अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको छ : सडक विभाग

|
फाइल तस्बिर

काठमाडौं : नेपालीको महान चाड बडा दसैँ  सोमबार विधिवत रुपमा सुरु भएको छ। घटस्थापनासँगै उपत्यकाबाट दसैं मान्न विभिन्न जिल्ला जाने यात्रुको संख्या बढ्न थालेको छ। 

आइतबारदेखि विद्यालय, कलेज छुट्टी भएसँगै सोमबारदेखि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढेको यातायात व्यवसायी बताउँछन्। अब विजयादशमीसम्म दिनहुँ यात्रुहरूको चाप थप बढ्दै जानेछ। सरकारी कार्यालयहरु फूलपातीका दिनदेखि बिदा हुने भए पनि यसपटक अघिल्लो दिन शनिबार परेकाले शुक्रबारदेखि यात्रुको चाप बढ्ने थप व्यवसायीको भनाइ छ। 

तर अहिले पनि वर्षा नरोकिएको र बाढी–पहिरोले बिगारेका सडक मर्मत हुन नसक्दा यात्रुले सास्ती भोगिरहेका छन्। कतिपय स्थानमा राजमार्ग अवरुद्ध हुँदा यात्रुको बिचल्ली भइरहेको छ। बाटोमा पहिरो जाँदा घर जाने यात्रुहरुलाई व्यवस्थापन गर्न सकस परेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए। 

सडक विभागका अनुसार अहिले वर्षाकै कारण साँफेबगर-मार्तडी-कोल्टी सडक,बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक,बेलहिया-भैरहवा-बुटवल-वर्तुङ राम्दी-स्याङजा पोखरा सडक,डुम्रे-बेंसीशहर-चामे सडक अवरुद्ध छ।

त्यस्तै,जमुनाहा-नेपालगञ्ज-कोहलपुर-सुर्खेत-खुलालु-हिल्सा, सुर्खेत तल्लो डुङ्गेश्वर-सातखम्बा मान्मा-नाग्मा जुम्ला सडक अवरुद्ध छन्। नौबिसे-मुग्लिन-पोखरा  पृथ्वी राजमार्ग) भने एकतर्फी मात्रै सञ्चालनमा छ।  तनहुँको साँखर बाँसबारीमा अवरुद्ध भएको छ।  

‘पहिरोले बाटो अवरुद्ध हुँदा सामान्य तीन घण्टा लाग्ने बाटो पार गर्न १० घण्टा लागिरहेको छ,यात्रुहरु समयमा गन्तव्यमा पुग्न सकेका छैनन्,कष्टकर छ, हामीले सकेको पहल भने गरिरहेका छौँ,’यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले भने।

सडक खोल्ने प्रयास भइरहेको छ : सडक विभाग

सडक विभागका उप–महानिर्देशक भीमार्जुन अधिकारी अहिले पनि मनसुन बाहिरी नसकेकाले सडक अवरुद्ध हुने समस्या हट्न नसकेको बताउँछन्। विभागले सकेसम्म सम्बन्धित क्षेत्रमा टिम खटाएर बाटो खोल्ने प्रयास भने गरिरहेको उनले बताए।

‘सडक खुलाउन टिम लागिरहेको छ,कतिपय क्षेत्रमा अझै पूरा रुपमा सडक क्लियर हुन सकेको छैन,काम गर्दा गर्दै पनि नभ्याएर हो’,उनले थाहाखबरसँग भने ‘पहिरो निरन्तर झरिरहेकाले पनि समस्या भएको छ।’

उनले दशैँको बेला यात्रुहरुलाई सहज रुपमा गन्तव्यमा पुर्‍याउने कुरालाई पहिलो प्राथमिकता राखेको सुनाए। ‘जहाँ पहिरोले सवारी साधन व्यवस्थापनमा समस्या भएको छ,त्यहाँ ट्राफिक प्रहरी पनि खटिएका छन्, ठूलो क्षति पुगेको सडक खण्डमा अहिले तत्काललाई वैकल्पिक बाटो खुलाउने काम गरिरहेका छौँ,’उनले भने। 

