|

काठमाडौं : दशैंमा घर जानका लागि अग्रिम टिकट बुक गरेका यात्रुले पर्सि घटस्थापनादेखि काठमाडौं उपत्यका बाहिरिन सुरु गर्ने भएका छन्।

भोलिसम्म भने नियमित यातायात सेवाबाट सवारीसाधन सञ्चालन गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए।

उनका अनुसार आज शनिबारसम्ममा २५ हजार यात्रुले अग्रिम टिकट काटिसकेका छन्। तर, समयमै यात्रुलाई गन्तव्यमा पुर्‍याउन सकिनेमा भने यातायात व्यवसायीहरु विश्वस्त हुन सकेका छैनन्। सडक अवरुद्ध हुने ठूलो समस्याका कारण समयमै गन्तव्यमा पुग्न सकिनेमा विश्वस्त हुन नसकिएको अध्यक्ष स्वाँरले बताए।

यद्यपि, यातायात व्यवसायीले समयमै गन्तव्यमा पुर्‍याउने गरी सबै तयारी गरेको दाबी उनले गरे।

‘सडक राम्रो नहुँदा अहिले सार्वजनिक यातायातलाई ११३ किलोमिटर यात्रा गर्न १० घण्टा लाग्ने गरेको छ।’, उनले भने, 'फूलपातीको दिनसम्मै मनसुन रहने अनुमान गरिएको छ। त्यसले समस्या निम्त्याउँछ कि भन्ने छ।’ व्यवस्थापनको हिसाबले ठोस निर्णय भएपनि मौसमका कारणले गाह्रो हुनसक्ने उनको भनाई छ।

यातायात व्यवसायीले यसवर्ष करिब २२ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान गरेका छन्। गत दुई वर्ष कोरोनाका कारण अग्रिम टिकट बुकिङ खुलाइएको थिएन। दशैँ तिहार र छठ पर्व सकिएलगत्तै प्रतिनिधि र प्रदेशसभाको चुनाव हुने भएकाले यसवर्ष भने धेरै यात्रुहरु बाहिरिने अनुमान गरिएको उनले बताए।

मन्त्रिपरिषद्को निर्णयअनुसार यातायात व्यवसायी, ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, नेपाल सशस्त्र प्रहरीलगायतका सम्बन्धित निकायका पदाधिकारीहरु सम्मिलित समिति गठन गरिएको थियो।

चाडपर्वको बेला हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न गठित समितिले शनिबार बैठक बसेर यात्रुहरूको सुरक्षाका लागि विभिन्न १२ निर्णय गरेर भोलिदेखि नै कार्यान्वयन गर्ने भएको छ।

मुग्लिन नारायणघाट सडक खण्डमा पहिरोका कारण धेरै सडक अवरुद्ध हुने भएपछि सडक विभागले कर्मचारी स्ट्याण्डबाइ राख्ने भएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.