|

धनगढी : बाजुराको एउटा मन्दिरमा प्रवेश गरेको भन्दै दलित पुरुषमाथि कुटपिट भएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट भएको हो। बुढीगंगा नगरपालिका-५ नवाघर घर भई हाल कन्चनपुर बस्दै आएका ५० वर्षीया टेकेन्द्र सुनारमाथि कुटपिट भएको प्रहरीले जानकारी दिएको छ। 

बाजुरा प्रहरीकाअनुसार नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला दलितले मन्दिर प्रवेश गरेको भन्दै कुटपिट तथा गालीगलौज गरिएको हो। सुनारले मन्दिरमा आफूमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुरामा निवेदन पनि दिएका छन्।

सुनारले कुटपिट गर्ने त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्ध अयडी, सोही वडाका ५२ वर्षीय रंग उपाध्याय र ३५ वर्षीय विनोद अयडीले कुटपिट गरेको भन्दै निवेदन परेको जिल्ला प्रहरी कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताए।

निवेदनपछि बुधबार त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष अयडीलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख थापाले बताए। आरोपित अन्य दुईजना भने फरार रहेका छन्। रंग उपाध्याय मन्दिरका पुजारी हुन्। 

पीडित सुनारले मन्दिर क्षेत्रमा हातपातसँगै लुटपाट पनि भएको बताएका छन्। उनले आफूसँग भएको नगद ६० हजार पनि खोसेर लगेको बताए। आफू पूजा गरिरहेको स्थलमा आउन मिल्दैन भन्दै डुम शब्द प्रयोग गरी जातीय विभेद गर्दै कुटपिट र लुटपाट गरेको पीडित सुनारको दाबी छ।

कुटपिटबाट घाइते सुनारको आँखा, कान‚ नाक र शरीरमा चोट लागेको छ। घाइते सुनारको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.