|

काठमाडौंः शुक्रबारदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा आएको छ। शुक्रबारदेखि नै हलिउड फिल्म ‘अवतार’ पुनः प्रदर्शनमा ल्याइएको छ। ‘प्रेम गीत ३’ का कारण अवतार छायाँमा परेको छ। 

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्म हिन्दी र नेपाली गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। ५० देशमा एकसाथ प्रदर्शनमा आएको फिल्मको हिन्दी डब नेपालमा भने सोमबारदेखि मात्रै लाग्ने भएको छ। 

सबैभन्दा धेरै ७० देखि ९० प्रतिशतसम्म शो पाएको फिल्मको पहिलो दिनका अधिकांश शो हाउसफुल छन्। विश्व भरी १२ सय पर्दाबाट एकसाथ प्रदर्शन थालेको फिल्म नेपाली फिल्म उद्योगका लागि कोसेढुंगा साबित भएको छ। भारतमा पनि पहिलो दिनका अधिकांश शो हाउसफुल देखिएको छ। ‘कबड्डी ४’ पछि कुनै पनि नेपाली फिल्मले प्रदर्शन अघि पाएको हाइप यो सबैभन्दा धेरै हो। फिल्मले बक्स अफिसमा धेरै नयाँ कीर्तिमान बनाउने अनुमान गरिएको छ। 

फिल्ममा प्रदिप खड्का र क्रिस्टिना गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने सुनिल थापा, मनिष राउत, शिव श्रेष्ठ, लक्ष्मी बर्देवा, जिवन भट्टराई लगायतका कलाकारको अभिनय रहने छ।

यसअघि २०७६ को चैतमा प्रदर्शन गर्ने तयारी भएको फिल्मलाई कोरोनाले प्रभाव पारेको थियो। पिरियड लभ स्टोरी जनरामा बनेको फिल्म कोरोनाकै समयमा भारतमा गइ बाँकी काम भएको हो। 

त्यस्तै शुक्रबारदेखि पुनः प्रदर्शन गरिएको जेम्स क्यामरोनद्वारा लिखित तथा निर्देशित हलिउड फिल्म अवतार पनि यतिवेला हलमा छ। आगामी डिसेम्बरमा आउन लागेको बहुप्रतिक्षित ‘अवतार २ः द वे अफ वाटर’का लागि दर्शकलाई तयार पार्ने उद्देश्यले ‘अवतार’ फेरि प्रदर्शन गरिएको हो। साइफाइ जनरामा बनेको फिल्म विश्वको सर्वाधिक कमाइ गर्ने फिल्म पनि हो। 

यी बाहेक शुक्रबारदेखि नेपाली फिल्म ऐना झ्यालको पुतली र बलिउड फिल्म ब्रह्मास्त्र तेस्रो हप्तामा प्रवेश गरेको छ भने अर्को नेपाली फिल्म झिँगे दाउ चौथो हप्तामा प्रवेश गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.