‘सबै नेता बसेर नै सर्वसम्मत ढंगले उम्मेदवारको सूची टुंग्याएका हौँ’

|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसमा संस्थापनइतर पक्षले गरेको गतिविधि पार्टीको विधि र विधानविपरीत भएको संस्थापन पक्षले निष्कर्ष निकालेको छ। 

समानुपातिकतर्फ उम्मेदवार चयनमा एकलौटी भएको भन्दै आन्दोलित भएको डा. शेखर कोइराला पक्षको गतिविधिलाई आफूहरूले नजिकबाट नियालिरहेको प्रवक्ता डा. प्रकाशशरण महतले बताएका हुन्। 

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘उहाँहरूको गतिविधि वान्छनीय होइन। सबै निर्णय सहमतिबाटै भएका छन्। त्रुटि हुनसक्छ ठूलो संख्यामा तयार पार्दा तर हामीले पक्ष र विपक्ष बनाएका छैनौँ।’

उनले गठबन्धनमा सिट बाँडफाँटको कुरा मिलिसकेपछि केही संशोधन हुनसक्ने बताए। उम्मेदवार चयनमा एकलौटी गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको दाबी उनले गरे। 

उनले भने, ‘उहाँहरूले भनेको जस्तो कुरामा सत्यता छैन। उहाँहरूकै सहभागितामा निर्णय भएको छ। कुनै दुविधामा रहेर शंका गर्नुपर्ने आवश्यकता छैन। संलग्न भएका साथीहरूलाई भन्न चाहन्छु सबै नेताहरू बसेर नै निर्णय गरेको हो। उहाँहरूको गतिविधि पार्टीअनुसार भन्दा बाहिरको हो। पार्टीविरुद्ध गतिविधि भएको अनावश्यक हो। हामीले विधि र विधानअनुसार सर्वसम्मति गरेका छौँ।’

पार्टीविरुद्धको गतिविधि गर्नेलाई कारवाही गर्ने चेतावनीसमेत दिए। ‘पार्टीविरुद्धका गतिविधि गर्नेलाई नजिकबाट नियालिरहेका छौँ‚’ उनले भने। 

गठबन्धनमा सिट बाँडफाँट केही दिनमा टुंगिने दाबी उनले गरे। उनले पार्टीलाई एकताबद्ध गरेर गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्न आग्रहसमेत गरे। उनले पार्टीले बनाएको मापदण्डअनुसार टिकट वितरण हुने प्रष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.