|

बारा : अंश दिनुपर्छ भनेर नागरिकता माग गर्ने सौतेनी आमाको छोराले हत्या गरेको रहस्य बाहिरिएको छ। बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरकी तेतरीदेवीको हत्या आरोपमा प्रहरीले उनको सौतेनी छोरालाई पक्राउ गरी सोधपुछ गर्दा यस्तो रहस्य बाहिरिएको हो।

पक्राउ पर्नेमा २५ वर्षीय जयकिशोर यादव रहेका छन्। पटकपटक नागरिकता बनाइदिन आग्रह गर्दै आएकी तेतरीको भदौ ३० गते हत्या भएको थियो।

नागरिकताकै विषयलाई लिएर घरमा आपसी विवाद हुँदा जयकिशोरले खुकुरी प्रहार गरी तेतरीदेवीको वीभत्स हत्या गरेको स्विकार गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए।

हत्यापछि फरार रहेका उनलाई प्रहरीले असोज ७ गते शुक्रबार पक्राउ गरी सार्वजनिक गरेको हो।

प्रहरीले अनुसन्धानका लागि जयकिशोरका बुवा शिवनारायणलाई समेत नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार तेतरीदेवी शिवनारायणकी पहिलो पत्नी हुन्। उनीबाट सन्तान नभएपछि शिवनारायणले अर्को विवाह गरेका थिए। जयकिशोर दोस्रो पत्नीबाट भएका सन्तान हुन्।

विवाह भएको ३० वर्ष बितिसकेको छ। तर शिवनारायणले श्रीमती तेतरीदेवीको नागरिकता अझै बनादिएका छैनन्। कान्छी श्रीमती र छोरा जयकिशोरको दबाबमा शिवनारायणले नागरिकता नबनाइदिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ।

तेतरीदेवीलाई नागरिकता बनाइदिए अंश दिनुपर्ने भएकाले सौतेनी छोरा जयकिशोरले तेतरीको हत्या गरेको स्विकार गरेको प्रहरी उपरीक्षक बोगटीले बताए।

उनका अनुसार प्रहरी हिरासतमा रहेका दुवैलाई म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.