|

बागलुङ : बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर १ सम्मर गाउँका कृषक यस वर्ष निकै मर्कामा परेका छन्। कृषि ज्ञान केन्द्र बागलुङले कृषकलाई नयाँ जातको मकैको बीउ अध्ययनबिनै वितरण गर्दा राम्रो उत्पादन नभएपछि मर्कामा परेका हुन्।

गाउँलाई गत वर्ष मकै पकेट क्षेत्र घोषणा गरिएको थियो। गणेश जातको मकैको बीउ १७ समय मिटरभन्दा माथिको उचाइमा लगाउनु पर्ने हो तर सम्मर गाउँ १६ सय मिटरको उचाइमा छ। गणेश जातको मकै लगाउने उत्तम उचाइभन्दा होचो क्षेत्रमा बीउ लगाउँदा मकै ढल्ने, राम्रो घोगा नहाल्ने समस्याले उत्पादनमा कमी आएको कृषकको गुनासो छ।

यहाँका कृषकले गत वर्षसम्म मनकामना जातको मकै लगाउने गर्थे भने उत्पादन पनि राम्रो गर्दै आएका थिए। 'यस वर्ष मकैको बीउले नै ठग्यो, कृषि ज्ञान केन्द्रले गणेश जातको मकैको बीउ दियो, यो बीउ १७ सयभन्दा माथिको उचाइमा लगाउनु पर्दोरहेछ, यहाँ जम्मा १६ सयको हाराहारी छ, त्यसले गर्दा मकैको बोट फल दिने बेला सबै ढल्यो, बाँकी रहेकोले पनि राम्रो घोगा हालेन,' स्थानीय कृषक प्रेम बहादुर पुनले भने, 'यसपालि उत्पादनमा निकै कमी आयो, अर्को वर्षदेखि यो बीउ लगाउनै नहुने भो।'

मकै ब्लकका अध्यक्षसमेत रहेका पुनले गाउँका अधिकांश कृषकले कृषि ज्ञान केन्द्रले वितरण गरेको बीउ लगाएपछि धेरै उत्पादन गर्न सकिने अपेक्षा गरे पनि उत्पादन निकै कम भएपछि निराश हुनु परेको बताए। ज्ञान केन्द्रका प्राविधिकहरुले अर्को वर्षदेखि यो बीउलाई उच्च ठाउँमा पठाउने र यहाँ मनकामना जात नै लगाउन सुझाएको उनको भनाई छ।

'मकैको उत्पादन निकै कम भएपछि कृषि ज्ञान केन्द्र बागलुङदेखि सरहरु आउनु भएको थियो, हामीले उहाँहरु समक्ष समस्या सुनायौँ, उहाँहरुले अब यो भन्दा माथिको बारीहरूमा गणेश र यहाँ मनकामना जातकै मकै लगाउन सुझाव दिनुभएको छ,' पुनले भने, 'यस वर्ष धेरै उत्पादन हुन्छ भनेर किसानहरू खुशी थिए तर अन्तिममा उत्पादनमा निकै कमी आएपछि निराश भएका छन्।'

स्थानीय कृषक छमप्रकाश पुनले भए भरको सबै बारीमा नयाँ जातको मकै लगाउँदा धेरै नोक्सानी व्यहोर्नु परेको बताए। उनले ज्ञान केन्द्रले सुरुमै गाउँमा आएर प्राविधिक रुपमा माटो जाँच गरेर बीउ वितरण गरेको भए आफूहरुले धेरै नोक्सानी व्यहोर्नु नपर्ने बताए।

'बीउ वितरण गर्ने बेलामा प्राविधिकहरु आएर यहाँको वस्तुस्थिति, माटो र हावापानी परीक्षण गरेको भए हामीहरुले यति धेरै नोक्सानी भोग्नुपर्ने थिएन, अघिल्लो वर्षहरुमा मनकामना मकै लगाउँथ्यौँ, राम्रो उत्पादन भएको थियो,' उनले भने, 'अब अर्को वर्षदेखि त यो बीउ लगाउँदै नलगाउने, पहिलेको बीउले राम्रो उत्पादन दिएको थियो, त्यसैलाई निरन्तर गर्नुपर्छ।'

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले सम्मर गाउँ १६ सयभन्दा माथिको उचाइमा रहेको भन्दै बीउको माग गरेको र सोही अनुसार केन्द्रले बीउ उपलब्ध गराएको बताए। उनले उत्पादनमा केही कमी आए पनि नयाँ बीउ भएको हुँदा प्राविधिक रुपमा उत्पादनमा खासै कमी नआएका बताउँछन्। उनले यसका लागि धेरै मेहनत गर्नु पर्ने भए पनि कृषकले कम श्रम गर्दा पनि उत्पादनमा कमी आएको बताए।

'नयाँ बीउ हो, केही कमी आउन सक्छ, गणेश जातको मकै गणेश हिमालको नामबाट राखिएको हो, यो १७ सय मिटरभन्दा माथिको ‘हाइट’मा राम्रो उत्पादन हुने हो, कृषकहरुले माग गर्दा निकै उचाइमा छ, हाम्रो ठाउँ भनेर माग गर्नु भयो, हामीले पनि सोही अनुसार उहाँहरुलाई मकैको बीउ उपलब्ध गरायौँ,' प्रमुख भट्टराईले भने 'यसका लागि कृषकले बढी मेहनत गर्नुपर्छ, उहाँहरुले कम मेहनत गर्नुभयो, कम्पोस्ट मलको आवश्यक हुन्छ, मल पनि कम प्रयोग भएको हुँदा उत्पादन कम भएको हो।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.