|

कपिलवस्तु : कपिलवस्तुमा चाडपर्वमा हुने सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टाइम कार्ड लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले लामो दूरी र राजमार्गमा चल्ने सवारी साधनमा टाइम कार्ड लागू गरेको हो।

चाडपर्व सुरु भएपछि सवारीको चाप बढ्दै गर्दा सवारी दुर्घटना हुने जोखिमसमेत बढ्दै गएकाले टाइम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।

जिल्लामा शनिबार ३ स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाले ज्यान गुमाएका थिए। दुर्घटना न्यूनीकरणका लागि उपाय खोजिएको तिमिल्सिनाले बताए। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख प्रेम बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन, राष्ट्रिय अनुसन्धान कपिलवस्तु प्रमुख योगेन्द्र केसीसहितको टोलीले राजमार्ग क्षेत्रको अनुगमन गरी दुर्घटना न्यून गर्न टाइम कार्ड लागू गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

ट्राफिक प्रहरी पोष्ट चन्द्रौटा र पिपराबाट टाइम कार्ड प्रदान गरिने बताइएको छ। जिल्ला कार्यालय गोरुसिङ्गेमा रहेको चेकपोष्टले छड्के चेक गर्नेगरी कार्ड लागू गरिएको छ।​

पिपरादेखि चन्द्रौटासम्म रहेको ३८ किलोमिटरको दुरी पार गर्न ट्रक र टिप्परलाई १ घण्टा र बस कार जिपलाई ५४ मिनेटको समय अवधि तोकिएको छ। निर्धारित समयभन्दा चाँडै आउने सवारी साधनलाई जरिवाना गरिने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.