शीर्ष नेताले संसदीय राजनीतिबाट बिदा लिनुपर्छ

|

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचन प्रक्रिया सुरू भइसकेको छ। चुनाव नजिकिएसँगै रणनीति बनाउन राजनीतिक दल सक्रिय छन्। दलहरूले समानुपातिकतर्फकाे बन्दसुची समेत निर्वाचन आयोगमा बुझाइसकेका छन्।  दलहरू आफ्नो पक्षमा चुनावी माहोल बनाउन केन्द्रित छन्। 

सत्ता गठबन्धनकाविरूद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनाव लड्ने तयारीमा छ। गठबन्धन सिट बाँडफाँटमा बालुवाटारमै अल्झिँदा एमाले गाउँगाउँमा पुगिसकेको छ। एमालेले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेको छ। तर, एमालेले पनि गठबन्धन विरूद्ध लड्ने राप्रपा, लोसपा, राप्रपा नेपाललगायतका साना दलहरूसँग छलफल बढाइरहेको छ।

चुनावी माहोल तात्दै गर्दा एमालेको चुनावी तयारी कस्तो भइरहेको छ? गठबन्धनविरूद्धको रणनीति कस्तो छ? तालमेलबारेको गृहकार्य कहाँ पुग्यो? पार्टी भित्र टिकट वितरण कसरी हुन्छ? भन्ने लगायतका बिषयमा केन्द्रित रहेर एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग थाहाकर्मी रमेश पराजुलीले गरेको कुराकानीः 

निर्वाचन प्रक्रिया सुरू भइसक्यो। एमालेले चुनावी तयारी कसरी गरिरहेको छ? 

एमालेले अहिलेकाे निर्वाचनलाई एकदमै महत्वका साथ लिएको छ। अहिले पार्टीको सबै कामलाई थाति राखेर सबै शक्तिलाई निर्वाचनमा केन्द्रित हुन निर्देशन भइसकेको छ। समानुपातिकको नाम पनि सचिवालयको बैठक बसेर तलबाट आएको नामलाई अध्ययन गरेर छलफल गरेर लिस्ट तयार गरेर बुझाइसकेका छौँ।

अब निर्वाचनमा प्रत्यक्षको मात्रै भएकाले देश र माहोल बनिसकेको छ। सबै जिम्मेवार हुनु जरूरी छ। लोकतान्त्रिक विधिअनुसार सबै दलहरू चल्नुपर्छ। हामीले अहिले घोषणापत्रबारे छलफल गरेर हिजोको घोषणापत्रमा छुटेको बिषयलाई पनि अगाडि बढाउनेबारे छलफल भइरहेको छ।

संघीयता र जनताको दैनिक जीवनमा आइपर्ने विषयहरूलाई हामीले प्राथमिकता दिनुपर्छ भनेका छौँ। भ्रष्टाचार अन्त्य गरेर समाजवादको यात्रा तय गर्नेगरी हामीले घोषणापत्र तयार पार्नुपर्छ भनेर छलफल गरिरहेका छौँ। हामीले ठुला भन्दा पनि गर्ने सुशासन र जनमुखी कामलाई अगाडि बढाउनुपर्छ।

हामीले एमालेले एकल बहुमत ल्याएर सरकार गठन गरेर देशलाई समृद्धिको बाटोमा अघि बढ्नुपर्छ। अहिले गठबन्धनले अलोकतान्त्रिक चरित्र देखाइरहेको गठबन्धनले। गठबन्धन सरकार भ्रष्टाचार महँगी बढाएको छ। जनमुखी कुनै काम गरेको छैन। खाली भागबण्डा र एमालेलाई कसरी सिध्याउन सकिन्छ भनेर चलखेलको राजनीति मात्रै गरिरहेको छ। गठबन्धनको कारणले हामीलाई सोच्न बाध्य बनाएको छ।

