महामारी घोषणा गर्न इडिसिडीको प्रस्ताव

|
फाइल फोटो

काठमाडौं : नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिँदा सरकारसँग भने अहिले डेंगु परीक्षण गर्ने किट सकिन लागेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका अनुसार हाल सरकारसँग जम्मा ५ हजार थान मात्रै परीक्षण किट रहेको छ।​

आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार सुरूमा विश्व स्वास्थ्य संगठनले २० हजार थान र पछि पुन: पाँच हजार थान किट दिएको थियो। तर अब ५ हजार थान मात्रै बाँकी रहेको उनले बताए। ‘डब्लुएचओले दुई पटक गरेर २५ हजार थान किट दिएको थियो, तर हामी संग हाल जम्मा पाँच हजार थान मात्रै किट बाँकी रहेको छ’, चोरसियाले थाहाखबरसँग भने, ‘डेंगु बढेसँगै परीक्षण किटको माग भइरहेको छ तर पुगिरहेको छैन।' 

 नेपालमा हाल डेंगु संक्रमितको संख्या १९ हजार नाघिसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेंगुबाट मृत्यु हुनेको संख्या पनि २४ पुगिसकेको छ। यसले गर्दा नेपालमा डेंगुले महामारीकै रुप लिएको समेत विज्ञहरुले बताएका छन्।

 इडिसिडीका एक कर्मचारीका अनुसार पनि हाल डेंगु परीक्षण गर्ने किट एकदमै कम मात्रामा भएकै कारण जिल्लाहरूबाट परीक्षणको लागि माग हुँदा समेत दिन नसकेको अवस्था छ।

इडिसिडीका एक कर्मचारीले भने ‘डेंगु बढिरहेको छ तर परीक्षण गर्ने किट एकदमै कम छ। यतिसम्मकी जिल्लाहरूबाट किट लिन आउँदा पनि दिन नसक्ने अवस्थामा छौं।‘

२० हजार परिक्षण किट किन्ने

किट एकदमै कम भएपछि द्रुत मार्गबाट थप २० हजार थान किट खरिद गर्ने प्रकृया अगाडि बढाइएको समेत डा चौरसियाले बताए। ‘अहिलेको माग अनुसार  डेंगु परीक्षण किट एकदमै कम भएका कारण २० हजार थान किट खरिदको लागि तयारी भइरहेको छ’ डा चौरसियाले भने।

 डेंगु महामारी घोषणा गर्ने सरकारको तयारी

डेंगु व्यापक फैलिएको, नियन्त्रणबाहिर जान लागेको र हाल परीक्षणको लागि आवश्यक किट पनि एकदमै कम भएपछि इडिसिडीले डेंगुलाई महामारी घोषणा गर्न मन्त्रालयलाई सिफारिस समेत गरेको छ।

इडिसिडीका अर्का एक कर्मचारीले भने ‘डेंगु सोचेभन्दा व्यापक तरिकाले फैलँदै गयो अर्कोतर्फ मृत्युको संख्या पनि बढिरहेको छ भने परीक्षणको लागि आवश्यक किट पनि कम छ अब हाम्रो सरकारी प्रकृया अनुसार आवश्यक किट तथा अन्य सामान किन्ने प्रकृया लामो छ तर महामारीको रुप घोषणा गरेपछि आवश्यक सामाग्रीहरु द्रुत गतिमा खरिद गर्न सकिन्छ’ ती कर्मचारी भने।

हाल किट कम भएपछि इडिसिडीले विश्व स्वास्थ्य संगठन संग थप किट सहयोग मागेको समेत ती कर्मचारीले बताए।

अझै अझैं दुई महिना डेंगु उच्च गतिमा बढ्ने यसबाट थप व्यक्तिहरु मुत्युको संख्या बढ्ने आँकलन सहित सरकारले नियन्त्रण तथा रोकथामको लागि सबै क्षेत्रलाइ परिचालन गर्नको लागि महामारी घोषणा गर्न इडिसिडीले सिफारिस गरेको समेत ती कर्मचारीले बताए।

ईडीसीडी महामारी हेर्ने सरकारको आधिकारिक निकाय हो ।

पछिल्लो समय काठमाडौंमा डेंगु संक्रमण तिब्रगतिमा बढिरहेका छन। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगुका बिरामी रहेका छन। टेकु अस्पतालका इमर्जेन्सी प्रमुख लीलानाथ भण्डारीका अनुसार १० जना संक्रमित आइसियुमा छन् भने अस्पतालमा रहेको १०० वेड सबै डेंगुका बिरामीले भरिएर स्थान नपुगेर प्यासेजमा समेत बिरामी राख्नु पर्ने अवस्था रहेको छ।

अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हरेक घरमा डेंगीका बिरामी रहेको भन्दै अझै जोखिम एक डेढ महिना जोखिम रहेको बताए। उनका अनुसार यस पटक बिरामीहरु धेरै बिहोस हुने तथा अन्य कडा लक्षण लिएर आउने समेत बताए।

‘हाल डेंगुको संक्रमणले एकदमै नराम्रो रुप लिइरहेको छ, अस्पतालमा आउने बिरामीको अवस्था हेर्दा मृत्युको संख्या अझै बढ्न सक्ने छ स्वास्थ्यकर्मीहरूले डेंगु नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने छ’ डा पुनले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.