|

काठमाडौं : रौतहटका क्रियाशील पत्रकार एवं थाहाखबरका जिल्ला सम्वाददाता रुपेन्द्र पटेलमाथि चन्द्रपुर अस्पतालका सञ्चालकद्वारा गरिएको दुर्व्यवहारको सर्वत्र आलोचना र भर्त्सना गरिएको छ।

चन्द्रपुर अस्पताल प्रालि रौतहटका सञ्चालक डा सुभाष चौधरीले पत्रकार पटेललाई समाचार प्रकाशन भएको विषयलाई लिएर दुर्व्यवहार गरेका हुन्। गत भदौ २० मा 'बालकको मृत्युपछि चन्द्रपुर अस्पतालमा तोडफोड शीर्षक'को समाचार थाहाखबरमा प्रकाशित भएको विषयलाई लिएर अस्पताल सञ्चालकले पत्रकार पटेललाई धम्क्याएका हुन्।

समाचार लेखेकै आधारमा पत्रकार पटेललाई अपहरण शैलीमा अस्पतालभित्र लगेर डर, धाक र त्रास देखाएर माफी मगाउने र त्यसको भिडियोसमेत बनाउने कार्य घोर निन्दनीय भएको नेपाल पत्रकार महासंघ रौतहटले विज्ञप्तिमार्फत जनाएको छ।

समाचारमा चित्त नबुझे प्रेस काउन्सिल जाने कानूनी व्यवस्था हुँदाहुँदै डा चौधरीले पत्रकार पटेललाई गरेको दुर्व्यवहार कानूनविपरीत भएकाले उनको मेडिकल काउन्सिल दर्तासमेत खारेज गर्न महासंघले माग गरेको छ।

पत्रकार पटेललाई विभिन्न बहानामा अस्पताल लैजाने सञ्चार उद्यमी मनोजकुमार शाहलाई पनि प्रेस स्वतन्त्रताविरोधी गतिविधिमा लागेकोले छानबिन गर्न महासंघले माग गरेको महासंघको रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ।

पत्रकार पटेलले घटनाका विषयमा बताउँदै भनेका छन्, 'म चन्द्रनिगाहपुरमा आफ्नै काममा रहेका वेला बुधबार दिउँसो करिब साढे १२ बजे चन्द्रपुर नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा उद्यमी पत्रकार मनोज साहले फोन गरेर 'भाइ कहाँ हो, मेरो पसल आउ त', भनेर फोन गरे अनि म उनको अफिस पुग्दा उनले एक ठाउँमा जाउँ भने, अनि मैले भने कहाँ दाई? अनि उनले भने एक छिनमा फर्किहाल्ने जाउँ न चुप लागेर भने, अनि उनले आफ्नै मोटरसाईकलमा हालेर चन्द्रपुर हस्पिटलमा लगे र म भित्र जान्नँ भन्दा उनले जाउँ न केही हुँदैन भन्दै हात समाउँदै भित्र लगे। अनि डाक्टर सुवास चौधरीलाई यही हो रुपेन्द्र पटेल भनेर निस्केर भागे। त्यसपछि डाक्टर चौधरीले फार्मेसी पछाडि रहेको एउटा रुममा करिब ८ जनाको स्टाफ टोली र डाक्टर बोलाएर क्यामरा मगाएर भिडियो बनाउँदै भदौ २० गतेको समाचार कसको बहकाउमा आएर लेखिस्? नाम भन नत्र तँलाई ३ वर्षको लागि जेल चलान गर्न कुनै कसर बाँकी नराख्ने भन्दै डर त्रास देखाउन थाले। उनले भिडियो बनाउनुअघि भदौ २० गते समाचार लेखेको गलत हो। मैले कसैको बहकाउमा आएर सो समाचार लेखेको हूँ त्यसको लागि म चन्द्रपुर हस्पिटल र डाक्टरहरूसँग क्षमा चाहन्छु भन्ने जबरजस्ती बोल्न लगाए। नबोलेमा ३ वर्ष जेल र ३० हजार जरिवाना हुने त्रास देखाउँदै मलाई अभद्र व्यवहार गरे।'

पत्रकार पटेलले यो घटनापछि आफू मानसिक रुपमा विक्षिप्त भएको र हाल काम गर्न नसक्ने अवस्थामा रहेको बताएका छन्। 

यस विषयमा डा. सुभाष चौधरीले 'पटेलजीसँग बसेर सामान्य छलफल गरिएको हो, बाहिर आएजस्तो केही हैन' भन्ने प्रतिक्रिया थाहाखबरलाई दिएर पन्छिए।

यो पनि पढ्नुहोस्

 


 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.