जनयुद्धको नेतृत्व गरेको माओवादीप्रति चर्काे आक्रोश

|

बागलुङ : बागलुङका द्वन्द्व पीडितहरूले आफूहरूले अझै न्याय नपाएको गुनासो गरेका छन्। वर्षौँदेखि आफन्तको न्याय लागि लड्दा लड्दै भएको जायजेथासमेत सकिएको गुनासो गर्न थालेका छन्। 

सशस्त्र द्वन्द्वका समयमा बेपत्ता परेका, मरेका तथा मारिएका आफन्तको अहिलेसम्म सरकारले कुनै पनि जानकारी दिन नसकेको भन्दै उनीहरू सरकारसँग असन्तुष्ट बनेका हुन्। 

द्वन्द्व पीडित सचिनान्द विकले लामो समयदेखि न्यायका लागि लडे पनि राज्यपक्षबाट आफूहरूलाई कुनै सहयोग नभएको बिलौना पोखे। 

उनले भने, ‘हामीले न्याय कहिले पाउने? न्यायको लागि लड्दा लड्दै हामी आफैं थकित भइसक्यौँ। अहिलेसम्म न्याय पाउन सकेनौँ, हाम्रा आफन्त कहाँ छन्, कस्तो अवस्थामा छन्?’

राज्यको व्यवस्थाले थप पीडा 

विकले द्वन्द्व पीडितहरूको अवस्था दिन प्रतिदिन नाजुक र दयनीय बन्दै गएको भन्दै उनीहरूले जीवनस्तर उकास्न कसैले ध्यान नदिएको सुनाए। 

‘हामीहरू धेरै लामो समयदेखि न्यायको प्रतिक्षामा छौँ, द्वन्द्वमा आफन्त गुमाउनु परेको पीडा त मुटुमा छँदैछ, समाजमा र राज्यले उनीहरू प्रति गरेको असामान्य व्यवहारले थप चोट पुगेको छ’ उनले भने, ‘त्यस बेलामा हाम्रा आफन्तहरू कर्तव्य वोध गरि मुलुक र नागरिक जोगाउनको लागि आफ्नो ज्यान दिए, तर अहिले उनीहरूको सम्मान राज्यले गर्न सकेन, बेपत्ता परिएका र उनीहरूका परिवारको बेवास्ता गर्दा दुःख लाग्छ।’

लामो समयदेखि न्यायका लागि संघर्ष गरि रहेका नागरिकलाई सरकारले मलमपट्टि गर्न नसकेको भन्दै पीडितहरू झन्–झन् पीडामा परि रहेको उनको भनाइ छ। 

‘हामी लामो समयदेखि निरन्तर न्यायका लागि संघर्ष गरि रहेका छौँ, हाम्रो अवस्था दिनदिनै नाजुक बन्दै गएको छ, हाम्रो जीवनस्तर उकास्न समेत कसैको ध्यान पुगेन, हामी न्यायका लागि हिँड्छौँ, तर कहीँ कतैबाट हाम्रो सुनुवाई भएन’ विकले थपे, ‘पीडितलाई सामान्य सान्त्वना समेत कसैले दन सकेन, यसले गर्दा अहिले धेरै द्वन्द्व पीडितहरू झन् पीडामा छन्।’

उनले सरकारले पीडितहरूको जीविकोपार्जनका लागि सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए। 

‘अलिअलि भएको जायजेथा पनि न्याय खोज्दा खोज्दै सकिन थाल्यो, वर्षौँ भयो हामीले हाम्रो आफन्त गुमाएको, कतैबाट हाम्रो अवस्था बुझ्न कोही आएन, पीडितहरूको जीविकोपार्जनका लागि सरकारले केही त गर्न सक्थ्यो होला नि’ उनले सरकारसँग गुनासो पोख्दै भने, ‘तर अहिलेसम्म केही गरेन, पीडित परिवारलाई अहिले पनि धेरै समस्याले झेलेको छ, सम्बन्धित निकाय यसप्रति गम्भीर भएन, हामी अन्यायमा पर्‍यौँ भनेर सुनाउने ठाउँसमेत छैन।’

