बन्नसक्छ उपयुक्त पर्यटकीय गन्तव्य भेरी करिडोर

|

सुर्खेत : डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका –१ धो का प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउँछन्। उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रहरूको जानकारी समेत गराउँछन्। 

वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्या समेत बढ्दै गएको छ। दुई वर्ष पहिले सम्मा यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवा समेत पुगेको छ। पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिहरूले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रसम्मको विषयमा जानकारी फोन, इन्टरनेट मार्फत लिने गर्दछन्। धो आफैँमा सुन्दर छ। 

उपल्लो डोल्पाको चर्चित ठाउँ समेत हो। अहिले धोमा पहेलपुर हुँदै उवा पाकेको छ। कृषकहरू वर्षमा एक पटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउनका लागि उपयुक्त समयको खोजीमा छन्। उवा उपल्लो डोल्पाको मुख्यबाली रूपमा लिइन्छ। हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लो डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ। 

कात्तिकदेखि हिउँले उपल्लो डोल्पामा आफ्नो पकड जमाउँछ। वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्र्याइन्छ। उपल्लो डोल्पाका स्थानीयवासी अबको हप्ता दिनमा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताए। 

धो, छार्कामोट, सिमेन, फोक्सुन्डो ,कु गाउँ लगाएका २३ वटा गाउँमा उवाखेती गरिन्छ। वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुन्डो ताल, पौराणिक गुम्दा, हिमालयको मनमोहक दृश्य हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पाका सर्वसाधारण जाने गर्छन्।

उपल्लो डोल्पालाई चिनाउनका लागि बर्सेनी विभिन्न नाम दिएर मेला तथा महोत्सव समेत हुँदै आएका छन्। मध्य तथा उपल्लो डोल्पाको भागहरू समेटेर शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज समेत रहेको छ। शे–फोक्सुण्डो नेपालको सवैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यसको क्षेत्र डोल्पा र मुगु जिल्लामा समेत फैलिएको छ। 

नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ। यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरू, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छ। 

यस निकुञ्जलाई डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ। यहाँ पाइने हिउँ चितुवाको आहार–बिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ।

काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ। उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ।

११ औँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ। गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ। शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ। जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली शहरको नीति ल्याएर काम सुरू गरेको छ। 

पशुपालनका लागि समेत जोड दिदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ। वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समयमा मात्र खेतीबाली गरिँदै आएको छ । चिसो मौसममा हिमपात हुने भएकाले खेतीबाली १२ महिना नहुने गरेको शे फोक्सुण्डोकी प्रेमा गुरूङले बताइन्। 

उवा बाली भित्र्याएपछि उपल्लो डोल्पाका सर्वसाधारणहरू चिसो छल्न वेशी झर्ने गर्दछ। केही सर्वसाधारणहरू उपल्लो डोल्पामा आयातित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकारहरू खाएर जीवन चलाउने गरेको गुरूङले बताइन्। उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा नहुने गर्दछ। पानी भन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुन्छ। 

उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे फोक्सुण्डो गाउँपालिका पर्दछन्। भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो। मुस्ताङबाट समेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी रहेको छ। 

गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्नका लागि काम निरन्तर जारी रहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको हो। 

वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्र्याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण कार्य जारी छ। 

उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ। यो  कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ। समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ। 

मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवनमा धेरै सहज हुने पूर्व शान्ति तथा पुन निर्माणमन्त्री सत्य पहाडीको बुझाइ छ। अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ। कृषि उपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्ने समेत विश्वास छ। 
 
भेरी करिडोर अन्तरर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिव्बत जोड्ने त्रिदेशी सडकको निर्माण कार्य जारी छ। यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तर उन्नती कालोपत्रेको काम निरन्तर जारी रहेको छ। यो पर्यटकीय रूटको रूपमा स्थापित हुँदै आएको छ। यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण कार्य जारी रहेका दुई ठुला जल विद्युत् आयोजनालाई समेत सहयोग पुग्ने छ। 

धार्मिक दृष्टिले चर्चित बाला त्रिपुरासुन्दरीको मन्दीर डोल्पाको धार्मिक पर्यटन मात्र नभएर नीति निर्माण तहमा रहेका व्यक्तिहरूको ध्यान तान्ने महत्वपूर्ण स्थल रहेको छ। भेरी नदीको तिरैतीर जाजरकोट सुर्खेतबाट जाजरकोट हुँदै डोल्पा पुग्न सकिन्छ। त्यस्तै १२ वर्षमा एक पटक मात्र पूजा हुने गुम्बा समेत डोल्पामै रहेको छ। 

यातायातमा जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्ने छ। डोल्पामा पाइने उच्च कोटीको स्याउले समेत बजार पाउने छ। आर्थिक रूपमा सक्षम बनाउन यहाँको स्याउ आम्दानीको स्रोत हो। यार्सागुम्बा देखि अन्य मूल्यवान जडीबुटी डोल्पाका आम्दानीका आधार हुन्। 

डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्दछ। उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रूकुम पश्चिम पर्दछ। डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको संख्या दुई हजार भन्दा बढी रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जले बताएको छ। 

हवाइ मार्ग मार्फत नेपालगञ्जबाट जुफाल विमानस्थल हुँदै डोल्पा पुग्नेहरूको संख्या भने यकिन भएको छैन। जडीबुटीको भण्डारका रूपमा रहेको यहाँ १५ दिनका लागि मात्र वर्षमा एक पटक चीनको सिमानामा नाका खुल्ला गरिन्छ। हाट बजारको रूपमा १५ दिन खुल्ने बजारकै कारण उपल्लो डोल्पाका सर्वसाधारण किनमेल गरेर दैनिक काम चलाउँदै आएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.