|

काठमाडौं : नेदरल्यान्ड्स र क्रोएसिया यूईएफए नेसन्स लिग फुटबलको फाइनल्स फोरमा  प्रवेश गरेका छन्।

समूह चरण अन्तर्गत गएराति भएको खेलमा नेदरल्यान्ड्सले बेल्जियमलाई १–० गोल अन्तरले हराउँदै फाइनल्स फोरमा स्थान बनाएको हो। ​ नेदरल्यान्ड्सलाई जित दिलाउन भिर्गिल भान डाइकले निर्णायक गोल गरे।

खेलको ७३ औं मिनेटमा डाइकले निर्णायक गोल गरेका हुन्। यस जितसँगै नेदरल्यान्ड्सले १५ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सफल भएको छ। 

लिग ए समूह ४ को नेदरल्यान्ड्सले ६ खेलमा १६ अंक जोडेको छ। नेदरल्यान्ड्स समूहको शीर्ष स्थानमा रह्यो।   

यस्तै गएराति नै भएको खेलमा जित हात पार्दै क्रोएसियाले पनि अन्तिम चारमा स्थान पक्का गरेको छ। उसले घरेलु टोली अस्ट्रियाविरुद्व ३–१ को जित निकाल्दै लिग ए अन्तर्गत समूह एकको शीर्ष स्थानमा रहँदै फाइनलमा  स्थान पक्का गरेको हो।

अर्नस्ट हापल स्टेडियममा क्रोएसियालाई जित दिलाउन कप्तान लुका मोड्रिच,मार्को लिभाजा र डिजान लोभरेनले एक– एक गोल गर्दा अस्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए।

खेलको छैटौं मिनेटमा मोड्रिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिएको थियो।  नवौं मिनेटमा बाअमगार्टनरले घरेलु टोलीका लागि बराबरी गोल फर्काए। ६९ औं मिनेटमा लिभाजाले गोल गर्दै पाहुना टोलीलाई २–१ ले अघि बढाए।

७२ औं मिनेटमा लोभरेनले गोल गरेपछि क्रोएसियाले ३–१ को जित निकाल्यो। यो जितसँगै शीर्ष स्थानको क्रोएसियाले ६ खेलमा १३ अंक जोड्दा  पराजित अस्ट्रिया खेलबाट समान चार अंकका साथ पुछारमा रहँदै लिग बी मा घटुवा भएको छ। यस्तै गएराति नै भएको अर्को खेलमा डेनमार्कले फ्रान्सलाई २–० गोल अन्तरले हराएको छ।

डेनमार्कलाई जित दिलाउन कास्पर डोल्बर्ग र आन्द्रेस ओल्सेनले एक एक गोल गरे। खेलको ३३ औं मिनेटमा डोल्बर्गले गोल गर्दै डेनमार्कलाई सुरुआती अग्रता दिलाएका थिए। 

त्यसपछि खेलको ३९ औं मिनेटमा ओल्सेनले गोल गर्दै डेनमार्कलाई २–० को जित दिलाए। यस जितसँगै लिग ए समूह १ को डेनमार्कले ६ खेलमा १२ अंक जोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.