|

काभ्रे: कलाकार बुद्धि तामाङकाे विवाह हुने भएकाे छ। नेपाली फिल्म क्षेत्रमा ‘हैट’ उपनामले चिनिने तामाङकाे विवाह मकवानपुरकी अनु थिङ तामाङसँग शुक्रबार हुने निश्चित भएको हो। उनका नजिकका साथीहरुका अनुसार अभिनेता तामाङ र प्रेमिका थिङ केही समययता प्रेम सम्बन्धमा रहेका थिए।

विशेषगरी हाँस्य कलाकारकाे रुपमा चिनिने तामाङले रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेका हुन्। उनले अभिनय गरेका ‘कबड्डी, छक्का पञ्जा, टलकजङ भर्सेस टुल्के, घामपानी, नाइँ नभन्नु ल, वीर बिक्रम, जय भोले, वडा नम्बर ६’ लगायतका थुप्रै चलचित्र सुपरहिट छन्। 

काभ्रेको तेमाल गाउँपालिका–३ कुडवालमा जन्मिएका तामाङले चलचित्रबाहेक सयौँको संख्यामा म्युजिक भिडियो तथा नाटकमा समेत अभिनय गरिसकेका छन्। उनी झण्डै २ दशकदेखि कला क्षेत्रमा सक्रिय छन्।

तामाङ विधिअनुसार विवाह हुने
विवाहको कुरामा समय आएपछि हुन्छ नि भनेर पन्छिने गरेका अभिनेता तामाङको थिङसँग तामाङ विधि (संस्कार तथा परम्परा) अनुसार नै विवाह हुने छ। तामाङ संस्कार अनुसार राजी भएका केटीले सगुन पोङ छुनु पर्दछ।

त्यसपश्चात् पोङमा रहेको सगुन बुबा वा माइतीलाई बुझाउनु पर्ने हुन्छ। अभिनेता तामाङले प्रेमिका थिङको घरमा पुगेर केही दिनअघि तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए।

पोङको सगुन केटा केटीले ग्रहण गरेपछि दुलाहा र दुलही दुवै पक्षको अनुकूलतामा विवाहको साइत हेरेर केटीलाई केटाको घरमा लाने प्रचलन छ। सोही विधिअनुसार शुक्रबार अर्थात ७ गते बिहे हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.