ओलीको कारण संघीयता कमजोर, राष्ट्रपतिको कदम असंवैधानिक

|

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्। 

नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताएका हुन्। 

उनले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताए। 

संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गरे। केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गरे। 

‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रूवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ। किनकी पुराना शक्तिहरूले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन्।

जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ। यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ’ उनले भने, ‘त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ। त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरूलाई बलियो बनाउने गरेर हामी अघि बढौं। केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो।’

तत्कालीन केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप लगाए। हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको आरोप लगाए।

‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि जारी भएको दोस्रो संविधान सभाबाट जुन सरकार बन्यो, जुन नेतृत्व बन्यो, तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीजी, र उहाँको टिमले यो उपलब्धिहरूको रक्षा गर्नुको साटो, सबलीकरण गर्नुको साटो धमिराले झैँ भित्रभित्रै ती संस्थाहरूलाई कमजोर पार्ने, जुन प्रयत्न गर्नुभयो, त्यो प्रक्रिया अहिले पनि रोकिएको छैन’ उनले भने, ‘अस्ति भर्खर राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ। 

राज्यका सबै अंगहरूमा बेथिति भित्रिएको र यस्ता बेथितिले संघीय लोकतान्त्रिक गणतन्त्र नै गम्भीर खतरामा परेको जिकिर गरे। 

‘प्रायः सबै अंगहरू, राज्यका सबै अंगहरू बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्, त्यसले हामीले यत्रो सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ। त्यसैविरूद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौँ। हामी अत्यन्त गम्भीर अवस्थामा छौँ’ उनको भनाइ छ। 

सबैले आग्रह, पूर्वाग्रह, स्वार्थलाई छोडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेको बताए। उनले बजारमा बनेको सामाजिक सञ्जालरूपी विषालु मादक पदार्थले मानिसको चेतना र विचार नै विभ्रमति पार्ने काम गरिरहेको बताए। संकटकाल घोषणा गर्ने, टाउकोको मूल्य तोक्ने प्रतिगामी शक्तिले अहिले देशलाई अस्थिरतातर्फ लगेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.