जनताले कम्युनिष्ट पार्टी विश्वास गरेकै कारणले हामीले नेकपा बनाउँदा दुई तिहाइ नजिककाे मत पनि पायाैँ। तर, हामीले त्यसलाई स्थायित्व दिन सकेनौँ।

हामीले यस्तै अस्तव्यस्त बनाउनको लागि गणतन्त्र ल्याएको होइनौँ। यो खाली भागबण्डाको राजनीति गरेर देशलाई बर्बादितर्फ लगिरहेको छ। सबैले जिम्मेवार हुनुपर्छ। जनताप्रति बफादार हुनुपर्छ। संविधान पूर्ण रूपमा कार्यान्वयनका लागि गर्नका लागि गठबन्धन दललाई पछि पार्नुपर्छ जनताले। अब मुल्यांकन गर्नुपर्छ।

एमालेले हिजोका कमीकमजोरीलाई जनतामा राख्छौँ। र, गर्नुपर्ने कामलाई पनि सँगै लिएर जान्छौँ। संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने काममा एमाले नै अग्रसर हुनुपर्छ। समाजवादको लक्ष्य प्राप्त गर्नको लागि एमाले मात्रै त्यो शक्ति हो। जसले देशलाई अगाडि बढाउँछ। 

०७४ सालको निर्वाचनमा वाम एकता गरेर जनताको लगेको घोषणापत्र अलपत्र छन्। फेरि अहिले हामीलाई नै एकल बहुमत दिनुस् भनेर कसरी जनताकोमा जानुहुन्छ? 

हिजो वाम एकतासहित चुनावमा गएको हौँ। कम्युनिष्टहरू एकैठाउँमा आएर एकीकृत कम्युनिष्ट पार्टी बनाउनुपर्छ भनेर नेकपा बनाएका थियौँ। ठूलो राजनीति परिवर्तनपछि पनि फेरि स्वार्थको राजनीतिमा केन्द्रित भएकै कारण असफल भयाे।

जनताले कम्युनिष्ट पार्टी विश्वास गरेकै कारणले हामीले नेकपा बनाउँदा दुई तिहाइ नजिककाे मत पनि पायाैँ। तर, हामीले त्यसलाई स्थायित्व दिन सकेनौँ। पार्टी विभाजन भयो। अहिले वामपन्थी एकता गर्न सकिन्‍नँ। त्यो वातावरण पनि छैन। 

एमालेविरूद्ध सत्ता गठबन्धन लागेको छ। तपाईहरूले एकल बहुमतको लक्ष्य पुरा होला र? 

गठबन्धन पूर्ण रूपमा असफल हुने देखिसकेका छौँ। जनताले गठबन्धनको कामलाई नजिकबाट हेरिरहेका छन्। त्यति लामो समय गठबन्धन भन्दै एमालेविरूद्ध लागेका छन्। कमिकमजोरी हुनसक्छ।

तर, उहाँहरू एमालेलाई विस्थापन गर्नेगरी जुन ढंगले लाग्नुभएको छ। त्यसमा स्वार्थ, पदीय र भागबण्डाको राजनीति छ। त्यसमा हामीले अराजकता देखेका छौँ। त्यसलाई जनताले सबै देखि राख्नुभएको छ। अहिले हाम्रो देशको हालत कस्तो छ? त्यो मुल्यांकन निर्वाचनको दौरानमा हुन्छ। अर्थतन्त्र कहाँ पुग्यो? सुशासन, राजनीति स्थिरता, विकास गर्ने भनेर उहाँहरूले गठबन्धन गर्नुभएको हो। तर, केही देखाउन सक्नुभएन।

त्यो भएकाले एमालेलाई जनताले मत दिएर बाटो देखाउने विश्वास छ। एक्लै लड्छौँ, एक्लै जित्छौँ पनि। स्थानीय तहमा गठबन्धनको कारणले केही महत्वपूर्ण ठाउँ गुमायौँ। हामी भित्र पनि टिकट वितरणमा समस्या देखियो।  तर, अहिले हामीले सबै कुराहरूलाई समिक्षा गरेर एकजुट भएर अघि बढ्छौँ। 

कमिकमजोरी हुनसक्छ। तर, गठबन्धन एमालेलाई विस्थापन गर्नेगरी जुन ढंगले लागेकाे छ। त्यसमा स्वार्थ, पदीय र भागबण्डाको राजनीति मात्रै छ।

एकल बहुमत ल्याउँछौँ भन्नुभयो। एमालेले एक्लै लडेर कति सिट ल्याउने आकलन गर्नुभएको छ? 

