|

सुनसान गाउँ। जीर्ण घर। बनमाराले ढाकेका बाटाघाटा। घाँस उम्रेका खेतीयोग्य जमिन।

एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ अहिले उराठलाग्दो बनेको छ। बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ। कोही बिरामी पर्‍यो भने अस्पतालसम्म पुर्‍याउने मान्छेसमेत गाउँमा छैनन्। भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँ रित्तो बन्दै गएको हो।

यो गाउँका अधिकांश युवा विदेशिएका छन्। विदेश नगएकाहरु परिवार लिएर बजार झरे। यहाँका धेरै युवा जापानमा छन्। केही युरोपतिर। युवाहरु विदेशिएपछि गाउँमा बालबालिका र वृद्धवृद्धा मात्रै छन्। स्थानीय रिता थापा भन्छिन्, ‘गाउँमा कोही बिरामी पर्‍यो भने तत्काल अस्पताल पुर्‍याउने मान्छे पनि पाइँदैनन्, गाउँका खेतबारीहरु सबै बाँझो बनेका छन्, बुढाबुढी र केटाकेटी मात्रै छन्। उनीहरू पनि अहिले बजार तिरै झर्न थालेका छन्।’ 

विदेश पलायन र बसाइँसराइका कारण गाउँ रित्तिदै गएको भन्दै कसैको जन्ती, मलामी जाँदा मान्छेको अभाव हुने गरेको थापाले बताइन्। दिनदिनै गाउँमा मान्छेहरु घट्दै गएको भन्दै रित्तिएका घर जीर्ण अवस्थामा पुगेको उनको भनाइ छ। ‘बुढापाकाले जिउँदाको जन्ती, मर्दाको मलामी जानु पर्छ भन्ने गर्थे, अहिले गाउँमा कसैको विवाह भयो भने कसैको मृत्यु भयो भने जन्ती र मलामी पनि पाइँदैनन्’, थापाले भनिन्, ‘सबैलाई सुविधा चाहिन्छ, गाउँमाभन्दा सहरमै राम्रो सुविधा भएर होला मान्छेहरू गाउँ छोड्दै जाँदै गरे। यहाँ भएका घर पूरै भत्किन थालिसकेका छन्।’

थापाले छिमेकी बसाइँसराइ गरेर बजार झरेपछि मेलापात, खेतीपातीसमेत खेताला अभाव हुने गरेको बताए। उनले एक्लै धेरै खेतबारीमा काम गर्न नसक्दा खेतीयोग्य जमिन कालोपातीले भरिएको बताइन्। ‘पहिले गाउँमा धेरै मान्छे हुँदा काम गर्न सजलो हुन्थ्यो। अर्मपर्म गरेर काम गरिन्थ्यो। अहिले एक जना खेताला पनि पाइँदैन, एक्लैले धेरै बारीमा काम गर्न सकिँदैन, त्यही भएर बारीहरूमा कालोपाती उम्रिएको छ’ थापाले भनिन्।

स्थानीय विष्णु थापाले यहाँका अधिकांश युवा जापान र केही युरोप तिर छिरेपछि परिवार बजार झर्न थालेको बताए। विदेशमा राम्रो कमाइ हुनेहरुले बजार तिर बसाइँसराइ गरेपछि गाउँ सुनसान बनेको थापा बताउँछन्। ‘१० वर्ष अगाडिसम्म त गाउँ निकै रमाइलो थियो, विदेश गए पनि साउदी, कतार जाने गाउँमै जग्गा जमिन किन्ने चलन थियो’, थापाले भने, ‘अहिले त यहाँका अधिकांश मानिस जापान पुगेका छन्। उनीहरू सबैले गाउँ छोडेर गए। बजारमा जग्गा जमिन जोडेपछि परिवार नै उतै लगे। गाउँ सुनसान भयो।’

