएर सहयोग गरेको थियो। ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाले सहजीकरण गर्दै आएको थियो। स्थानीय सरकारले प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्दा यो अभियान सफल भएको जिसीले दाबी गरे।

बाँदरले बारीमा फलेका सबै मकै खाइदिए पछि पीडित बनेका यहाँका किसानलाई खुर्सानी खेती वरदान नै सावित भएको छ। यसको विकल्पमा खुर्सानी खेती थालिएको हो। बारीभरि उत्पादन भएका खुर्सानी नगदमा बिक्री हुन थालेपछि यहाँका किसान अहिले दंग छन्।

गाउँपालिकाले यहाँका किसानलाई आर्थिकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले व्यावसायिक खुर्सानी खेती अभियान नै सञ्चालन गरेको जिसीले बताए। अहिले किसानले उत्पादन गरेका खुर्सानी संकलन केन्द्रले खरिद गर्छ। दैनिक सरदर सय क्विन्टल खुर्सानी केन्द्रमा संकलन हुन्छ। यहाँ प्रशोधन पनि गरिन्छ। चिस्यान केन्द्रको समेत व्यवस्था छ।

यसरी खरिद गरिएका खुर्सानी बुटवल, पोखरालगायतका शहरमा निर्यात हुँदै आएको जिसीले बताए। चाउचाउ कम्पनीमा यो खुर्सानीको माग बढ्दो छ। साथै यसको अचार पनि स्वादिष्ट हुने हुँदा माग अनुसार निर्यात गर्न सकिएको छैन

अकबरे खुर्सानी खेतीलाई सहयोग गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.