हामीले यति सिट जित्छौँ भनेर आकलन गरेका छैनौँ। बहुमत ल्याउनेगरी जित्छौँ भन्नेमा हामी ढुक्क छौँ। स्थानीय तहको निर्वाचनबाट हामीले राम्रो पाठ सिकेका छौँ। हामी देशैभरी गएर समिक्षा र आलोचना पनि सुनेका छौँ। भेला गरेर चुकेका ठाउँमा समिक्षा गरिसकेका छौँ।

कम्तिमा त्यसलाई मध्येनजर गरेर त्यही योजनाको साथ अघि बढ्छौँ। अहिलेको अवस्थामा देश रहनुहुँदैन। व्यवस्था परिवर्तन भनेको अराजकता सिर्जना गर्नको लागि होइन। जनताले दुख पाउनका लागि होइन। हामीले त्यो कुरालाई गम्भिरतापूर्वक लिएका छौँ। 

तपाईंले व्यवस्था परिवर्तनको कुरा गर्नुभयो। तर, एमालेलाई अहिले वाम एकता छाडेर राजावादीहरूसँग तालमेल गर्ने अवस्थामा पुग्यो भन्ने टिप्पणी हुन्छ नि!

राजावादीको कुरा भन्दापनि अहिले लोकतन्त्रप्रति आस्था र विश्वास राख्छ। देश समृद्धिको दिशामा लैजानुपर्छ भन्ने चाहना र भावना राख्छ। त्यो ढंगले पार्टीहरू अगाडि बढ्छ भने त्यो पार्टीसँग तालमेल गर्न सकिन्छ भन्ने हो।

अहिले हाम्रो मुल एजेण्डा भनेको समृद्ध मुलुक, सुशासन, भ्रष्टाचार नियन्त्रण गरेर विश्वमा समृद्धि र विकासमा एउटा परिचय दिने लक्ष्य हो। देश विकासको लागि राजनीतिक स्थायित्व हुनुपर्छ। त्यो एजेण्डाको साथ कुनै पनि दलसँग छलफल गरिरहेका छौँ। त्यही ढंगबाट अगाडि बढ्न अपिल गरेका छौँ। अहिले गठबन्धनको कुरा गर्ने भने पनि गणतन्त्र र लोकतन्त्रप्रति कति जिम्मेवार भए त भन्ने हेर्नुपर्छ।

मेरो चाहना भनेको गठबन्धन आआफ्नो आत्मसमीक्षा अगाडि बढेस् भन्ने हो। ०६२/६२ मा सबै दलहरूले बलिदान र त्याग गरेर नै जनताको भावना अनुसार अगाडि बढेकै कारणले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएका हौँ। अहिले पनि देश बनाउने र संविधान कार्यान्वय गर्ने कुरामा पनि यहि दलहरू एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। तर, अहिले बाटो विराएर आफू आफू नै स्वार्थको लडाइँ लडिरहेका छौँ। यस्तो भएपछि जनताले कहिल्यै सुख पाउने भएनन्।

देश र राष्ट्रियताको रक्षाको लागि लाग्नुपर्छ। मुलुक रहे मात्रै हामी रहन्छौं, पार्टी रहन्छ। देशको अखण्डताको रक्षा गर्नका लागि मुलुकलाई स्थायित्व दिएर समाजवादको लक्ष्य प्राप्त गर्न चाहन्छौँ। त्यसैले मैले पहिला पनि भने अहिले हामी धेरै ठाउँमा तालमेल गरेर जान सक्दैनौँ। अहिले पार्टीलाई व्यवस्थित गरिरहेका छौँ। 

भनेपछि तपाईँहरूको प्रचण्ड र माधव नेपालसँग भन्दा राजेन्द्र लिङ्देन र कमल थापासँग विचार मिल्यो? 

