आवेदन फारम भर्दा मनलाग्दी रकम असुलेको गुनासो

|

काठमाडौं : त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसरमा बिहीबार मध्याह्न निकै भिड थियो। विभागमा राहदानीका लागि फारम भर्ने, राहदानी लिने, राजस्व तिर्ने लगायतका काम लिएर आउनेको भिड थियो। 

सोही भिडमा रुपन्देहीका रामकुमार यादव पनि थिए। उनी पासपोर्ट लिन त्यहाँ आएका थिए। उनी भदौ तेस्रो साता राहदानी बनाउन काठमाडौं आएका रहेछन्। पासपोर्ट कसरी बनाइन्छ भन्ने जानकारीसमेत नभएका यादव सोधपुछ गरे राहदानी विभाग पुगेका थिए।

जतिसक्दो छिटो विदेश उड्ने सोच बनाएका यादव अनलाइन फारम भर्नेको भिडमा पसे। छिटो पासपोर्ट बनाउन बढी पैसा लाग्ने जानकारी पाए। उनलाई बिचौलियाले भने, ‘अनलाइन फारम भरेको २ हजार हो तर तत्कालै पालो चाहिएको हो भने १० हजार लाग्छ।’

आफूभन्दा अगाडि  फारम भर्नेले पनि १० हजार तिरेको देखेका थिए। २ हजार तिर्दा एक महिनापछि पालो आउने भनेर आत्तिएका उनी १० हजार तिर्न तयार भए। उनले थाहाखबरसँग भने, ‘मलाई अनलाइन फारम भर्न आउँदैन। एक महिना कुर्नुभन्दा १० हजार तिरेँ। आज थाहा भयो‚ अनलाइन फारम सित्तैमा भर्न मिल्ने रहेछ।’ 

सरकारले जनतालाई दिएको निःशुल्क सेवालाई बिचौलियाले ठगी गर्ने धन्दा बनाएर निरन्तरता दिएका छन्। २२ भदौमा पासपोर्ट लिन आउनु भनेको थियो। तर त्यस दिन आउँदा आफूले पासपोर्ट नपाएको उनले गुनासो गरे‚ ‘आजलाई बोलाएको थियो। आज बल्ल मेरो हातमा पासपोर्ट पर्‍यो।’

त्यस्तै दोलखा चरिकोटका ३१ वर्षीय सीताराम सिवाकोटी आफ्नो राहदानी बिग्रिएकाले  विभाग आएका थिए। राहदानीमा औषधी पोखिएर केही नदेखिने भयो। फेरि बनाउनका लागि आएका हुन्। उनी विभाग आउँदै गर्दा परिसरमा केही व्यक्तिले घेरे। 

सिवाकोटीलाई ती मानिस विभागकै कर्मचारी हुन् जस्तो लाग्यो। उनले भने, ‘विभागका कर्मचारीले सहयोग गर्न लागे भन्ने लाग्यो। सबै समस्या सुनाएँ। यो बनाउन १७ हजार लाग्छ, त्यसमा ७ हजार थपिदिनु भयो भने तपाईंको काम हुन्छ भने।’ यसरी धेरै पैसा मागेकाले आफू सरासर भित्र आएको उनले सुनाए। 

नुवाकोटका ३३ वर्षीय नारायण श्रेष्ठ पासपोर्टका लागि फोटो खिच्न र फाराम रुजु गर्न त्रिपुरेश्वरस्थित राहदानी विभाग आए। त्यसको एक साताअघि उनले विभागनजिकै अनलाइन फाराम भराएका थिए। उनलाई पनि त्यसबापत धेरै रकम मागिएको थियो। उनले घटाउन धेरै प्रयास गरे पनि १२ सय नतिरी सुखै पाएनन्। 

अनलाइन फाराम भर्ने तरिका नजानेकााले काठमाडौं आउनुपरेको उनको भनाइ थियो। ‘सबै काम सकियो, अब ३ दिनमा पासपोर्ट आउँछ।’

बिहानै ९ बजे नै लाइनमा बसेकाे दिउँसो २ नबज्दै फोटो खिच्ने र फाराम रुजुको काम सकिएको उनले बताए। अनलाइन फारम स्वीकृत भएपछि मात्र फोटो खिच्ने रुजु गर्ने पालो आउँछ। रुजु गरेको ३ दिनमा पासपोर्ट आउने जानकारी उनले पाएका छन्। 

लामो समयदेखि राहदानी विभागमा बिचौलियाले धन्दा चलाएको चर्चा सुनिँदै आएको थियो। यति वेला पनि उनीहरूले ठग्ने‚ धुत्ने धन्दा चलाइ नै रहेका छन्। करिब २ घण्टा विभाग परिसरमा बस्दा करिब १० जनाले अनलाइन फारमका लागि धेरै पैसा तिर्नु गरेको गुनासो सुनाए।

यसरी बिचौलियाले निःशुल्क हुने कामका लागि  राहदानीको राजस्वभन्दा खुलेआम ठगी धन्दा चलाएका छन्। यी सबै कुरा जानकारी पाएको राहदानी विभाग भने आँखा चिम्लेर र मुख बन्द गरेर बसेको छ।

