|

काठमाडौं : नेपाली कांग्रेस सर्लाहीको क्षेत्रले आगामी मंसिर ४ गते  हुने निर्वाचनका लागि सिफारिस गरेको उम्मेदवारीलाई जिल्ला समितिले उल्टाइदिएको भन्दै नेता तथा कार्यकर्ताहरूले असन्तुष्टि पोखेका छन्।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्ला कार्य समितिमा रहेका नेता तथा कार्यकर्ताहरूले पार्टीको विधानविपरीत कार्य गरेको भन्दै असन्तुष्टि पोखेका हुन्।

उम्मेदवार सिफारिसमै विधानविपरीत गतिविधि भएको भन्दै निर्वाचनमा पार्टीले व्यहोर्ने क्षतिको जिम्मा नेतृत्व स्वयमले लिनुपर्ने उनीहरुको चेतावनी छ। पार्टीका महाधिवेशन प्रतिनिधि प्रमोद बरालले विधि र विधानलाई उल्लंघन गरेर जिल्ला कार्य समितिले केन्द्रमा उम्मेदवारको नाम पठाएको भन्दै असन्तुष्टि पोखे।

जिल्ला समितिले क्षेत्रीय समिति र प्रदेश समितिले प्रस्ताव गरेको नाम हटाएर आफन्त, जुनियरहरूलाई विपीको सिद्धान्त मिचेर सिफारिस गरेको उनले आरोप लगाए।

उनले भने, 'प्रदेशको लागि प्रदेशले प्रस्ताव गरेको व्यक्ति ३ जना र संघको क्षेत्रीय कार्यसमितिले प्रस्ताव गरेको तीन जनालाई जिल्ला कार्यसमितिमा पठाउने, जिल्ला कार्यसमितिले प्रस्ताव जस्ताको त्यस्तै राखेर सुझावसहित प्रदेशमा पठाउने र प्रदेशले पनि जिल्लाको प्रस्तावलाई जस्ताको त्यस्तै राखेर सुझावसहित केन्द्रमा पठाउने र केन्द्रको संसदीय बोर्डले अन्तिम निर्णय गर्ने कांग्रेसको विधानमा उल्लेख छ।'

प्रदेश कमिटीले पनि अनुमोदन गरेर पठाएको नाम नभई अन्यको नाम राखेकोमा आफूहरुको घोर आपत्ति रहेको उनको भनाई थियो।

यसैगरी, अर्का महाधिवेशन प्रतिनिधि तथा युवा नेता शिव गुर्माछानेले धेरै पार्टीमा खेमाको बारेमा विषय उठान हुँदै आएको भन्दै उनले आफूहरु विशुद्ध एकता र आगामी चुनावमा पार्टीलाई जिताउन र सफल गराउनको लागि विधि र विधान अनुरुप गतिविधि हुनुपर्नेमा जोड दिएको सुनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.