विचार मिल्यो भन्ने कुरा आउदैन। जसले लोकतन्त्र, राष्ट्रियताको भावना बोक्छ। गणतन्त्रलाई स्थायित्व दिनुपर्छ भनेर लाग्छ त्यो शक्तिहरूसँग मिलेरै जानुपर्छ भन्ने मलाई लाग्छ। त्यसको विपक्षमा बस्नेहरूसँग मिलेर जान सकिँदैन।

अब माधव नेपालको कुरा गर्नुभयो। उहाँलाई मैले के भन्नु। माधव नेपाल कम्युनिष्ट आन्दोलनको एउटा सशक्त नेता हो। नेकपा एमालेको माले हुँदा देखिको सशक्त नेता हो।

प्रचण्ड कमरेडले झन् त्यत्रो जनयुद्ध गर्नुभयो। अहिले उहाँले सबै कुरा बिर्सिएकै कारणले अफ्ठ्यारो स्थितीमा हुनुहुन्छ। सबैले बाटो बिराएका छन्।

तर, आज कहाँ पुग्नुभयो। आफूलाई चिन्न नसकेर जनताको भावनालाई बुझ्न नसकेकै कारणले। कम्युनिष्ट आन्दोलनलाई बचाउनुपर्छ भन्ने कुरा बिर्सेर। अब यस्तो कुरालाई केही भन्नु छैन। आफै कमजोर भएर बाटो बिराउने बाटोमा लाग्नुभएको छ। प्रचण्डको कुरा धेरै केही भन्नु छैन। दलहरूले आत्मसमीक्षा गर्नु जरूरी छ। देश र जनताको भावनाअनुसार चल्ने बेला आयो। 

तपाई आफै कम्युनिष्ट आन्दोलनको पक्षमा लडेको मान्छे हुनुहुन्छ। तर, अहिले कम्युनिष्ट पार्टीहरू छिन्नभिन्न हुनुको जिम्मेवारीको देख्नुहुन्छ? 

मुल कारण स्वार्थ नै हो। कम्युनिष्ट स्वार्थ र आन्दोलनलाई नै बिर्सेकै कारणले अहिलेको अवस्था आएको हो। हिजो त्यो गर्ने नेताहरूलाई सबैले बिर्सिसकेका छन्। प्रचण्ड कमरेडले झन् त्यत्रो जनयुद्ध गर्नुभयो। अहिले उहाँले सबै कुरा बिर्सिएकै कारणले अफ्ठ्यारो स्थितीमा हुनुहुन्छ। सबैले बाटो बिराएका छन्।

सिद्धान्त बिर्सिएर पद, स्वार्थ र भागबण्डाको राजनीतिमा केन्द्रित भएका छन्। यो ढंगले हामी अगाडि बढेर समाजवादमा पुग्न सक्दैनौँ। अहिले सबैको साझा स्वार्थ नै समाजवाद हुनुपर्छ। सबैको चिन्ता त्यही हुनुपर्छ। जनताको अवस्था छाडेर परिवार नातावादमा दौडिएर हुँदैन।  

तपाईंले स्वार्थको राजनीतिको कुरा गर्नुभयो। एक समय तपाई पार्टी अध्यक्ष केपी ओलीको चर्को आलोचक हुनुहुन्थ्यो। अहिले उहाँलाई नेता मानेर काम गर्न कति सहज भइरहेको छ?