उनले लामो समयदेखि न्याय पाउने आशमा रहेको भन्दै सरकारले यो काम गर्न नसके गाँठो फुकाई दिनु पर्ने मागसमेत गरे। 

‘हामीहरू लामो समयदेखि न्यायको आश गरेर बस्यौँ, तर अहिलेसम्म आश आशामात्रै रह्यो न्याय पाउन सकेनौँ, सरकारले सक्दैनौँ भने सक्दैनौ भने हुन्थ्यो, हामीलाई आश त हुन्थेन, यसरी झुलाई राख्नुभन्दा बरू यो गाँठो फुकाई दिए हुन्थ्यो, हामी जे गरे गथ्र्र्यौँ’ उनको भनाइ छ। 

संघर्ष अझै गर्छौँ’

द्वन्द्व पीडित जशोधादेवी शर्माले न्याय नपाएसम्म आफूहरूको संघर्ष जारी रहने बताइन्। उनले विगतमा धेरै थरीका आश्वासनहरू आए पनि यतिका वर्ष बितिसक्दा पनि न्याय पाउने विषयको अत्तोपत्तो नभएको बताइन्। 

‘विगतमा हामीहरूलाई धेरै तिरबाट न्याय दिने आशाहरू देखाइए अहिले यस प्रति कोही जिम्मेवार भएनन्, हामी हाम्रो परिवारका सदस्य भेटिने र न्याय पाउने आशमा छौँ’ उनले भनिन्, ‘जिम्मेवार निकायले भने हाम्रो मुद्दामाथि, हाम्रो पीडामाथि ध्यान दिएन। हामी न्याय नपाएसम्म विचलित नभई लडिरहन्छौँ।

राज्य निरीह भयो’

उनले परिवार गुमाउँदाको पीडा आफूहरूलाई मात्रा थाहा हुने भन्दै सम्बन्धित निकायले बेपत्ता भएका र द्वन्द्वमा ज्यान गुमाएकाहरुको अपमान गरेको बताइन्। 

शहीद तथा बेपत्ता परिवारका सदस्यहरू लामो समयदेखि न्यायका लागि भतारिँदा पनि उनीहरूको पीर व्यथालाई बुझ्न नसकेको गुनासो गरिन्।

‘आफन्त गुमाउनुको पीडा हामीहरूलाई थाहा छ, कस्तो हुन्छ भन्ने, हामीहरू हाम्रा आफन्तको न्यायका लागि वर्षौँदेखि लडि रहेका छौँ, धेरैले धेरै थरी आश्वासन देखाए, तर अहिले हाम्रो कार्यक्रममा समेत सहभागी हुँदैनन्, राज्य निकै निरीह भयो’ सरकारप्रति उनको असन्तुष्टिको चर्को भाव देखिन्थ्यो। 

जनयुद्धमा लागेका ठूला दलहरूका नेताहरूलाई आफूहरूको समस्या राख्न समेत कुनै वास्ता नगरेको उनको भनाइ छ। 

‘हामीले सबैलाई भन्यौँ न्यायका लागि तर उहाँहरूले हाम्रा समस्या सुन्न चाहनुभएन, अब हामीहरूले कसलाई सुनाउने, कहाँ जाने न्याय खोज्न?, कसले दिन्छ हामीलाई न्याय?’ उनले आक्रमक हुँदै भनिन्, ‘सरकारले सक्दैन भने सक्दैन भनोस्। यसरी हामीलाई अन्योलमा नपारोस्, हामी जे गरे गरौँ, झुलाउने काम नगरोस्।’

सशस्त्र द्वन्द्वका समयमा बागलुङ बागलुङका १४९ जनाले ज्यान गुमाएका थिए भने अहिलेसम्म २४ जना बेपत्ताको सूचीमा छन्। दुई जना भने फेला परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.