|

जुम्ला : जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दशैं शुरु भएको छ।

जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेपछि विधिपूर्वक घटस्थापना तथा दशैं शुरु भएको मान्ने गरिन्छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटस्थापना गरिएको हो।

धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यसकै प्रतीकस्वरुप चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए।

उनले भने, ‘वर्षेनी घटस्थापनाको दिनमा पुरानो लिंगो निकालेर नयाँ लिंगो खडा गर्ने चलन छ। सबैभन्दा ठूलो ४७ हातको लिङ्गो र ४७ हातकै ध्वजा तथा नेजा राखिएको छ। एउटा ४५ हाते र अर्को ३७ हातेसमेत गरी चारवटा लिङ्गो फेरिएको छ।’

उनले चन्दननाथ र अखडा देवी र बटुक भैरवनाथको  गरी तीनवटा र एउटा विजय स्तम्भ गरी चारवटा लिंगो खडा गर्ने गरिएको बताए। उनले भने, ‘वनजंगल नासिँदै गएपछि ५२ हाते लिङ्गो पाउन मुस्किल भएको छ।’

नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ। लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटस्थपान शुरु हुन्छ। जुम्लाका संस्कृतिविद् रमानन्द आचार्य भन्छन्, ‘यहाँको पूजा सकेर घरघरमा जमरा राखिन्छ।’

उनले बिहान ७ बजेपछि पुराना लिंगा ढालेर नयाँ लिंगा ठड्याइएको बताए। यो दिन नव दुर्गामध्ये शैलपुत्रीको पूजा आराधना गरिन्छ।

आजकै दिन जुम्लावासीले नयाँ अन्न अर्थात् न्वागी खाने गर्छन्। जुम्लाको परम्पराअनुसार मार्सी धान पनि आजकै दिन काट्न शुरु गरिन्छ। विश्वकै अग्लो स्थानमा फल्ने मार्सी धान उत्पादन गर्ने चन्दननाथ बाबा भएका भन्दै चन्दननाथ मन्दिरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर न्वागी खाने प्रचलन छ।

लिंगा ल्याउन र फेर्न सुरक्षा निकायकै भर

यसअघि सरकारी कर्मचारी, स्थानीय ढाणथपाल लगायत गाउँका क्षत्री र सेनाको पल्टनले लिंगो ल्याउने गर् । थपला लिंगो ब्राह्मण समुदायले र कमसला लिंगो जिल्लाभरका दलित समुदायले ल्याउने चलन थियो। केही वर्षदेखि परम्परागत चलन हराएको छ।

स्थानीयले जंगलबाट लिंगो ल्याउन छोडेपछि सेना र प्रहरीको सहयोग लिनुपरेको छ। चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अनुसार लिंगो गाड्ने परम्परालाई स्थानीयले विशेष पर्वकै रूपमा लिने गरेका छन्। स्थानीय प्रशासनले लिंगो ल्याउने दिन सरकारी बिदासमेत दिने गरेको छ।

जुम्लाको चन्दननाथ भैरवनाथ मन्दिरमा चन्दननाथ नगरपालिका–३ रडिखेल्ला जंगलबाट ५२ हाते लिंगो ल्याउने गरिन्छ। प्रत्येक दिन पूजापाठ हुने मन्दिरमा साताको एक पटक विशेष पूजा हुने गरेको छ।

गुठी जग्गाबाट अतिक्रमण हटाउनु पर्छ

नेपाल पत्रकार महासंघका जुम्ला जिल्ला अध्यक्ष नेत्रबहादुर शाही भन्छन्, ‘पछिल्लो समय गुठीको जग्गा अतिक्रमण भएको छ। धर्मका नाममा कमाउ धन्दा चलेको छ। मन्दिरको जग्गामा टहरा बनाउने‚ केही समय भाडामा लिने, पछि अतिक्रमण गर्दै जाँदा गुठीको जग्गा मासिँदै गएको छ। मन्दिरको गुरुयोजना पनि बनाइएको छैन। यसकारण नयाँ भन्दै बनाएका भौतिक संरचनाले ढाकिँदै जाँदा मन्दिर कुरुप बन्दै गएको छ। यस विषयमा सबैको ध्यान जान जरुरी छ।’

जुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र नेपाल प्रहरी,सशस्त्र प्रहरीका प्रमुखहरू मन्दिरको संरक्षकका रुपमा रहने प्रचलन छ। यस पटक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरी, सेनाको नन्दबक्स गणका गणपति रविन्द्र थापा, प्रहरी उपरीक्षक नरेन्द्र चन्दको टोलीले पूजाआजा गरेपछि लिंगो फेरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.