|
फाइल तस्विर

काठमाडौं :  नेपालीको महान पर्व विजया दशमी, दिपावली तथा छठ आँगनमा नै आइपुगेका छन्। बजारमा भाँडाकुँडा किन्ने देखि मरमसला, लत्ताकपडा किन्नेको  चटारो छ। 

बजारमा सामानको मूल्य भने अकासिएको छ तर सरकारले महँगी अनुगमन र नियन्त्रणमा चासो दिएको छैन। यसअघिका वर्षमा स्थानीय सरकारले चाडबाडमा बजार अनुगमन गर्दै आएको थियो।

यस पटक भने स्थानीय सरकारले समेत बजार अनुगमनमा चासो नदेखाउँदा कालो बजारी र बजार भाउ बढेको उपभोक्ता हितसम्बन्धी अधिकारकर्मीले बताउँदै आएका छन्।  

सरकारले बजार अनुगमनमा चासो नदेखाउँदा मारमा सर्वसाधारण परेका छन्। सरकारले हरेक वर्ष चाडपर्व नजिकिएसँगै कालो बजारी नियन्तण गर्ने भन्दै अनुगमन गर्दै आएको थियो। तर यस वर्ष दशैं शुरु भइसक्दा पनि अनुगमन गरेको छैन।

स्थानीय सरकारले बजार अनुगमनमा चासो नदेखाउँदा स्थानीयको ढाड सेकिएको राष्ट्रिय उपभोक्ता  मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन बताए। उनले भने, ‘सरकारको बजार अनुगमन असनको गल्लीमा छोडेको राँगोजस्तो भएको छ।’

वाणिज्य‚ आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका लागि दैनिक १० वटा टोली छुट्याएको जनाएको छ। नियमित अनुगमन र कारवाही भइरहेको दाबी विभागको छ तर विभागको काम पर्याप्त नभएको अध्यक्ष महर्जन बताउँछन्।   

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ११ को गाउँपालिका, नगरपालिकाको अधिकारको बुँदा नम्बर (ञ) मा स्थानीय बजार व्यवस्थापनसम्बन्धी व्यवस्था छ।

यसमा वातावरण संरक्षण र जैविक विविधता शीर्षकमा स्थानीय व्यापार, वस्तुको माग, आपूर्ति तथा अनुगमन, उपभोक्ता अधिकार तथा हितसम्बन्धी नीति, कानुन, मापदण्ड, कार्यान्वयन र नियमन गर्ने र बजार तथा हाट बजार व्यवस्थापन गर्ने विषय समावेश गरिएको छ।

स्थानीय वस्तुको उत्पादन, आपूर्ति तथा निकासी प्रक्षेपण, मूल्य निर्धारण र अनुगमन गर्ने, स्थानीय वस्तु र सेवा व्यापारको मूल्य तथा गुणस्तरको अनुगमन र नियमन गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ।

तर देशको राजधानी काठमाडौंको स्थानीय सरकारले बजार अनुगमन गर्न सकेको छैन। ‘काठमाडौं महानगरपालिकाले बजार अनुगमन गरेको छैन भने अरु स्थानीय सरकारका के कुरा गर्नु?‚’ मञ्चका सचिव जयप्रसाद पौडेल भन्छन्, ‘राजधानीका स्थानीय सरकारले बजार अनुगमन गर्न नसक्नु‚ कालो बजारी रोक्न नसक्नु लज्जास्पद हो।’

विगत वर्षहरूमा स्थानीय सरकारले नाम मात्रको भए पनि बजार अनुगमन गर्थे तर यस वर्ष त्यति पनि हुन नसकेको उनको भनाइ छ।

चाडबाड लक्षित बजार अनुगमन गर्ने तयारी गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ। बुधबार महानगरकी उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले क्षेत्रगत रुपमा अनुगमन गर्ने निर्णय गरेको थियो।

माछामासु पसल, डिपार्टमेन्ट स्टोर, होलसेल खाद्य पसल, डेरी उत्पादन, गोदामहरू, खसी बजार, तरकारी बजार अनुगमन गर्ने तयारी रहेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। तत्कालै बजार अनुगमन अगाडि बढाउने तयारी गरेको उनको भनाइ छ। 

महानगरपालिकाले २४ माघ २०७७ मा ‘काठमाडौं महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७’ राजपत्रमा जारी गरेको थियो।

स्थानीय वस्तु तथा सेवा स्वच्छ बजारका लागि जारी गरिएको यस ऐनमा महानगर आफैँले निरीक्षण अधिकृत तोकेर अनुगमनका माध्यमबाट अनुचित व्यापारिक क्रियाकलाप रोक्न सक्ने व्यवस्था छ।

तर दशैं लागिसक्दा पनि बजार अनुगमनलाई तीव्रता दिन सकेको छैन महानगरले। काठमाडौं उपत्यकाका अन्य स्थानीय तहले बजार अनुगमनसम्बन्धी कुनै काम अगाडि बढाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.