|

काठमाडौं : नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढीले सुर्तीजन्य पदार्थको सेवनबाट लाग्ने रोगका कारण ज्यान गुमाउने गरेको बताइन्छ।

विश्व स्वास्थ्य संगठनले सन् २०१८ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण लाग्नेबाट हरेक वर्ष २७ हजार १३७ जनाले ज्यान गुमाउने गरेको पाइएको हो। यो सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो। 

तर विकास अनुसन्धान प्रतिष्ठानले हालै सार्वजनिक गरेको एक तथ्यांकले भने एक वर्षमा नेपालमा ३७ हजार ५०० भन्दा बढीको सुर्तीजन्य पदार्थको कारणले मृत्यु हुने गरेको देखाएको छ।

वासिङ्टन विश्वविद्यालय अन्तर्गतको स्वतन्त्र, आधिकारिक र विशेषज्ञ स्वास्थ्य अनुसन्धान संस्था, हेल्थ मेट्रिक एण्ड इभ्यालुएसनद्वारा संकलन र विश्लेषण गरिएको उक्त तथ्यांकमा २०२० देखि २०५० सम्ममा १,३४०,००० नेपालीले सुर्तीजन्य पदार्थका कारण ज्यान गुमाउने अनुमान गरिएको छ।

तथ्यांकअनुसार सन् २००० मा २५,३०० भन्दा कम रहेको संख्या २०१९ मा आइपुग्दा ३७,५०० भन्दा बढी हुन पुगेको छ। सुर्तीजन्य पदार्थको प्रयोगका कारण हुने मृत्युको संख्या सन् १९९० देखि वर्षैपिच्छे बढ्दै गएको  र विशेष गरी सन् २००० देखि द्रुत गतिमा बढेको तथ्यांकमा उल्लेख छ।  

दिगो विकासका लक्ष्यअनुसार सन् २०३० सम्ममा सुर्तीजन्य पदार्थको उपभोगमा ५० प्रतिशतले कमी ल्याई १५ प्रतिशतमा घटाउने उदेश्य रहेको छ । विगत एक दशकमा सुर्तीजन्य पदार्थ विरुद्धका नीति नियम बनाई जति कार्यक्रम गरि पनि सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रणमा अपेक्षित नतिजा भने आएको छैन।

प्रतिवेदनले नेपालमा कुल मृत्युको करीव २० प्रतिशत सुर्तीजन्य पदार्थको कारण भएको उल्लेख छ। यस्तै प्रतिवेदनले नेपाल सुर्तीजन्य पदार्थबाट सबैभन्दा बढी दरमा मृत्यु हुने दक्षिण एशियामै पहिलो बनेको छ। मृत्युदरमा नेपालले भारतलाई समेत उछिनेको छ।

३० वर्षअघि नेपालमा सुर्तीजन्य पदार्थबाट हुने मृत्युदर श्रीलंकाभन्दा कम थियो तर हाल भने दोब्बरले बढी भएको उल्लेख छ।

अहिलेकै अवस्था निरन्तर रहे सन् २०५० सम्ममा १३ लाख ४० हजार नेपालीको सुर्तीजन्य पदार्थको सेवनकै कारण ज्यान जाने दाबी गरिएको छ। त्यो भनेको वार्षिक ५२ हजारभन्दा बढी हो प्रतिवेदनमा नेपाल सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर तिर्ने दक्षिण एशियाको देश बनेको उल्लेख छ। नेपालमा सुर्तीजन्य पदार्थको करको दर ४१ प्रतिशत मात्रै भएको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो मुलुकले करको दरलाई कम्तीमा ७५ प्रतिशत पुर्‍याउन भने पनि कम कर हुँदा सुर्तीजन्य पदार्थ सस्तोमा पाउने र प्रयोगकर्ताहरु बढी हुने देखिएको छ। प्रतिवेदनमा सुर्तीजन्य पदार्थमा सबैभन्दा बढी कर तिर्ने मुलुक श्रीलंका रहेको बताइएको छ।