उनले सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न सक्ने र गाउँमा स्वरोजगार सिर्जना गर्न सके मात्रै बसाइँसराइ रोकिने बताए। गाउँमा स्वास्थ्य, शिक्षा, रोजगारको राम्रो सुविधा नहुँदा गाउँ छाड्ने बढेको उनको भनाइ छ। ​

बसाइँसराइका कारण यहाँ विद्यार्थीसमेत घटेको देउराली प्राथमिक विद्यालयका प्रधानाध्यापक केयरसिंह थापाले बताए। कक्षा पाँचसम्म पढाइ हुने यो विद्यालयमा जम्मा १६ जना मात्रै विद्यार्थी रहेको उनको भनाइ छ। प्रअ थापाका अनुसार कक्षा पाँचसम्म पढाइ हुने भए पनि कक्षा तीन र चारमा विद्यार्थी छैनन्। विद्यालय दुई जना शिक्षकको भरमा चलेको उनको भनाइ छ।

‘स्थानीय सबै जापान तिर छन्। अहिले त बालबालिका पनि उतै लग्न थाले। यहाँ भएका पनि अंग्रेजी स्कुलतिर लगेका छन्, गाउँमा मान्छेनै कम छन्, विद्यार्थी धेरै हुने त झन् कुरै भएन’ प्रअ थापाले भने, ‘कक्षा पाँचसम्म पढाइ हुने भए पनि दुई वटा कक्षामा विद्यार्थी नै छैनन्। १६ जना विद्यार्थीलाई दुई जना शिक्षकले मात्रै पढाउँछौँ। तीन वटा दरबन्दी थियो, विद्यार्थी घट्दै गएपछि गत वर्ष एउटा दरबन्दी घट्यो।’

धेरै मानिस सेवा सुविधाको पछि लागेर जन्मभूमि छोड्दै गएको उनको बुझाइ छ। बसाइँसराइले सिंगो गाउ नै रित्तो बन्न थालेको उनको भनाइ छ। उनका अनुसार पाँच वर्षअघिसम्म गाउँमा झण्डै ४० घर परिवार थिए। अहिले १५ परिवार मात्रै बस्ने गरेका छन्। ‘मान्छेले सेवा सुविधा खोज्दै गए, गाउँ रित्तियो, यहाँ पनि पनि सहर बजारको जति सेवा सुविधा हुन्थ्यो भने बसाइँसराइ रोक्न सकिन्थ्यो। अहिले यहाँ भएकाहरू पनि विस्तारै बजार झर्ने तयारीमा छन्’, थापाले भने।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बसाइँसराइ रोक्नका लागि नगरपालिकाले ग्रामीण क्षेत्रमा सहज रूपमा आधारभूत आवश्यकता परिपूर्ति गर्ने गरी काम गर्न थालेको बताए। उनले पहिलेदेखि नै ग्रामीण क्षेत्रमा विकास हुन नसकेको भन्दै नगरपालिकाले गाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणलाई जोड दिएको बताए।

‘गलकोटमा बसाइँसराइ गर्नेको संख्या व्यापक छ, यसलाई रोक्न हामीले नागरिकको आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने गरी विकास निर्माणलाई जोड दिएका छौँ, शिक्षा, स्वास्थ्य, यातायात र पर्यटनलाई बढी प्राथमिकता दिएका छौँ’, प्रमुख गैरेले भने, ‘ढिला चाँडो बसाइँसराइ रोकिने छ, ग्रामीण क्षेत्रका नागरिकसँग बसेर छलफल गरेका छौँ, त्यहाँ चाहिने आधारभूत आवश्यकतालाई परिपूर्ति गर्ने योजनामा हामी छौँ।’

उनले सबै ग्रामीण क्षेत्रमा सडक सञ्जालले जोडिसकेकाले अब पर्यटनलाई जोड दिन थालेको बताए। ग्रामीण क्षेत्रममा पर्यटन पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने र स्थानीयको जीवनस्तर उकास्ने र बसाइसराइँ रोक्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.