|

सर्लाही : सर्लाहीको कालिन्जोरमा प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका १२ मा पर्ने कालिन्जोरमा यही असोज १३ गतेदेखि १६ गतेसम्म प्रथम मधेश प्रदेश पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको हो। आयोजक कालिन्जोर युवा समूहले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको छ।

प्रतियोगितामा आयोजकसहित मधेश प्रदेशका आठै जिल्लाका टिम सहभागी हुने आयोजक कालिन्जोर युवा समूहले जनाएको छ। वडा कार्यालयकै मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले १ लाख १ हजार, उप विजेताले ७५ हजार र तेस्रो हुने टिमले २५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष सुवास खड्काले बताए।

गाउँमा रहेको मधेश प्रदेशकै अग्लो स्थानमा पर्ने पर्यटकीय स्थल राजारानी थुम्को, तुरतुरे झरना, पार्क, वनलगायत पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र खेलकै माध्यमबाट रमणीय क्षेत्रको रुपमा रहेको कालिन्जोरलाई देशैभरी चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मूल आयोजक समितिका अध्यक्ष खड्काले बताए। प्रतियोगिता आयोजना गर्न १० देखि १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आर्थिक समितिका संयोजक भीमबहादुर खड्काले बताएका छन्।

खड्काले विकट क्षेत्रमा आयोजना गर्न लागिएको यस प्रतियोगितालाई सफल बनाउन स्थानीयवासी, उद्योगी, व्यवसायीलगायत सबैसँग आग्रह गरे। खेलकै माध्यमबाट गाउँमा रहेका विकृति विसंगतीलाई हटाउँदै सबैबीच एकता, भाइचारा र सहकार्यको भावना विकास गर्न यति धेरै रकम सरसहयोग लिएरै प्रतियोगिता आयोजना गर्न लागिएको खड्काले बताए।

जिल्ला भलिबल संघ सर्लाहीका अध्यक्ष रामाशंकर चौधरीले कालिन्जोरमा हुन लागेको प्रदेशस्तरीय यो प्रतियोगितापछि सर्लाहीमा भलिबल खेलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।

यस्तै, पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा उपस्थित भएका ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिमका लागि तय गरिएको पुरस्कार रकमका लागि नगरपालिकाले सहयोग गर्ने बताए। मेयर आचार्यले पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताको यो वर्ष कालिन्जोर युवा क्लब आयोजक भएपनि अर्को वर्षबाट नगरपालिका आफैँ मुख्य आयोजक बनेर प्रतियोगितालाई निरन्तर अघि बढाउने प्रतिवद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.