|

बागलुङ : बागलुङको बडिगाड गाउँपालिकाले नागरिकको स्वास्थ्यप्रति चासो दिन थालेको छ। गाउँपालिकामा नयाँ जनप्रतिनिधि आएदेखि नै स्वास्थ्य क्षेत्रमा नयाँ कामको सुरुवात गरिएको हो।

गाउँपालिकाले वडा–वडामा पुगेर स्वास्थ्य शिविर संचालन गर्नेदेखि गरिब, विपन्न परिवारको उपचारका लागि सहयोगसमेत गर्दै आएको छ।

नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना बनाएको पालिकाले यस वर्षमात्रै दुई हजार पाँच सय जनाको निशुल्क बीमा गर्दैछ। आगामी पाँच वर्षसम्म करिब २० हजार नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने लक्ष्य राखेको गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन्।

अध्यक्ष अधिकारीले स्वास्थ्य बीमाका लागि गाउँपालिकाले कार्यविधि तयार गरिसकेको र केही समयमै काम सुरु गर्ने बताइन्।

'हामी निर्वाचित भएर आएपछि स्वास्थ्य क्षेत्रमा केही सुधारका प्रयास भएका छन्, गाउँ–गाउँमा स्वास्थ्य शिविर संचालन गरेका छौँ, यसबाट नागरिकले भरपूर सेवा लिन सक्छन्, यो एक महिनामा एक पटक मात्रै होइन, यो त पालिकाका १० वटै वडामा निरन्तर चल्छ', अध्यक्ष अधिकारीले भनिन्, 'स्वास्थ्य संस्था पुगेर उपचार गराउन नसक्नेको थोरै भए पनि पैसा बचेको छ, रोग लुकाएर बसेकाहरुको उपचार भएको छ, उहाँहरुले थोरै भए पनि राहत महशुस गर्नु भएको हामीले पाएका छौँ।'

अध्यक्ष अधिकारीले अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ग वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था नागरिकलाई प्राथमिकतामा राखेर निःशुल्क स्वास्थ्य बीमा गरिने बताइन्। उनले महिला स्वास्थ्य स्वयंसेविकालाई ५० प्रतिशत पालिका र ५० प्रतिशत केन्द्र सरकारले बीमा गरिदिने बताउँछिन्।

'निःशुल्क स्वास्थ्य बीमा सबै नागरिकका लागि होइन, एउटा मापदण्ड बनाएका छौँ, सोही मापदण्डभित्र पर्ने नागरिकको मात्रै निःशुल्क स्वास्थ्य बीमा हुन्छ, हामीले बनाएको मापदण्ड भित्र अति विपन्न, गरिब, एकल महिला, एकल पुरुष, दीर्घरोगी, ग वर्गका अपाङ्गता भएका व्यक्ति र न्यून आर्थिक अवस्था भएका नागरिक पर्छन्', उनले भनिन्, 'उपचारमै मान्छेले हजारौँ खर्च गरेका हुन्छन्, गरिब विपन्‍नले उपचार गर्न नसक्ने भएको हुँदा कम्तीमा पालिकाले बीमा गरिदियो भने उनीहरुलाई सहुलियत हुने हुँदा हामीले यो कार्यक्रम ल्याएका हौँ, कार्यविधि तयार छ, अब केही समयमै बीमाको काम सुरु हुन्छ।'

गाउँपालिकाले बिरामीको अवस्था र रोगको प्रकृति हेरेर १० देखि २० हजारसम्म भत्ता दिने गरेको अध्यक्ष अधिकारीले जानकारी दिइन्। उनले नागरिकको स्वास्थ्य ठूलो भएको भन्दै नागरिक स्वस्थ भए मात्रै विकास हुन सक्ने बताइन्। उनले अहिले पालिकाभित्र रहेका स्वास्थ्य संस्थाहरु पनि सुधार हुँदै गएको जानकारी गराइन्।
१० वडा रहेको बडिगाडमा स्वास्थ्य चौकी ७ वटा, आधारभूत स्वास्थ्य सेवा केन्द्र ३ वटा र सामुदायिक स्वास्थ्य इकाई ६ वटा रहेको स्वास्थ्य शाखाले जनाएको छ।

गाउँपालिकाले ग्वालीचौरमा फार्मेसीसमेत संचालन गरेको अध्यक्ष अधिकारी बताउँछिन्। नागरिकलाई सहज र सुपथ मूल्यमा औषधी उपलब्ध गराउनका निम्ति फार्मेसी संचालन भएको उनको भनाई छ। पालिकाका तीन स्थानमा ल्याब सेवा, भिडियो एक्सरे, कुपोषण भएका बालबालिकाको उपचारका लागि उपचार केन्द्रसमेत संचालनमा रहेको जानकारी दिइन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.