|

धनकुटा : विगतका वर्षहरुमा डेंगुको संक्रमण खास गरी तराईका जिल्लामा बढी मात्रामा फैलने गरेको पाइन्थ्यो। पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराईका जिल्लाभन्दा सुरक्षित हुने गरेका थिए।

तर यो वर्ष प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा भने नतिजा फरक देखिएको छ। तराइका जिल्ला भन्दा पहाडी र हिमाली जिल्लामा डेंगुको संक्रमण बढी फैलिएको पाइएको छ।

पछिल्लो समय प्रदेश १ मा डेंगुको संक्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या प्रदेश १ मा दिन प्रतिदिन बढिरहेको छ। सोमबारसम्म प्रदेश १ का १४ जिल्लामा डेंगुका बिरामीको संख्या ७ सय ५४ पुगेको छ।

अझ अनौठो तथ्य त यो पटक डेंगुको संक्रमण तराईका जिल्लामा भन्दा पहाडी र हिमाली जिल्लामा फैलिएको छ। अघिल्ला वर्षहरुमा तराई, उपत्यकाजस्ता घना बस्ती भएको स्थानमा बढी देखिने डेंगुको संक्रमण देखिएपनि यो वर्ष भने पहाडी र हिमाली जिल्लामा बढी देखिएको हो।

सोमबारसम्म प्रदेश १ को तराईका तीन जिल्लामा ३ सय २४ जनामा डेंगु देखिँदा पहाडी तथा हिमाली जिल्लामा भने ४ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ। प्रदेश १ को सुनसरी जिल्लामा सबैभन्दा बढी १ सय ७० जना र सबैभन्दा कम ताप्लेजुङ जिल्लामा २ जनामा डेंगुको संक्रमण देखिएको छ।

संक्रमण देखिएको प्रदेश १ को दोस्रो जिल्ला तेह्रथुममा १ सय ३७, तेस्रो संखुवासभामा १ सय २५ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका मेडिकल ल्याब टेक्निसियन तथा किटजन्य रोग फोकल पर्सन दिलिप सिंहले जानकारी दिए।

उनका अनुसार झापामा ८१, मोरङमा ७३, उदयपुरमा ६१, खोटाङमा ३६, धनकुटामा २९ जनामा संक्रमण देखिएको छ। यस्तै ओखलढुंगामा २३, इलाम, पाँचथर र भोजपुरमा १२/१२, सोलुखुम्बुमा ७ र ताप्लेजुङमा २ जनामा संक्रमण देखिएको छ।

तराइमा सबैभन्दा बढी सुनसरीमा र पहाडमा सबैभन्दा बढी तेह्रथुममा संक्रमण देखिएको छ। यो संक्रमण फैलँदो रुपमा रहेकाले एडिस जातको लाम्खुट्टेबाट जोगिनु एकमात्र विकल्प रहेको चिकित्सकको सुझाव छ। प्रदेश १ को पहाडी र हिमाली जिल्लामा अपत्यारिलो ढंगले यसको संक्रमण बढिरहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य निरीक्षक तारादेवी सुवेदीको भनाइ छ। उनका अनुसार थकित तथा कमजोरी महशुस हुनु डेंगु रोगका सुरुका लक्षण हुन भने त्यसपछि उच्च ज्वरो आउनु, जीउ दुख्नु, हाडजोर्नी दुख्नु, टाउको दुख्नु, आँखा दुख्नु र कसै कसैलाई वान्ता वा पखाला हुनु डेंगु रोगका लक्षण हुन्।

यी लक्षण देखिएमा पारासिटामोल जस्ता सामान्य औषधि घरमै प्रयोग गर्न सकिने र सामान्य औषधि प्रयोग गर्दा निको नभएमा नजिकको अस्पतालमा जान उनको सुझाव छ। डेंगु रोग एडिस जातको लामखुट्टेको टोकाइबाट मात्र सर्ने संक्रमण हो। डेंगु भएको बिरामीलाई टोकेर अर्को स्वस्थ व्यक्तिलाई एडिस जातको लामखुट्टेले टोकेमा संक्रमण सर्ने धनकुटा अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन डा. मनिष शाहले बताए।

लामखुट्टेले टोकेको ४ देखि १४ दिन भित्रमा यसको लक्षण देखिने र पहिलो चरणमा संक्रमितले राम्रो उपचार नपाएमा गम्भीर समस्या आउने र बिरामीको मृत्यु पनि हुने उनको भनाइ छ। धनकुटा अस्पतालमा डेंगुका विरामी नआउने गरेको भएपनि पछिल्लो २ हप्तादेखि दैनिक संक्रमण बढिरहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.