श्रीलंकामा सुर्तीजन्य पदार्थमा ७७ प्रतिशत कर लगाइएको छ। यस्तै छिमेकी मुलुक भारतले सुर्तीजन्य पदार्थमा ५८ प्रतिशत कर लगाएको उल्लेख छ।

यसरी विभिन्न समयमा भिन्न भिन्न संस्थाहरूले गरेको अनुसन्धानको रिपोर्टले नेपालमा पछिल्लो वर्षहरुमा सुर्तीजन्य पदार्थको सेवनले हुने मृत्यु बढ्दै गएको देखाएको छ।

केही वर्ष अघिसम्म नेपाल विभिन्न प्रकारका सरुवा रोगका कारण जोखिममा परेको पाइने गर्थे। तर पछिल्लो वर्षहरुमा सरुवा रोगले मौसमी रूपमा सताउने गरे पनि  स्थायी रुपमा भने अहिले नेपालमा नसर्ने रोगले गुज्रिरहेको छ।

त्यसैले नेपालमा पछिल्लो वर्षहरुमा नसर्ने रोगहरुको जोखिम बढ्दै गएको चिकित्सकहरुले बताउने गरेका छन। नेपाल मात्रै होइन अहिले नेपाल जस्ता विकासोन्मुख देशहरु नसर्ने रोगको उच्च जोखिममा पर्ने गरेका छन। यसको विभिन्न कारणमध्ये प्रमुख कारण धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनलाई लिने गरिन्छ।

धूमपान तथा सुर्तीजन्य पदार्थको सेवनले विभिन्न प्रकारका क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह जस्ता जटिल प्रकारका नसर्ने रोगहरुको जोखिमलाई बढाइरहेको बताइन्छ।

मुटु र फोक्सोमा अनेक रोग

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीका अनुसार पछिल्लो समय युवा उमेरमा नै मुटुरोग देखिनु प्रमुख कारण नै सुर्तीजन्य पदार्थको सेवनलाई लिने गरिएको छ। प्राडा सायमीले भने केही वर्ष अगाडिसम्म मुटु रोग भन्नेबित्तिकै ४० वर्ष माथिका उमेर समूहलाई धेरै लाग्ने गर्थ्यो तर हाल आएर ४० वर्षभन्दा कम उमेरका अर्थात् युवा उमेर समूहलाई पनि मुटुरोग बढ्दै गएको छ।

यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन हो। युवा अवस्थामा नै मुटुमा समस्या देखिएर अस्पताल आउने बिरामीहरु संग कुरा गर्दा उनीहरुले धेरैले चुरोट तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको पाइने गरेको छ। आजभोलि धेरै महिलाहरुलाई पनि हृदयाघात हुने गरेको छ यसको प्रमुख कारण सुर्तीजन्य पदार्थको सेवन नै हो।‘

डब्लुएचओकै तथ्यांकलाई सापटी लिने हो भने पनि विश्वमा हरेक वर्ष लगभग ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनबाट हुने गदर्छ। त्यसमध्ये करिब १२ लाख मानिसको ज्यान ‘सेकेन्ड ह्यान्ड स्मोकिङ’ बाट हुँदै आएको छ।

अमेरिकन लङ्गस एसोसिएसनका अनुसार चुरोटमा ७ हजारभन्दा बढी विभिन्न प्रकारका हानिकारक रसायन (तत्वहरु) हुन्छन् । जसमध्ये सयौँ रसायनहरु स्वास्थ्यका लागि अत्यन्त हानिकारक छन् भने कम्तीमा ७० वटा रसायनहरू क्यान्सर रोगको प्रमुख कारक तत्व हुन्।

२८.९ प्रतिशत नेपाली सुर्तीजन्य सेवनमा

तथ्याङ्क अनुसार नेपालमा झण्डै २८.९ प्रतिशत मानिसले सुर्तिजन्य पदार्थको सेवन गर्ने गर्छन। यसरी सेवन गर्ने मध्ये ४८ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला रहेका छन्। नेपालीको पहिलो पटक धुम्रपान गर्न सुरु गर्दाको औसत उमेर १७.८ वर्ष रहेको छ।

सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानि न्युनिकरण गर्न सरकारले नियमितरुपमा नै विभिन्न काम गर्दै आएको। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको छ। यस्तै नेपालले ७ नोभेम्बर २००६ मा सुर्तीजन्य पदार्थ तथा धुम्रपान नियन्त्रण गर्ने सम्बन्धी महासन्धि (WHO FCTC) अनुमोदन गरी सोही अनुरुप नेपालमा सुर्तीजन्य पदार्थको न्यूनीकरण, नियन्त्रण तथा नियमन गरी जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित अभिबृद्धि गर्न केही नीतिगत व्यवस्था अघि सारेको छ।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि चुनौती

सुर्तीजन्य पदार्थको सेवनबाट हुने हानिलाई न्यूनीकरण गर्नको लागि सरकारले विभिन्न कार्यक्रमहरु ल्याए पनि रोकथाम गर्नको लागि धेरै चुनौतीहरु रहेको देखिन्छ।

हाल पनि नेपालमा सुर्ती उद्योगको हस्तक्षेप र उनीहरुको रणनीतिले चुनौती भने यथावत् नै रहेको अवस्था छ। हाल प्रचलित ई–सिग्रेट, सिसा, हुक्कालगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिष्कृत रुपलाई समेट्ने गरी वृहत तरिकाले कार्यक्रम सञ्चालन गर्नसमेत आवश्यक देखिन्छ।

तर सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न राज्य नै अग्रसर हुनु पर्ने बताउँछन् सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रण हुनुपर्छ भन्ने अभियान चलाइरहेका संस्था एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्द।

सार्वजनिक स्थानहरु जस्तैः शिक्षण तथा स्वास्थ्य संस्था,बाल कल्याण गृह, वृद्धाश्रम आदि स्थानबाट कम्तीमा १०० मिटर भित्र सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नपाइने व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्नु,फुटकर रुपमा सुर्तीजन्य पदार्थको विक्री वितरण गर्न नपाइने व्यवस्थाको प्रभावकारी रुपमा कार्यान्वयन हुनु,१८ वर्ष नपुगेका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्री वितरण   गर्न नपाइने व्यवस्था कडाइका साथ लाग्नु पर्ने चन्दको भनाइ छ।

चन्दले भने, ‘सुर्तीजन्य पदार्थको सेवनमा कमी ल्याउन सबैभन्दा पहिले भएकै नियम कडाइका साथ लागू गर्न राज्य नै लाग्नुपर्छ,जसको लागि खिल्ली चुरोट बिक्री गर्न नपाइने सार्वजनिक स्थान जस्तै स्कूल कलेज छेउमा बिक्रीवितरण गर्न नपाइने, सूर्ती चुरोट उत्पादन गर्ने उद्योगहरुलाई निरुत्साहित गर्न राज्य नै लाग्नु पर्छ।'  

दिगो विकासका लक्ष्यअनुसार सन् २०३० सम्ममा सुर्तीजन्य पदार्थको उपभोगमा ५० प्रतिशतले कमी ल्याई १५ प्रतिशतमा घटाउने उदेश्य रहेको छ । विगत एक दशकमा सुर्तीजन्य पदार्थ विरुद्धका नीति नियम बनाई जति कार्यक्रम गरि पनि सुर्तीजन्य पदार्थको उपभोग नियन्त्रणमा अपेक्षित नतिजा भने आएको छैन।

यसो हुनुको प्रमुख चुनौतीको रुपमा नहुनु र विश्व स्वास्थ्य संघको सिफारिसअनुसार चुरोटको खुद्रा मूल्यमा करको अंश ७५ प्रतिशतभन्दा माथि हुनुपर्दछ तर नेपालमा सबैभन्दा बढी बिक्री हुने ब्रान्डको चुरोटको मूल्यमा करको अंश केवल ३५–४० प्रतिशतको बीचमा रहेको छ जुन दक्षिण एसियाका अन्य राष्ट्रहरुका लाग्ने करको दरभन्दा कम हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.