|

सर्लाही : सर्लाहीको उत्तरी चुरे भेगका नागरिक फोहोर पानी पिउन बाध्य भएका छन्। बर्खाको भेलले खाने पानीको मुहान क्षतविक्षत बनाएपछि यस क्षेत्रका नागरिक फोहोर पानी पिउन बाध्य भएका हुन्। अहिले चुरे क्षेत्रमा खानेपानीको संकट देखिन थालेको छ।

जिल्लाको उत्तरी चुरे भेगमा पर्ने भालुखोप केराबारी, वनमारा, बेलडाँडा, कालिन्जोर, परवानीपुर, नारायणखोला, बिलन्दी, कोठीखोला टोल लगायतका क्षेत्रमा शुद्ध खानेपानीको सङ्कट भएको स्थानीयले गुनासो गरेका छन्।

चुरे डाँडाका बस्ती र छेउछाउका बस्तीमा फागुन महिनाबाटै समस्या झेल्दै आएका यस क्षेत्रका नागरिकले बर्खाको भेलले खानेपानीको मुहान क्षतविक्षत बनाएपछि थप मारमा परेको हरिवन–१ केराबारीका स्थानीय पुष्कर श्रेष्ठले सुनाए।

चुरेका वासिन्दा र वस्तुभाउले एउटै खोला खोल्साको पानी खान्छन्। दूषित पानी पिउँदा स्थानीय वासिन्दा वर्षेनी जसो झाडापखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका स्थानीय श्रेष्ठले बताए।

एक गाग्री खानेपानी जोहो गर्न अहिले चुरेका स्थानीय वासिन्दा घण्टौँ धाएर छिमेकी गाउँ र खहरे खोलामा पुग्न बाध्य छन्। हरिवन नगरपालिका–१ का ९०/९५ घरधुरीले नजिकैको खहरे खोला, कुवामा जमेको फोहोर पानी ल्याएर पिउन बाध्य छन्।

खानेपानीको अभाव टार्न दुइ वर्षअघि बागमती, हरिवन र लालबन्दी नगरपालिकाले लिफ्ट प्रविधिबाट चुरेका केही बस्तीमा खानेपानी पुर्‍याएका भएपनि केही स्थान बाहेक अधिकांश बस्तीमा त्यो प्रविधि प्रभावकारी नभएको स्थानीयको गुनासो छ।

तत्कालीन हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाइँको पहलमा हरिवन–१ को चुरे क्षेत्रमा मा खानेपानीको अभाव हुन नदिन केराबारी क्षेत्रमा दुइ वर्षअघि निर्माण गरेको लिफ्ट प्रविधि अहिले अलपत्र बनेको छ।

लिफ्ट प्रविधिबाट शुरूका दिनमा घरघरमा पानी पुग्दा यस क्षेत्रका बासिन्दा खुशी भएपनि त्यो खुसी केही महिनामै निराशामा बदलिएको थियो। यता हरिवन–१ का वडाध्यक्ष टमबहादुर घिसिङका अनुसार नगरको अति विकट मानिने वडा नम्बर–१ मा कसरी पानी पुर्‍याउन सकिन्छ भनेर अध्ययन गरिसकेका छौँ, केराबारी र बनमारा गाउँको सवालमा यसअघि बिजुली बत्तीको अभावमा बस्तीमा पानी पुर्‍याउन समस्या भएको जानकारी दिए।

उनका अनुसार लिफ्ट प्रविधिका लागि ट्रान्समिटर जडान भैसकेको छ, दशैँ अघि नै त्यस क्षेत्रका प्रत्येक धारामा पानी पुर्‍याउने लक्ष्यका साथ काम भैरहेको उनले बताए। जिल्लाको चुरे क्षेत्रमा बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरुमा खानेपानीका स्रोतहरु चाँडो सुक्न थालेका प्राविधिकहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.