|
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत डेंगुका बिरामी। फाइल तस्वीर

काठमाडौं : नेपालमा डेंगुको देखिन थालेको करिब दुई दशक भयो। यस वर्ष भने अहिलसम्मकै सबैभन्दा धेरै नेपाली डेंगुबाट संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को पछिल्लो विवरणअनुसार यस वर्ष डेंगुका बिरामीको संख्या २१ हजार ३५२ पुगिसकेको छ।

यसपल्ट साउनपछि तीव्र गतिमा संक्रमण बढेसँगै पछिल्लो एक सातायता मृत्यु हुनेको संख्या पनि बढेको छ। डेंगुबाट हालसम्म २७ जनाको मृत्यु भइसकेको इडिसिडीले जनाएको छ।

नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।

इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।

यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।

सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। हुन त विगत दुई वर्ष नेपालमा कोरोना महामारीले भएको लकडाउन तथा निषेधाज्ञाले डेंगुको संक्रमण न्यून भएको विज्ञहरू बताउँछन्।

यसकारण बढ्दै छ डेंगुबाट हुने मृत्यु

यसअघि सन् २०१९ मा डेंगु संक्रमितहरू शुरुमा नै अस्पताल आउने र चिकित्सकको निगरानीमा बस्ने गरेका भए पनि यस पटक डेंगुका बिरामी यसको औषधी भनेकै सिटामोल हो भन्दै घरमा नै सिटामोल खाएर बस्ने र अस्पताल ढिलो आउने गरेकाले पनि धेरैलाई गाह्रो भएको र मृत्यु हुने अवस्थामा पुगेको बताउँछन् टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा शेर बहादुर पुन।

‘सन् २०१९ मा धेरैलाई संक्रमण भए पनि खासै कडा लक्षण थिएन तर अहिले डेंगुको कडा लक्षण देखिएको छ, लक्षण देखिएको ४/ ५ दिनमा नै बिरामीलाई गाह्रो भएको छ तर पनि घरमा नै सिटामोल खाएर बस्ने र सहनै नसक्ने भएपछि मात्र धेरैजसो बिरामी अस्पताल आउनु भएको छ। त्यस बेलासम्म बिरामीमा रक्तश्राव भइसकेको हामीले देख्छौँ, कडा लक्षण देखिनु र ढिलो अस्पताल आउँदा पनि मृत्युको संख्या बढेको हुन सक्छ‚’ उनले भने।

धेरै बिरामी 'ब्रेक बोन फिवर' अर्थात् 'हड्डी भाँच्चिदा दुखेजस्तो सहनै नसक्ने दुखाइ र शरीर अत्यधिक चिलाउने समस्या भएपछि मात्रै अस्पताल आउने गरेको समेत डा पुनले बताए।

‘अत्यधिक दुखाई र बेहोस हुने अवस्थामा सहनै नसक्ने भएपछि डा साब शरीर साह्रै दुख्यो, बेहोस पनि भए केहीले शरीर साह्रै चिलायो भन्दै आउनुहुन्छ, बेहोस हुने, साह्रै दुख्यो भन्दै आउने बिरामीमा परीक्षण गर्दा धेरैमा आन्तरिक रक्तश्राव भइसकेको देखिको छ, त्यसैले यस पटक धेरै घरमा नै बस्ने र सक्दै नसक्ने भएपछि ढिलो अस्पताल आइपुग्दासमेत धेरैलाई गाह्रो भएको हो‚’ उनले भने।

तर केही दिनदेखि ज्वरो आएको छ‚ ज्यान दुखेको छ र  शरीर धेरै चिलाएको छ भने डेंगु संक्रमण सन्चो हुँदै गएको भनेर बुझ्नुपर्ने उनले बताए। ‘धेरैले केही दिनअघि ज्वरो आएको थियो अहिले शरीर साह्रै चिलायो भन्दै आउनुहुन्छ तर धेरै चिलाउनु भनेको संक्रमण सन्चो हुँदै गएको भनेर बुझ्नुपर्छ‚’ डा पुनले भने।

पहिलेभन्दा फैलिइरहेको छ डेंगु

नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको बताउँछन् डा पुन।

नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने डा पुनको भनाइ छ।

‘जलवायु परिवर्तनले हाम्रो वातावरण र मौसममा जे जस्ता परिवर्तन आइरहेका छन्, यसले गर्दा पनि डेंगु संक्रमण बढेको हो भन्न सकिन्छ‚’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.