उनका अनुसार पहिराेकाे जाेखिम हुने ठाउँहरुमा स्काभेटर र डोजर राखिएका छन्। जहाँ पहिराेले अवरुद्ध भएका राजमार्ग छन् त्यहाँ तत्काल खुलाउने काम भइरहेकाे उनले जानकारी दिए।

तत्काल मर्मत गर्न सकिने ठाउँका सडकमा नियमित मर्मत गरिरहेको जानकारी दिदैँ उनले केही बिग्रिएका सडकमा भने वर्षातका कारण काम हुन नसकेको तर्क गरे। तत्काल मर्मत गर्न सकिने ठाउँहरुमा काम भइरहेको र धेरै समस्या भएका ठाउँमा वर्षा पछिमात्रै मर्मत गरिने उनकाे भनाइ छ। 

सडककै कारण टिकट काट्न समस्या !

सडक कतै बिग्रिएको वा कतै अवरुद्ध हुँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न सकिरहेका छैनन्। जसले गर्दा उपत्यका बाहिर गएका गाडि फर्किएर  काठमाडौं छिर्न ढिला गरिरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरले बताए।

‘सबै गाडी काठमाडौंमा हुँदैन, गाउँमा यात्रु लिएर गएको छ,तर सडक अवरुद्ध हुँदा यहाँ समयमा गाडी आउन सकेको छैन,जसले गर्दा हामीलाई व्यवस्थापन गर्न धेरै गाह्रो भएको छ’,उनले भने, ‘त्यही भएर यात्रुहरुले भनेजस्तो अग्रिम टिकट बुकिङ गर्न सकिरहेका छैनौं। गाडी नै नआइ कसरी टिकट काट्नु?’ उनले भने।

यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ भने पनि यात्रु टिकट नपाएर हैरान छन्। टिकट समयमै काट्न नपाउँदा कहिले जाने भन्नेमा यात्रु अन्योलमा छन्।

यो वर्षको दशैँमा करिब २० लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने महासंघको अनुमान छ। यातायात व्यवस्था विभाग, सडक विभाग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवसायी राष्ट्रिय महासंघको भदौ २२ गते बसेको संयुक्त बैठकले असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

अध्यक्ष स्वाँरका अनुसार असोज १ गतेदेखि हालसम्म दुई लाख यात्रु बाहिरिसकेका छन्। उनले नयाँ बसपार्कबाट मात्रै करिब ५५ हजारले अग्रिम टिकट बुकिङ गरेको जानकारी दिए।

‘अरु बसपार्कबाट पनि धेरै बुकिङ भएको होला त्यसको तथ्यांक अहिले म सँग छैन,’उनले भने,‘जति यात्रुहरूको माग हुन्छ,त्यही अनुसार गाडी सप्लाइ गर्ने हो,तर गाडीहरु उपत्यकामा छिर्न सकेको छैन,त्यसैले यति थप्ने भन्ने नै छैन, अझै मनसुन रोकिने अवस्था देखिएन,तर पनि हामीले सकेसम्म यात्रुहरुलाई सेवा दिइरहेका छौँ।’

सरकारले दशैँका लागि आ-आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी आज(सोमबार)बाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। यातायात व्यवस्था विभागका अनुसार दशैँको पूर्णिमा असोज २३ गतेसम्मका लागि लागि यात्रु आ-आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो।

विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ।

सबै नाकामा विशेष जाँच, क्षमताभन्दा बढी यात्रु राख्न नपाइने 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गरिरहेको जनाएको छ।

कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार अहिले थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बाइपास, बालाजु लगायतका स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको छ। 

धेरैजसो चाडपर्वकै बेला लामो दुरीका सवारीसाधन दुर्घटना हुने गरेको छ। गाडीले क्षमताभन्दा बढी यात्रु ओसार्ने पनि गरेका छन्। तर,यसरी क्षमताभन्दा बढी यात्रु चढाउन नदिने प्रवक्ता भट्टले बताए।  

छतमा यात्रु तथा मालसामान राख्न नदिने, क्षमताभन्दा बढी यात्रु राख्न नदिने, सवारीसाधनको अवस्था जाँच गर्ने, यात्रुले अपनाउनुपर्ने सुरक्षा सावधानीबारे जानकारी गराउँदै आएको उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.