|

काठमाडौं : डेंगु संक्रमणका कारण पछिल्लो पाँच दिनमा ९ जनाको मृत्यु भएको छ। आज (शनिबार) मात्रै थप दुई जना डेंगु संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यही असोज ४ गते १ जनाको ज्यान लिएको डेंगुले असोज ५ गते ३ जनाको मृत्यु भएको थियो। यस्तै, असोज ६ गते १ जना, ७ गते शुक्रबार र आज शनिबार २/२ जनाको मृत्यु भएको हो। मुस्ताङबाहेक देशभरका जिल्लामा डेंगु संक्रमणले आक्रमण गरेको छ। डेढ महिनामा २९ जनाको मृत्यु भएको छ।

डेंगु नियन्त्रणको सरकारी प्रयास निष्प्रभावी बनेको छ। डेंगु संक्रमण झन्/झन् बढ्दो अवस्थामा रहेको छ। सरकारले डेंगु नियन्त्रणकै लागि ३ करोडभन्दा बढी रकम खर्चेको छ। डेंगु संक्रमणको उकालो लागेको ग्राफ भने रोकिने छाँटकाँट छैन।

डेंगु नियन्त्रणका लागि १३९ स्थानीय तहमा २ करोड ३५ लाख र सात प्रदेशका ६० जिल्लाका लागि ७५ लाख रुपैयाँ पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर चुमनलाल दासले थाहाखबरलाई जानकारी दिए। यो रकम डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियानसहितका कार्यक्रम सञ्चालन गर्न पठाईएको उनको भनाई छ।

सरकारको एकल प्रयासले मात्रै डेंगु नियन्त्रण गर्न नसकिने भन्दै दासले सबै व्यक्ति तथा संस्थाहरुलाई पनि सहयोग गर्न अनुरोध गरेका छन्। डेंगु संक्रमण दिनप्रतिदिन संवेदनशील बन्दै गएको भन्दै उनले संक्रमण फैलिएका क्षेत्रमा प्रत्येक घरका प्रत्येक व्यक्तिलाई सतर्कता अपनाउन आग्रह गरे। एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु नियन्त्रणको सबैभन्दा उत्तम उपाय लार्भा खोज र नष्ट गर नै भएकाले यसलाई कडाइका साथ लागू गर्नुपर्ने उनको बुझाइ छ।

तीन वर्षअघि १७ हजार ९ सय ९२ जनालाई लागेको डेंगु यस वर्ष दुई महिनामै २२ हजार ९ सय ८८ जनालाई लागिसकेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर १६ सय ३६ डेंगुका संक्रमित थपिएका छन्। हिजो शुक्रबार पनि १५ सय ८६ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो।

यही अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा १७ हजार ७ सय ३१, लुम्बिनीमा २ हजार ८२१, सुदूरपश्चिममा ७ सय ७७ जनालाई डेंगु लागेको  छ। यस्तै, प्रदेश १ का ५ सय ९१, गण्डकीका ५ सय १५, मधेश प्रदेशका ३ सय २३ र कर्णाली प्रदेशका २३० जनालाई डेंगु संक्रमण भएको छ।

डेंगु संक्रमण धेरै भएका जिल्लाहरुको सूचीमा एक नम्बरमा काठमाडौं रहेको छ। काठमाडौंमा ७ हजार ३८० जनामा डेंगु पुष्टि भएको छ। त्यस्तै, दोस्रो नम्बरमा परेको ललितपुरका ५ हजार ५८५ जनालाई डेंगु लागेको छ। यसैगरी मकवानपुर, दाङ, भक्तपुर, रुपन्देही, चितवन, धादिङ, कैलाली र गुल्मीमा तीव्र संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डेंगु नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। समयमै लामुखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको दाबी स्वास्थ्यविद्हरुको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार विभिन्न प्रदेश, जिल्ला, स्थानीय तह र स्वास्थ्य संस्थाहरुको माग तथा उपलब्धताका आधारमा डेंगु परीक्षणका किटहरु उपलब्ध गराउँदै आएको छ।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.