उजुरी आए कारबाही हुन्छ ः विभाग 

राहदानी विभागमा अनलाइन फारम लगायतका विषयमा बिचौलियाको बिगबिगी बढेको छ। सरकारले निःशुल्क रुपमा  भर्न सकिने फारमका लागि बिचौलियाले मनलाग्दी रकम असुल्दै आएका छन्।

विभागले अनलाइन फाराम निःशुल्क भर्न दिने व्यवस्था गरेको छ। अनलाइन फाराम भरिदिनेहरूले चर्को रकम असुलेको पाइए कारबाही गर्ने दाबी विभागले गर्दै आएको छ। 

हालसम्म राहदानी विभागमा जथाभावी रकम असुलेको उजुरी कसैले गरेको छैन। राहदानी विभागका प्रवक्ता डम्बरबल्लभ पौडेलले भने, ‘बाहिर के हुन्छ हामीलाई जानकारी हुँदैन। विभागमा अनलाइनका लागि बढी पैसा तिर्नु पर्‍यो भन्ने उजुरी हालसम्म परेको छैन।’ सरकारले अनलाइन फारम निःशुल्क भर्ने व्यवस्था गरेको छ। 

‘कसैले काम गरिदिएबापत केही शुल्क तिर्नु सामान्य हो तर कसैले धेरै पैसा लिएको खण्डमा उजुरी गर्नुपर्छ‚‘ उनले थपे, ‘व्यवसायीले बढी रकम लिएर फाराम भरेको भए खबर गर्नुहोस्, हामी कारबाही गर्छौं।’ 

यसका लागि सेवाग्राही आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ। बिचौलियाले बढी रकम लिन खोजे तुरुन्तै प्रहरीलाई खबर गर्न आग्रहसमेत उनले गरेका छन्। यतिवेला विभागमा दैनिक १५ हजारको हाराहारीमा आवेदन पर्ने गरेका छन्। हरेक दिन बिहान ११ बजेदेखि अनलाइन फारम खोल्ने गरिएको छ। 

पासपोर्ट बनाउन लाग्ने शुल्क र समय

राहदानी अर्थात पासपोर्ट बनाउन काठमाडौंबाट १२ हजार तिर्नुपर्ने हुन्छ भने जिल्लाबाट बनाउँदा ५ हजारमा  बनाउन सकिन्छ।

राहदानी हराए वा बिग्रिएकाे खण्डमा १७ हजार तिरेर बनाउन सकिन्छ। विभागले विभिन्न जिल्लाबाट सेवा शुरु गरेको छ तर छपाइका लागि भने विभागमा नै ल्याउने व्यवस्था भएको विभागले जनाएको छ।

‘जुनसुकै जिल्लाबाट पासपोर्ट बनाए पनि प्रिन्टका लागि भने विभागमै आउँछ,’ उनले भने, ‘पासपोर्ट बनिसकेपछि विभागले नै जिल्ला जिल्लामा पठाउने हो।’ 

विभागले ७७ जिल्ला र १७ वटा इलाका प्रशासन कार्यालयबाट फाराम भर्न पाउने व्यवस्था गरेको छ। विभागबाट फाराम भरे ३ दिनमा पासपोर्ट  लिन सकिन्छ भने जिल्लाबाट लिनका लागि एक महिना कुर्नु पर्छ।

यसरी भर्ने अनलाइन फाराम 

प्रवक्ता पौडेलका अनुसार अनलाइन फाराम भर्न राहदानी विभागको वेबसाइटमा गएर मिति र समय बुकिङ गर्नुपर्छ। जसले छिटो फाराम भरेर बुकिङ गर्न सक्यो, उसको पालो पहिले आउँछ।

वेबसाइटमा क्लिक गरेपछि प्रि-इनरोलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नुपर्छ। जसमा फोटो, शैक्षिक प्रमाणपत्रअनुसार उमेर फरक परेको भए सक्कल शैक्षिक प्रमाणपत्र स्क्यान गरी राख्नु पर्छ।

सबै कागजात पूरा गरी सेवाग्राहीले समय बुकिङ गरेपछि उनीहरूले दिएको समयमा कार्यालयमा बोलाइन्छ। सोही दिन अनलाइनमा भरेको फाराम रुजु गर्ने र राजस्व तिरेको ३ दिनमा पासपोर्ट आउने पौडेलले जानकारी दिए।

अहिलेसम्म ७ लाख ई-पासपोर्ट जारी

राहदानी विभागको तथ्यांकअनुसार सरकारले ई-पासपोर्ट वितरण शुरु गरेदेखि हालसम्म ७ लाख पासपोर्ट जारी भएका छन्। जसमा करिब ५ लाख नयाँ रहेको विभागले जनाएको छ।

डेढ लाखभन्दा बढीको नवीकरण गर्न बाँकी छ, १ लाखको हारहारीमा हराएका छन् र बिग्रिएका पासपोर्ट बनाउन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.