केसीको समर्थनमा भोलि बृहत् नागरिक आन्दोलनले माइतीघर मण्डलामा प्रदर्शन गर्ने

|

काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारको मागसहित विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने सातबुँदे माग गर्दै यसपटक २० औं अनशनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।

कैलालीको धनगढीबाट यसपटकको अनशन थालेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो काठमाडौं आएका थिए। उनी टिचिङ अस्पतालमा भर्ना भएका छ।

डाक्टरहरुको प्रत्यक्ष निगरानी रहे पनि अनशनमै रहेका डा केसीले उपचार सेवा लिन मानेका छैनन्। विस्तारै उनको बोली पनि सानो हुन थालेको केसीका सहयोगी प्रितम केसीले थाहाखबरलाई जानकारी दिए।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज विज्ञप्ति जारी गर्दै डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएका छन्।

डा केसीसँग १९ पटक सम्झौता गरेर कार्यान्वयन नगरेको सरकारले यस पटक पनि दिनहुँ जस्तै वार्ताको नाटक गरिरहेको आरोप कतिपयले लगाएका छन्। वार्ता टोली गठन भएको ७ दिन भईसक्दा पनि कतिपय बुँदामा राजनीतिक सहमति जुटाउनुपर्ने बहाना बनाउँदा निकास ननिस्किएको डा केसीका सहयोगी प्रितम केसीको बुझाई छ।

आज पनि सरकार र डा केसी पक्षबीच वार्ता भए पनि ठोस निष्कर्ष निस्कन सकेन। मोटामोटी रुपमा सहमति भए पनि धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूको राजीनामाको विषयमा कुरो अड्किएको सरकारी वार्ता टोलीका सदस्य रोशन पोखरेलले जानकारी दिए।

आमरण अनशनरत डा. केसीको समर्थनमा भोलि बृहत् नागरिक आन्दोलनले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरेको छ।

बृहत् नागरिक आन्दोलनले आज एक वक्तव्य जारी गर्दै केसीको स्वास्थ्यप्रति संवेदनशील बन्न र उहाँका प्रतिनिधिसँग सार्थक वार्ता गर्न आग्रहसमेत गरेको छ।

सरकारसँग अब गरिने सहमति विगतको जस्तो प्रतिबद्धता जाहेर गरेर कार्यान्वयन नगर्ने किसिमको सम्झौतामा नटुङ्गियोस् भन्दै नागरिक आन्दोलनले  भोलि प्रदर्शन गर्न लागेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.