मैले अध्यक्ष कमरेडसँग बसेर काम गरिरहेको छ। नवौँ महाधिवेशनमा उहाँ अध्यक्ष बन्नुभयो। माधव कमरेडले हान्नुभयो। हामीले जितेर सँगै काम गर्यौँ। पार्टी बनाउनुपर्छ भनेर लागिरहेका छौँ। एकजुट भएर जानुपर्छ भनेर जाँदा अन्तर्विरोध भयो। त्यो स्थितीबाट गुज्रिँदा एकअर्काको आलोचक पनि भयौँ।

हामीले पार्टी एकजुट भएर बन्नुपर्छ भन्नेमा एकजुट छौँ। पार्टी विभाजनको चरणमा माधव कमरेड लागेपछि हामीले साथ दिन सक्दैनौँ भन्यौँ। पार्टी फुटाउने गतल कदम हो। यसले कम्युनिष्ट आन्दोलन र एमालेलाई फाइदा गर्न सक्दैन भन्यौँ। पार्टी स्थापनाकालदेखि दुख गरेको पार्टी छाड्न मिल्दैन भनेर हामीले पटक पटक भनिरहेकै हौँ। तर, उहाँले सुन्नुभएन।

घरभित्र बस्दा आमाबुबा दाजुभाइ सबै एकैठाउँमा बस्दा विवाद हुन्छ। त्यो कुरा घरभित्र राखेर मिल्नुपर्छ भनेका हौँ। मिल्नुको विकल्प छैन भनेका हौँ। यस्तो पार्टीले कम्युनिष्ट पार्टी चल्दैन भनेर धेरै आग्रह गर्दा मान्नुभएन। त्यसमा हामीले साथ दिन सकेनौँ। अहिले मान्छेको सबैभन्दा गाह्रो कुरा आफैमा रूपान्तरण हुन नसक्ने सबैको कमजोरी हो। अहिले धेरै कुरा सच्चिँदै गएको ओली कमरेडमा देखिएको छ। 

पार्टी विभाजनको बेलामा माधव नेपालको साथ छाडेका नेताहरूलाई अहिले एमालेमा टिकट पाउन मुस्किल छ भन्ने सुनिन्छ नि!

त्यो बिषयमा हामीले प्रष्ट भनिसकेका छौँ। त्यो त गर्नै मिल्दैन। हामी एमाले भनेर बसिसकेका छौँ। हामी फुटको पक्षमा गएनौँ। केपी कमरेडलाई अध्यक्ष मानेर दशौँ महाधिवेशनबाट पार्टी एकताको लागि लागिपरेका छौँ। विभेदको राजनीति गर्न हुँदैन। सबैलाई समेटेर लानुपर्छ भनेका छौँ। उहाँले मलाई त्यस्तो गर्नुहुन्छ जस्तो लाग्दैन। 

तपाईँहरूसँगै माधव नेपालको साथ छाडेको भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरू अहिले पनि ओलीको चर्को आलोचनामै उत्रिराख्नुभएको छ? 

उहाँहरू पनि एमालेकै जिम्मेवार नेता हुनुहुन्छ। एउटै पार्टीमा भएपछि पार्टी पद्धति र प्रणालीमा बस्नुपर्छ। पार्टीको सिद्धान्त र विचारअनुसार हिँड्नुपर्छ। हिजो त हामीलाई ढोका बन्द गरेर बाहिरै राखेको थियो नि। हामी पार्टीमै पस्न पाएका थियौँ। अहिले हामीले सबै कुरा पार्टीको बैठकमा राख्नुपर्छ। आफूलाई लागेको कुरा पार्टी बाहिर राखेर केही हुँदैन।

राष्ट्रियसभा सदस्य दुई बर्ष भएँ। संविधान लेखनमा ५ बर्ष लागियो। प्रतिनिधि सभामा पनि जितेर पाँच बर्ष बसियो। प्रदेशमा गएर मुख्यमन्त्री पनि बने।

उहाँहरूले पनि त्यस बिषयमा सोच्नुपर्छ। तर, टिकट वितरणमा जित्नेले दिनुपर्छ। जस्तै, मैले संसदीय राजनीति पुग्यो भने। म अब पार्टी केन्द्रित राजनीति गर्छु। प्रत्यक्षमा त अझै मेरो ठाउँ छ। साथीहरूले पनि भनिराख्नुभएको छ। तर, मैले पुग्यो भने। अब समानुपातिक त मलाई पहिल्यै देखि नै चाहिँदै चाहिँदैन भनिसके। त्यो भएकाले जित्नेलाई टिकट दिनुपर्छ। 

तपाईंले संसदीय राजनीतिबाट बिदा लिने निर्णय किन लिनुभयो? 

