|

एकदिन स्कुलमा एउटा साथीको वरिपरी अरू साथीले घेरा हालेर हाँसिरहेका थिए। बिचको साथीले अनौठो आवाजमा विभिन्न डायलग बोलिरहेको राजुले देखे। उनलाई हाँसो लागेन अरु त्यसमा रमाएको देखेर अचम्म चाहिँ लाग्यो। 

राजुले त्यो साथीलाई यति धेरै कुरा कसरी सम्झ्यौ? कहाँबाट जान्यौ? भनेर सोधे। त्यसपछि त्यो साथीले यो सोलेको गब्बरले बोल्ने डाइलग हो भन्यो। त्यतिबेलासम्म उनलाई फिल्मको बारेमा केही थाहा थिएन। घरमा फिल्म त परको कुरा रोमान्टिक गीत सुन्न समेत डराउनु पर्थ्यो। 

राजुले थोरै थोरै पैसा जम्मा गरेर एकदिन लुकि छिपी सोले फिल्म हेर्न गए। फिल्ममा अमिताभलाई देखेर उनी निकै प्रभावित भए, त्यसपछि उनको नक्कल गर्न थाले। अमिताभको नक्कल गरेको देखेर उनलाई कानपुरको एक स्थानिय कार्यक्रममा बोलाइयो। जहाँ उनले हँसाए बापत पहिलो पटक ५० रुपैयाँ पाए। त्यहीँबाट अमिताभ राजुका लागि भगवान जस्ता भए, त्यहीँबाट उनले भविष्यमा अरुलाई हसाएरै जीवन चलाउँछु भन्ने निर्णय गरे। पछि सबैले चिन्न थालेपछि पनि उनी भन्ने गर्थे, अमिताभ नभएको भए राजु श्रीवास्तव कहिल्यै हुन्थेन।

सन १९६३ डिसेम्बर २५ मा भारतको कानपुर सहरमा मध्यम वर्गीय परिवारमा जन्मेका राजु श्रीवास्तव सानैदेखि अरुको नक्कल गर्न रुचाउँथे। कति पटक आफूलाई पढाउने शिक्षकको नक्कल गरेर कुटाइ पनि खाए। कहिले साथीहरूको त कहिले आफ्नै बुवाको समेत नक्कल गर्थे। उनका बाबु अदालतमा सामान्य सरकारी कर्मचारी थिए भने आमा गृहिणी थिइन्। सामान्य भएपनि उनीहरूको परिवारमा सरकारी जागिर खाने परम्परा थियो। राजुलाई पनि सानैदेखि त्यसै अनुसार सम्झाइन्थ्यो तर उनको मन पढाइमा कम रंग रमाइलोमा बढी लाग्थ्यो। 

सानोमा नक्कल गरेका कारण उनलाई गाली गर्नेहरू बिस्तारै त्यसमा रमाउन थाले। घरमा पाहुना आउँदा होस्, छिमेकमा जन्मदिन या अन्य कुनै घरेलु कार्यक्रम होस् राजुलाई कसैको नक्कल गरेर हँसाउन लगाइन्थ्यो। जहाँ उनी चर्चित नेतादेखि कलाकार र आफ्नै छिमेकीहरूको पनि नक्कल गर्थे, त्यसमा मान्छेहरू खुब हाँस्थे। राजु पनि अरुको हाँसोका कारण बन्दा रमाउँथे। अलि ठूलो भएपछि स्थानिय हुँदै जिल्ला स्तरिय क्रिकेट लिगमा कमेन्ट्री गर्न समेत बोलाइन लाग्यो। उनको कमेन्ट्री गर्ने शैली त्यो वेला जिल्ला भरी नै प्रसिद्ध थियो। 

उनको कलामा मान्छेहरू रमाए पनि जिन्दगी भर यही गर्छु, यसलाई नै पेशा बनाउँछु भन्दा उनको साथ दिने भने कोही थिएन। घरबाट सानैबाट सरकारी जागिरकै लागि तयारी गर भनिरहँदा उनी भने त्यति बेलाका चर्चित हास्य कलाकारहरूलाई हेर्दै केही वर्षमा आफू त्यो स्थानमा भएको कल्पना गर्थे। 

उनले एकपटक घरबाट भागेर मुम्बई जाने कोशिश पनि गरेका थिए। तर, उ भागेको कुरा छिमेकीले घरमा पुर्‍याइदिएपछि उनकी आमाले ट्रेनबाटै कान समातेर घरै फर्काएकी थिइन्। त्यसपछि दोस्रो प्रयासमा सन १९८२ मा १९ वर्षका राजु मुम्बई पुगे। 

उनी मुम्बई पुग्दा कमेडियनको लागि त्यति धेरै ठाउँ बनिसकेका थिएनन्। मुम्बईमा खर्च निकाल्नका लागि उनले अटो रिक्सा चलाउन सुरु गरे। त्यसै बिच एउटा टेलिभिजन कार्यक्रम टि टाइम कमेडीको अडिसन खुलेको थियो। जसमा उनी छानिए पनि। उक्त कार्यक्रम राजुको सपनासम्म पुग्नको लागि एउटा खुड्किलो त बनेको थियो तर त्यसले जिन्दगीमा ठूलै परिवर्तन भने ल्याएन। उनी कामसँग कमेडी पनि गरिराखे। 

एकपटक मुम्बईको एक साँस्कृतिक कार्यक्रममा त्यतिबेलाकी चर्चित गायिका अनुराधा पौड्याल आफ्नो सांगीतिक प्रस्तुति दिन आइन्। त्यही राजुले पनि स्ट्याण्ड अप कमेडी गर्ने मौका पाए। राजुको कलाबाट प्रभावित भएर म्युजिक कम्पनी टी-सिरिजका मालिक गुल्सन कुमारले राजुको हास्य सामग्री क्यासेटमा रेकर्ड गरेर बेच्ने प्रस्ताव ल्याए। त्यो उनको लागि पनि लाभदायी साबित भयो। अनुहार नचिने पनि राजुको आवाज भारतका अधिकांश ठाउँमा सुनिन थाल्यो। 

त्यसकै प्रभावले राजु पहिलो पटक १९८८ मा तेजाब फिल्ममा अभिनय गर्ने मौका पाए। त्यसपछि मैने प्यार किया, बाजिगर, बम्बे टु गोवा लगायतका दुई दर्जन बढी फिल्ममा हास्य कलाकारको रुपमा काम गरेका राजुको अन्तिम फिल्म सन २०१७ को फिरंगी हो। यी बाहेक उनले धेरै टेलिभिजन कार्यक्रम र तीन हजारभन्दा बढी स्टेज कार्यक्रम गरेका छन्। 

कामको शिलशिलामा पछिल्ला केही वर्षदेखि परिवारसहित मुम्बईमा नै बस्दै आएका राजु समय समयमा कानपुर आफू जन्मेको ठाउँमा पनि जाने गर्थे। त्यहाँका मान्छेको हालखबर बुझ्ने गर्थे। लामो समयदेखि छातीको समस्यासँग जुध्दै आएका उनी एक महिनाअघि हृदयघातको शिकार भएका थिए। त्यसपछि उपचारको क्रममा रहेका उनको बुधबार बिहान देल्हीको एम्स अस्पतालमा निधन भएको छ। 

भारतमा स्ट्याण्ड अप कमेडीलाई अहिलेको अवस्थामा ल्याउन महत्त्वपूर्ण भूमिका खेलेका राजुको निधन भारतको कला क्षेत्रका लागि अपूरणीय क्षति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.