|

धनकुटा : धनकुटाको हिलेमा ४ वर्ष अगाडि निर्माण गरिएको कृषि वेयरहाउस सञ्चालनमा नआउँदा कृषक र उपभोक्ता दुवै निराश छन्। झण्डै ४ वर्षअघि निर्माण भएको वेयरहाउस अझैसम्म सञ्चालन नहुँदा निर्माणको लगानी बालुवामा पानी जस्तै भएको छ।

डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यक्रम र उद्योग वाणिज्य संघ धनकुटा तथा नेपाल अलैँची व्यवसायी महासंघ धनकुटाको संयुक्त लगानीमा धनकुटाको हिलेस्थित टिमुरेमा उच्च क्षमताको वेयरहाउस निर्माण गरिएको थियो।

उन्नति नेपाल कार्यक्रमको ५० प्रतिशत र उद्योग वाणिज्य संघ धनकुटा तथा नेपाल अलैँची व्यवसायी महासंघ धनकुटा ५० प्रतिशत गरी ३ करोड १४ लाख रुपैयाँमा वेयरहाउस निर्माण भएको हो।

वेयरहाउस निर्माणसँगै कोशी पहाडमा उत्पादित अलैँचीलगायत तरकारी, फलफूल र जडिबुटी भण्डार गर्न सहज हुने भन्दै स्थानीय उत्साहित भएका थिए। तर, प्रयोगमा नआउँदा कृषिजन्य वस्तु भण्डारण गरी बेमौसममा बिक्री गर्न नपाएको स्थानीय कृषक मानबहादुर तामाङले गुनासो गरे।

तामाङले सञ्चालनमा आउँछ भनेर भनेको धेरैपटक सुनेको तर काम नभएको गुनासो गरे। उनले निर्माण हुँदा जति उत्साह थियो त्यो भन्दा धेरै निराशा सञ्चालनमा नआउँदा भएको बताए।

वेयरहाउस सञ्चालनका लागि शेयरमार्फत बाटो खुल्ला गरिने बताइए पनि अहिलेसम्म कतै पनि शेयर खुलाइएको छैन। धनकुटासहित कोशी पहाडका जिल्ला तेह्रथुम, संखुवासभा र भोजपुरमा उत्पादित वस्तु भण्डारण स्थलको अभाव भएकाले निर्माण गरिएको वेयरहाउस सञ्चालन नहुँदा अवस्था ज्यूँ का त्यूँ रहेको छ।

वेयरहाउसमा जेनेरेटर, ह्युमिनिटी फायर, डी ह्युमिनिटी फायर लगायतका प्रविधि जडान गरिए पनि प्रयोग नहुँदा काम नलाग्ने अवस्थामा पुग्न लागेका छन्।

यसको परीक्षण पनि अहिलेसम्म गरिएको छैन। कोशी पहाडी जिल्लामा उत्पादित अलैँची लगायत फलफूल तरकारीको गुणस्तर नबिग्रने गरी लामो समयसम्म राख्नका लागि भनेर यो वेयरहाउस निर्माण गरिएको हो।​

वेयरहाउस सञ्चालन नहुँदा यहाँ उत्पादित अलैँची तरकारी र फलफूल बोटबाट टिप्ने बित्तिकै बिक्री गर्नुपर्ने किसानको बाध्यता छ। जसले गर्दा किसानले बजारमूल्य पर्खन नपाएको गुनासो गर्छन। अझ कहिलेकाहीँ निषेधाज्ञा, हड्ताल भएको बेला, मूल्य कम भएको बेला नोक्सान हुने गरेकोले सुरक्षित रुपमा राख्न बनेको वेयरहाउस सञ्चालन हुनुपर्ने किसानको माग छ।

आर्थिक वर्ष २०७५/७६ मा निर्माण गरिएको वेयरहाउसमा ५ वटा उच्च क्षमताका कोठा रहेका छन्। ती प्रत्येक कोठामा प्रतिकोठा ४० हजार केजीको क्षमता रहेको छ। वेयरहाउसमा कृषि सामग्री चिस्याएर वा तापक्रम दिएर राख्न मिल्ने बनाइएको उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष उमेश घिमिरेले जानकारी दिए।

वेयरहाउसमा १ देखि ५० डिग्री तापक्रम दिएर राख्न सकिने जनाइएको छ। ३ करोड १४ लाखको लागतमा निर्माण गरिएको भनिएको वेयरहाउसमा उन्नति नेपालको १ करोड ७२ लाख, प्रदेश सरकारको ३० लाख, उद्योग वाणिज्य संघको १२ लाख र सहकारीको ६ लाख रुपैयाँ गरी २ करोड २० लाख लगानी भएको घिमिरेले जानकारी दिए।

वेयरहाउस सञ्चालनका लागि आफूहरुले प्रयास र प्रयत्न गरिरहेको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले बताए। उनले केही निर्माण काम बाँकी रहेको र अनियमितताको मुद्दा परेकाले सञ्चालनमा समस्या भएको बताए। २५ देखि ३० लाख लगानी भएमा सञ्चालन हुने राईले बताए। विशेषगरी अलैँचीलाई लक्षित गरेर कोशी पहाडी जिल्लाको लागि वेयरहाउस निर्माण गरिएको राईले बताए।

विशेषगरी सिजनमा मूल्य नपाउने, लामो समयसम्म सुरक्षित राख्न नसकिने समस्या रहेको यस क्षेत्रमा वेयरहाउस सञ्चालन नहुँदा समस्या उस्तै रहेको छ। यसकारण यस्ता प्रकारका वेयरहाउस निर्माण मात्रै होइन सञ्चालनमा ल्याउन सबैको ध्यान जान आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.