‘मंसिर ४ गते जनताले हिसाबकिताब गर्छन्’

|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताएका छन्। 

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको गठबन्धन सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको भन्दै सरकारले संविधानको पालना गर्नुपर्ने बताएका हुन्। 

उनले संविधानले विधेयकहरू संसदमा पेश गर्नुअघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ भनेको उल्लेख गर्दै अहिलेको गठबन्धनले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आरोप लगाए। 

अहिलेको गठबन्धनले ‘मसल’को भाषा मात्रै बोल्ने गरेको भन्दै एमालेसँग आए तह लगाइदिने दाबी गरे। अहिले संविधान समग्रमा उल्लंघन भइरहेको उनको आरोप थियो। अहिलेको सरकार बहुमतको नभएको जिकिर गर्दै बहुमतको धक्कु नलगाउन उनले गठबन्धन सरकारलाई सचेत गराए। आगामी मंसिर ४ गते जनताले गठबन्धनको क्रियाकलापको मूल्यांकन गर्ने उनले बताए। 

यस्तो छ ओलीको भनाइ:

उहाँहरू दिमागले सोच्नुहुन्न‚ पूरै ‘मसल’। राष्ट्रपतिज्यूले पुनः विचारका लागि पठाएको विधेयक, तर पुनः विचार नगर्ने‚ उहाँहरुको त्यस्तो छ आजकाल। संसदमा आएर होइन, मानिसहरू बसेर अनधिकृत ठाउँमा राष्ट्रपतिको मजाक उडाएका छन्। गठबन्धनले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नुलाई ठानेको छ। १ वर्षअघि नै मैले संसदमा बोल्दा भनेको थिएँ- संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस्।  

संविधानले विधेयकहरू संसदमा पेश गर्नुभन्दा अघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ, स्वीकृति लिनुपर्छ। बताएको हुनुपर्छ। यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपटक पनि पालना गरेको छैन। त्यसैले मैले भनेको हुँ, गठबन्धनसँग खोपडीमा दिमाग छैन कि क्या हो मसलको भाषा मात्रै बोल्छ। मसलको भाषा बोल्दाबोल्दै एमालेसँग बोल्न आइपुग्यो भने त्यतिबेला मसल पनि ठीक लाग्नेछ। 

मसलको भाषा बोल्न छोडौं ‚ लोकतन्त्रमा मसलको भाषा बोलिँदैन। संविधान, कानून, कानूनी राजको नीति अपनाइन्छ, अवलम्बन गरिन्छ। अहंकार होइन, स्थिति र विधिअनुसार चलिन्छ। असहिष्णुता होइन, सरकारलाई म चेतावनी दिन चाहन्छु, सरकार सचेत रहनुपर्छ। सरकारमा अहंकार चढ्यो भने सबभन्दा बढी मानव अधिकारको उल्लंघनको श्रोत के हुन्छ भन्दा संगठित समूहमा अहंकार चढ्यो र संगठित सशस्त्र समूहमा अहंकार चढ्यो भने र त्यसमा पनि सत्तामा गएकामा अहंकार चढ्यो भने र उसले कर्तव्य बिर्सियो भने तानाशाही अधिनायकवाद त्यसैलाई भनिन्छ। 

यो अलोकतान्त्रिक हुन्छ, त्यसले लोकतन्त्र मान्दैन, मानव अधिकारको उल्लंघन हुन्छ। अहिले संविधानकै समग्रतामा उल्लंघन भइरहेको छ । कानूनको पाइलैपिच्छे उल्लंघन भइरहेको छ। लोकतान्त्रिक मूल्य, मान्यता, सामाजिक मर्यादा सबै बहुमत, जोडजाडको बहुमत, यो गठबन्धनसँग कहाँ छ बहुमत भनेको ? एउटा पार्टीको एकजना, अर्को पार्टीको ३/४ जना लिएको छ। 

अनि जोडेर बहुमत, अहिले पनि बहुमत पार्टीको सरकार हो र यसले बहुमतको धाक लगाउने ? यस्तो क्रियाकलाप नगर्न म सरकारलाई सचेत गराउन चाहन्छु। मान्दै मान्दैन भने मंसिर ४ गते यसको हिसाबकिताब जनताले गर्छ। मंसिर ४ गते यो देश गठबन्धनका एक-एक अपराधहरूको छिनोफानो र त्यसको फैसला गर्छ। जनताले गठबन्धनलाई पराजित गराएर छोड्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.