उपचारका लागि ५ सदस्यीय समितिसमेत गठन

|
फाइल तस्वीर

काठमाडौं : डा गोविन्द केसी अनशनकै क्रममा स्वास्थ्य अवस्था बिग्रेपछि बुधबार उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

विभिन्न ७ बुँदे माग राखेर धनगढीमा अनशन शुरु गरेको १० औं दिनमा डा. केसी आफ्नै खर्चमा आज दिउँसो काठमाडौं आइपुगेका हुन्। उनलाई लिन धनगढी पुगेको नेपाली सेनाको हेलिकप्टर भने रित्तै फर्किएको थियो।

अस्पताल भर्ना भए पनि डा केसीले अनशन जारी राखेको शिक्षण अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले थाहाखबरलाई जानकारी दिए। अस्पतालको ५०१ नम्बर बेडमा भर्ना भएलगत्तै केसीको उपचार शुरु गरिएको छ।

उनको उपचारका लागि अस्पतालले डाक्टर प्रमेशसुन्दर श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय उपचार व्यवस्थापन समिति गठन गरेको समितिका सदस्यसमेत रहेका प्रवक्ता अधिकारीले बताए। अहिले डा केसी अलिअलि बोल्न सक्ने अवस्थामा नै रहेको उनले बताए।

अनशनका क्रममा केसीको स्वास्थ्य स्थिति जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउन सरकारले समेत पहल गरेको थियो भने सेती अञ्चल अस्पतालले सुविधासम्पन्न अस्पतालमा लैजान सल्लाह दिएको थियो।

अस्पतालले डा. केसीको शरीरमा पोषक तत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने जोखिम रहेको जनाएको छ। त्यहाँका चिकित्सकहरूले पेटमा कडा खालको अल्सर भएको आशंकासमेत गरेका छन्।

डा केसीको मागका विषयमा उनको पक्ष र सरकारी वार्ता टोलीबीच दुईपटक वार्ता भइसक्दा समेत सहमति जुट्न सकेको छैन। समग्र स्वास्थ्य शिक्षा क्षेत्रको सुधारको लागि सरकारले गरेको सम्झौता कार्यान्वयन नगरेपछि डा. केसी यसपटक २०औं पटक सत्याग्रहमा बसेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.