|

बैतडी : बैतडीमा शनिबार बेलुका बिरामी बोकेको सरकारी एम्बुलेन्स दुर्घटनामा परेको छ। महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका २ सिन्केलेक नजिक दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

दार्चुलाको महाकाली नगरपालिकाको सुदूरपश्चिम प्रदेश ०२००१ झ १२२ एम्बुलेन्स बिरामी बोकेर धनगढीतर्फ जाने क्रममा शुक्रबार बेलुका ७ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर उक्त एम्बुलेन्समा बिरामी भएर उपचारको लागि धनगढी जाँदै गरेकी महाकाली नगरपालिका ३ की ६५ वर्षीया भागरथी भट्ट घाइते भएकी छन्।

यस्तै एम्बुलेन्समा रहेका सोही ठाउँका शंकर प्रसाद भट्ट र  तिलक प्रसाद भट्टको अवस्था सामान्य छ।

उक्त एम्बुलेन्समा रहेका उनीहरुलाई अर्को एम्बुलेन्समार्फत धनगढी पठाइएको छ। दुर्घटनामा परेको एम्बुलेन्स र चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ ठिमका ३६ वर्षीय जनक सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाग्रस्त एम्बुलेन्स सडकबाट अनियन्त्रित भएर नालीमा खसेको हो।

चालक धामीले मापसे गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिइएको र मापसे गरेको भन्ने बुझिएकाले कानून अनुसार कारबाही अगाडि बढाइने प्रवक्ता जोशीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.