|

सुर्खेत ः १०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ। 

 एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण गर्नका लागि काम सुरु गरिएको छ। जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको निर्माणका लागि ठेक्का प्रक्रियामा जाने तयारी भइरहँदा अर्को जगदुल्ला जलविद्युत आयोजना ‘जगदुल्ला ए’ को लागि डिपिआरको काम समेत चलिरहेको छ। नयाँ डिपिआर निर्माण कार्य जारी रहेको आयोजनाबाट ८२.३ मेगावाट विद्युत उत्पादन हुने जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले जानकारी दिए।

 डिपिआरको काम सम्पन्न भएपछि १२२ भन्दा माथी विद्युत उत्पादन हुने सम्भावना समेत देखिएको अधिकारीले जानकारी दिनुभयो। जदुल्लाको अहिले मुआब्जा, विद्युत खरिद बिक्री (पिपिए) , लगायतका कामहरु सम्पन्न भइसकेका छन्। बिभिन्न निकायबाट शेर लगानी गरे बापतको रकम समेत भुक्तानीको काम समेत चलिरहेको छ। विद्युत उत्पादन कम्पनीले ४ लाख ९१ हजार ८०० कित्ता शेर , हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्टले एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता शेर, नेपाल विद्युत प्राधिकरणले २१ लाख ८७ हजार कित्ता शेर, कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार ५०० शेर र स्थानीय तह (जगदुल्ला , मुड्केचुला) २३ लाख ४३ हजार शेर गरी जम्मा त्रिसठ्ठी लाख उनान्पचास हजार तीन सय कित्ता शेर बाफत रु ६३ करोड ४९ लाख ३ हजार रुपैयाँको शेयर बापत रकम कम्पनीले लिइरहेको छ। 

विद्युत उत्पादन कम्पनी अन्तर्गत बनेको जगदुल्ला जलविद्युत कम्पनीमा अति विपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ। आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत सेयर दिने बताइएको छ।

त्यस्तै विद्युत उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत सेयर रहेको छ। त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष र दूरसञ्चार कम्पनीको १०/१० प्रतिशत सेयर छ।

अर्थ मन्त्रालय, कानून मन्त्रालय र नागरिक लगानी कोषको ५÷५ प्रतिशत, जलविद्युत लगानी तथा विकास कम्पनीको चार प्रतिशत र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रर्वधनात्मक सेयर रहेको छ।

 यही आर्थिक वर्षको अन्तिम सम्मा कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिनुभयो। अधिकांश ठाउँबाट शेयर बापतको रकम आइसकेको र केही ठाउँको मात्र बाँकी रहेको कम्पनीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.