|

पर्वत : करारमा राखिएका कर्मचारीहरूको विषयमा विवाद उत्पन्न भएपछि जिल्लाको जलजला गाउँपालिकाका आर्थिक कार्यहरू स्थगित अवस्थामा रहेका छन्।

विगत पाँच वर्षदेखि वा त्यसयता भर्ना गरिएका करारका कर्मचारी सबैलाई निकाल्नुपर्ने भन्दै नेकपा एमालेसँग सम्बद्ध कार्यपालिका सदस्यहरूले असार १० मा सम्पन्न भएको बाह्रौँ अधिवेशनयता समस्या निकालिरहेको गाउँपालिकाले विज्ञप्ति निकालेर बताएको छ।

कानुनले परिकल्पना नगरेको प्रतिपक्षको भूमिकामा उत्रिँदै लामो समयसम्म बैठकको छलफलमा सहभागी भएता पनि उपस्थितिमा समेत दस्तखत नगरी बैठकबाट बाहिरिने लगायतका समस्याहरू पार्दै आएकोमा पछिल्लो समय करार कर्मचारीहरूलाई निकाल्नुपर्ने माग राख्दै समस्यामा पारेको विज्ञप्तिमा भनिएको छ।

गत साउन २९ मा बोलाइएको कार्यपालिका बैठकमा पेस भएका एजेन्डाहरूमा चालु आर्थिक वर्षको दररेट स्वीकृत गरी विकास निर्माण (ठेक्का) प्रक्रिया सुरु गर्ने, विपद्जन्य घटनाको व्यवस्थापन, सेवा करारका कर्मचारीहरूको सम्बन्धमा जाँचबुझ समिति गठन गरी स्वीकृत दरबन्दी र कार्यसम्पादन स्तरको मूल्याङ्कनको आधारमा नयाँ अवधिका लागि करार सम्झौता सम्बन्धी सङ्घीय मापदण्ड, २०७८ को माइन्यूट गरेको गाउँपालिकाका प्रवक्ता हरि विकास जि.सी.ले बताएका छन्।

विषयगत समितिले आ–आफ्नो क्षेत्रका कार्यक्रम कार्यान्वयनका लागि गरेका सर्वसम्मत निर्णय र सो विषयहरू कार्यपालिकामा प्रस्तुत भई जानकारी, छलफल र पृष्ठपोषण दिने विषय, कृषि तथा पशु सेवा शाखासँग सम्बन्धित कार्यविधि कार्यपालिकामा जानकारी र छलफल पश्चात् पारित गरी कार्यान्वयनको चरणमा लैजाने विषय, वर्षात्‌को कारण बाटोघाटोमा हुने अवरोध हटाउने विषयमा पनि सहमति भएको उल्लेख छ।

एमालेको अवरोधका कारण दुई महिनादेखि आर्थिक कारोबार ठप्प हुँदा जनताको कामकाज रोकिएकाले संविधान र कानुन अनुसार प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको खर्च गर्ने अख्तियारी अनुरूप हालसम्मको पर्खाइबाट जनताका काम गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए।

गत भदौ ३१ गते बसेको बैठकमा कानुनी रूपमा उपस्थिति जनाउने सदस्यको सर्वसम्मत निर्णयबाट कार्यालयको आर्थिक गतिविधि र विकास निर्माण योजना कार्यान्वयनको प्रक्रिया थालनी गरिएको पनि उनको भनाई छ।

‘सहमति र विवादरहित कार्यपालिका बनाउने नाउँमा जनताप्रति गैर जिम्मेवार प्रवृत्ति हाबी भएका कारण गाउँपालिकाले आर्थिक कार्य सञ्चालन गर्न नसक्दा आम सर्वसाधारण र सरोकारवालामा पर्न गएको असुविधा प्रति हामीहरू क्षमा प्रार्थी छौँ,’ उनले भने, ‘अब उप्रान्त राजनैतिक दलबीचको सहमति कायम गर्ने नाउँमा जनताको सेवा प्रवाह र आर्थिक गतिविधि नरोकिने प्रतिबद्धता समेत जनता समक्ष व्यक्त गर्दछौँ। असल कार्यलाई साथ, समर्थन र जनहितविरोधी खराब काम र आचरणका विरुद्ध नागरिक खबरदारी गरिदिनुहुन पनि अनुरोध गर्दछौँ।’

गाउँपालिकाका बहुमत जनप्रतिनिधिहरूले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षसहितका जनप्रतिनिधिहरूले एकलौटी ढङ्गले अघि बढ्न खोजेको र आफ्ना एजेन्डाहरूलाई किनारा लगाएको भन्दै बैठकमा आपत्ति जनाउँदै आएका छन्। गाउँ सभाबाट पारित बजेट पनि मनपरी ढङ्गले शीर्षकहरूमा विनियोजन गरेको उनीहरूको आरोप छ।

पालिकालाई अनावश्यक व्ययभार हुने भएकाले कर्मचारीहरू हटाउनुपर्ने र राजनैतिक नियुक्तिको भरमा राखिएका कर्मचारीलाई निरन्तरता दिन नहुने विरोधमा रहेका सदस्यहरूको माग छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.