मैले पाँच वर्षअघि नै भनेको थिए। तपाईंहरूले सुन्नुभएको हो। एउटा व्यक्तिलाई टिक पाउँदा कतिपटक पाउने? सुविधा पाउँदा कतिपटक पाउने? कतिपटक सांसद र मन्त्री पाउने? कतिपटक प्रधानमन्त्री पाउने? पदमा रहदा देश र जनतालाई के गर्यो भन्ने कुरा आउछ। मैले प्रष्ट भनेको छु।

राष्ट्रियसभा सदस्य दुई वर्ष भएँ। संविधान लेखनमा ५ वर्ष लागियो। प्रतिनिधि सभामा पनि जितेर पाँच वर्ष बसियो। प्रदेशमा गएर मुख्यमन्त्री पनि बने। २७/२८ साल मैले जुन ढंगले राजनीति गरे। ०३६ सालबाट झण्डै ११ वर्ष भूमिगत राजनीतिमै लागेको पनि हो। तर, खुला भएपनि मैले सम्मान पाए। मलाई पार्टीले दुई पटक मन्त्री बनायो। त्यो भनेको मेरो कामको पार्टीले गरेको सम्मान हो। मैले मात्रै पाउने होर भन्ने प्रश्न उठ्छ। मेरो पछि धेरै ठुलो त्याग र बलिदान गरेको पंक्ति छ।

उहाँहरूले अवसर पाउनुपर्छ भन्ने मेरो धारणा हो। केपी कमरेड प्रधानमन्त्री हुँदा मलाई फेरि मन्त्रीको अवसर दिनुभएको थियो। तर, मैले अब मलाई पुग्यो शान्ता कमरेडलाई दिनुहोस् भने। उहाँ मन्त्री बन्नुभयो। त्यो भएकाले संसदीय राजनीतिबाट बिदा लिएर पार्टीको राजनीतिमा लाग्छु। मैले भर्खरै उपाध्यक्षको जिम्मेवारी पाएको छु। मैले केपी कमरेडलाई भनिसकेको छु। मलाई अब बिदा दिनुस् भनेर। त्यसमा मेरो कुनै स्वार्थ छैन। 

तपाईंले यस्तो भन्दै गर्दा तपाईंकै पार्टी अध्यक्ष ७० नाघिसकेपछि देशको नेतृत्व गर्ने लक्ष्यसहित चुनावी मैदानमा होमिँदै हुनुहुन्छ। त्यसलाई कसरी लिनुहुन्छ? 

मैले मेरो बारेमा प्रष्ट राखे। उहाँहरूको बारेमा मैले जस्तो उहाँहरूले पनि भोलिका दिनमा गर्नुहोला भन्ने अपेक्षा छ। त्यस्तो सिस्टम नै विकास गर्नुपर्छ भन्ने लाग्छ। एउटै मान्छे कतिपटक चुनाव, लड्ने र सांसद मन्त्री बन्ने? सकि नसकि पदमा बस्नु ठुलो कुरा होइन। काम गर्न सक्नुपर्छ।

एउटै मान्छे पदमा बस्दा अरू मान्छेले अवसरबाट बञ्चित हुनुपर्छ। ७० बर्ष नाघिसकेपछि अब कसरी रिटायर लाइफ जिउने भन्नेमा अब सबैले मम भनेर सोच्नुपर्ने देखिएको छ। त्यसबारे पार्टीमा छलफल भएको हो। तर, त्यो अझै लागू हुन सकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.