|

बैतडी : चाडपर्वलाई लक्षित गर्दै भारतीय सीमानाकासहित बैतडीका सात स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन्। दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सीमा नाकासहित यहाँका विभिन्न राजमार्ग तथा सहायक सडकहरुमा सहायता कक्ष सञ्चालन गरिएका हुन्।

भारतसँग सीमा जोडिएका झुलाघाट, दशरथचन्द राजमार्गको पाटन, खोड्पे, महाकाली राजमार्गको गोकुलेश्वर, खोचलेक, सतबाँझ र सदरमुकामस्थित गोठालापानीमा सहायता कक्ष सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दशैँ तिहारको बेला यात्रुहरुलाई गन्तव्यमा पुर्‍याउनका लागि सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

सञ्चालन गरिएका प्रत्येक सहायता कक्षमा कम्तीमा दुईजना सुरक्षाकर्मी खटिएका छन्। उनले भने, 'चाडपर्वको समयमा भीडभाड हुने भएकाले यात्रुहरुलाई परेको समस्या समाधान गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएका हुन्, समस्यामा परेका नागरिकले सहायता कक्षमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।'

तोकिएको भन्दा बढी भाडा लिन नदिन, क्षमता भन्दा बढी यात्रु बोक्न नदिन र यात्रुहरुलाई सहजताका साथ गन्तव्यमा पुर्‍याउनका लागि यात्रु सहायता कक्षमार्फत काम भइरहेको सतबाँझस्थित अस्थाई ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक हवल्दार मोहन विष्टले जानकारी दिए।

चाडपर्वमा लागि भारतबाट फर्कने नागरिक, जिल्लाबाट बाहिर जाने र आउने नागरिकको संख्या बढेकाले यात्रुहरुलाई कुनै समस्या नहोस भन्नका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको जनाएको छ।

छठ पर्वसम्म यात्रु सहायता कक्षलाई निरन्तरता दिइने बताइएको छ।  यसका साथै चाडपर्वलाई लक्षित गर्दै यहाँ ‘सुरक्षा योजना’ पनि लागू गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.