धनकुटा : धनकुटाको निशान मन्दिरस्थित दशैं घरमा सोमबार घटस्थापना गरिएको छ। बिहान १० बजेर २३ मिनेटको साइतमा जमरा राखेर घटस्थापना गरिएको हो।
सोमबार बिहानै नित्य कर्म समाप्त गरी नजिकको चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि धान, जौ, मकै छरिन्छ।
आज छरिएको धान, जौ, मकैलाई जमरा भन्ने गरिएको निशान मन्दिरका पुजारी शिवहरि सापकोटाले बताए। दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ।
निशान मन्दिरमा विसं १८३१ सालदेखि निरन्तर दशैंको जमरा राख्दै आएको इतिहास रहेको पुजारी सापकोटाले बताए। घटस्थापना गरिसकेपछि दुर्गाको प्रतीकका रुपमा यस दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै नवदेवीको पूजासमेत गर्ने गरिन्छ।
निशान मन्दिरमा दशैंको सातौं दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याउने, महाअष्टमी र महानवमीका दिन बली पूजा गर्ने चलन रहेको छ। धनकुटा बजारवासीले ल्याएको धान, जौ र मकैको जमरा राखिएको र विजया दशमीको दिन देवी विर्सजनपछि उनीहरूलाई जमरा वितरण गरिने पुजारी सापकोटाको भनाइ छ।
नवरात्रभरि दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्रको पाठ पारायण पनि गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ।
दानवी प्रवृत्तिबाट मानिसलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रोक्त कथन छ। दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकको रुपमा समेत मनाउने गरिन्छ।
बडादशैंको मुख्य दिन देवी दुर्गाको प्रसादको रुपमा दशमीको दिन त्यही जमरा र टीका लगाइन्छ।
यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने दशैं १५ दिन (कोजाग्रत पूर्णिमा) सम्म मनाइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।