|

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले आज फाइनल चरणको अभ्यास गरेको छ। 

आइतबार टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम चरणको अभ्यास गरेको हो। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको लागि ४ गोलरक्षकसहित २३ सदस्यीय टोली घोषणा गरेका थिए।

उनले गोलरक्षकमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथू र दीप कार्की, रक्षकमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाल, मिडफिल्डरमा सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ठकुरी र एरिक बिष्ट, स्ट्राइकरमा विमल घर्तीमगर, अञ्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरीलाई समेटेर २३ सदस्यीय टिमको घोषणा गरेका थिए।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्यवाहक प्रशिक्षक हुमागाईंले अभ्यास राम्रो भइरहेको र बंगलादेश पछिल्लो समय मजबुत बन्दै गएकाले बंगलादेशलाई पराजित गरेर नेपालीहरुको महान चाड दशैँको अग्रिम शुभकामना दिने लक्ष्यमा राष्ट्रिय फुटबल टिम रहेको बताए।

उनले नेपाली खेलाडीले लामो समयपछि खेल्न लागेको उल्लेख गर्दै राम्रा खेल मैदान नहुँदा केही समस्या परेको बताए। उनले लामो समय खेल नहुँदा खेलाडीलाई फिट हुन केही समस्या भएको बताए।

उनले बंगलादेशसँगको खेलमा नेपाल राम्रो नतिजा दिने मनशायले खेल्ने बताए। उनले नेपाली फुटबललाई नयाँ बाटोमा लैजाने बेलामा आफू नेपाली फुटबल टिमको नेतृत्व गर्न आइपुग्नु गर्वको कुरा भएको बताए। उनले अहिले डेंगुका कारण पनि खेलाडी बिरामी हुने हुन् कि भन्ने चिन्ता भएको बताए।

​यता खेलाडी नवयुग श्रेष्ठले भने नेपाली प्रशिक्षकले आफूलाई राष्ट्रिय टोलीमा नराखेकोप्रति असन्तुष्टि जनाएका थिए। कुवेतमा भएको एएफसी एशियन कपका लागि नेपालको कप्तानी गरेका नवयुग टिममा नपर्दा धेरैले आश्चर्य प्रकट गरेका थिए ।

नवयुगले आफू टिममा नपरेपछि सामाजिक सञ्जालमार्फत नै असन्तोष व्यक्त गरेका थिए। नवयुग मात्र होइन, सोही भ्रमणमा टोलीको कप्तानीको मौका पाएका मनाङ मर्स्याङदी क्लबका मिडफिल्डर पूजन उपरकोटी पनि हुमागाईंको रोजाइमा पर्न सकेनन्।

तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीले ११ खेलाडीसँग विवाद भएपछि नवयुग र पूजनलाई कप्तानीको मौका दिएका थिए। त्यतिबेला अल-मुताइरीसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षणबाट बाहिरिएका १० खेलाडी र माल्दिभ्समा रहेका किरण चेम्जोङबाहेकको राष्ट्रिय टोलीको घोषणा गरिएको थियो।

तर प्रशिक्षक हुमागाईंले भने एडप्टका कारण नवयुग श्रेष्ठ, भरत, अभिषेक लगायतका केही राम्रा खेलाडीहरुलाई पनि टिममा समावेश गर्न नसकिएको बताए। उनले टिममा नयाँ खेलाडी पनि रहेकाले बंगलादेशसँगको खेलबाट उनीहरूले अन्तरराष्ट्रिय खेलमा डेब्यु गर्नसक्ने सम्भावना रहेको बताए।

उनले ४ जना किपर टोलीमा राखेकोबारे पनि स्पष्टीकरण दिए। उनले केही खेलाडी राम्रोसँग अभ्यास गर्ने र मेहनत गरेर खेल्ने भएका कारण पनि ४ जना किपर राख्नुपरेको बताए। उनले हार्डवर्क, टिमवर्कका कारण उनीहरूलाई हटाउने ठाउँ नरहेको जिकिर गरे।

खेलाडी अनन्त तामाङले सबै खेलाडी बंगलादेशसँग खेल्नको लागि फिट रहेको बताए। उनले लामो समय खेल नहुँदा शुरुमा केही कठिनाइ भए पनि अहिले सहज बन्दै गएको बताए। उनले बंगलादेशले नेपाललाई खेलमा चुनौती दिने भन्दै नेपाललाई जिताउन खेल्ने बताए।

अर्का खेलाडी विमल घर्तीमगरले बंगलादेश हालै मात्र कम्बोडियालाई जितेर बंगलादेशको फुटबल टिम उच्च मनोबलका कारण बंगलादेशले नेपालसामु कडा चुनौती दिने बताए। उनले नेपाललाई जिताउने लक्ष्यका साथ आफूले खेल्ने बताए।

अहिले टिममा नयाँ र पुराना खेलाडीको मिश्रण रहेकाले टिम बलियो र राम्रो बनेको उनले बताए। उनले घरेलु मैदानमा खेल हुन लागेकाले पनि बंगलादेशलाई हराउने विश्वास व्यक्त गरे।

राष्ट्रिय टिममा पहिलो पटक समावेश फरवार्ड ऋत्तिक खड्का राष्ट्रिय टिममा अभ्यास गर्दा पहिला धेरै गाह्रो भए पनि अहिले सहज लाग्न थालेको बताउँछन्। राष्ट्रिय टिममा खेल्न लाग्दा धेरै खुशी भएकाले आफूले सकेसम्म राम्रो खेल्ने बताए। उनले टिममा अभ्यासका क्रममा नयाँ कुरा सिक्न पाएको बताए।

नेपाल र बंगलादेशबीचको खेल मंगलबार राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टिम शुक्रबार नै नेपाल आइसकेको छ। दुवै टोली एकअर्कालाई हराएर विजयी बन्ने ध्याउन्नमा छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.