|

सुर्खेत ः डोल्पा त्रिपुरासुन्दरी ३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उनको घरमा साहु तीन पटक पुगिसकेका छन्। भारत जाँदा भाडास्वरुप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन्।

नेपाली रुपैयाँ बराबरको भारु दिने सम्झौता गरेका कामी अझै घर नपुगेका उनकी श्रीमती जयसरा कामीले बताइन्। उनले भनिन्, ‘बारीमा फलेका स्याउ दैनिक बोकेर त्रिपुरा बगरमा जान्छु, त्यहाँ दिनभरी १४ महिनाकी छोरीलाई च्यापेर बिक्री भएको पैसा जम्मा गरेर साहुलाई बुझाउने योजना छ। जाजरकोट र रुकुम पश्चिममा लाग्ने जात्रा तथा मेलामा स्याउ लिनका लागि ग्राहक आउने गर्दछन्, अब तीन दिन बिक्री गरेमा साहुको पैसा तिर्ने जम्मा हुनेछ।’

४ हजार रुपैयाँ उहाँका श्रीमान राजेन्द्रले स्थानीय साहुबाट सापटी लिएका थिए। दशैँमा जयसराका श्रीमान घरमा पुग्ने वा नपुग्ने कुनै जानकारी छैन। तर उनको घरमा साहु भने तीन पटक आइसके।

चार छोरा छोरीसहित घरमा रहेकी उनलाई श्रीमान्‌सँग आधा महिना अघिमात्र फोनमा सम्पर्क भएको थियो। दशैँमा कमाइ भएमा जसरी पनि घरमा आउँछु भन्ने सन्देश छोडेका राजेन्द्रसँग आधा महिनादेखि श्रीमतीसँग सम्पर्क भएको छैन।​​

उता श्रीमान् आएपनि, नआएपनि नेपाली रुपैयाँको भारु रुपैयाँ असुल्न साहु पटक-पटक घरमा आउदा आफू ऋण कसरी तिर्ने भन्दै हैरान भएको जयसराको भनाई छ।​

स्याउँ बिक्री गरेको पैसाले दशैँमा नयाँ कपडासहित केही आवश्यक सामग्री खरिद भन्दा पनि साहुको ऋणले सताउँदा दशैँ आउनु र नआउनुमा आफूलाई केही फरक नभएको पीडा सुनाउँछिन्।

परिवार साथमा छैन, अर्कोतिर ऋणले च्यापेको छ उनले भने, ‘गरिबलाई चाड, पर्व नआएकै राम्रो।’ छिमेकीका छोरा, छोरी रंगीचंगी कपडा लगाउँदा आफ्ना छोराछोरी खाली हुने हुन कि भन्दै जयसराले आँखाबाट आँशुसँगै दुखेको पोखिन्।

गाउँमा विकास निर्माणका कामहरु भइरहेका छन् तर त्यहाँ पनि पहुँचवालाकै चुरिफुरी छ उनले थपिन्। दैनिक पाउने ज्यालामा समेत महिला भएकै कारण कम रकम दिने गरिएको पीडा उनीसँग छ।

जयसरा भन्दा कम पीडा छैन, मुड्केचुला –१ का सीता बोहराको पनि ! वर्षै पिच्छे जन्मिएका ६ छोराछोरी पालन गर्न दैनिक हैरानी हुँदै आएको उनी बताउँछिन्। छोराको आशमा वर्षैपिच्छे छोरी जन्मिँदा अन्तिममा छोरा भएको बोहरा परिवारमा अहिले दैनिक खर्च चलाउन मुस्किल छ।

सीताका श्रीमान दत्तबहादुर बोहरा भारत गएको ७ महिना भयो। सबै छोरीहरु विद्यालयमा पढ्छन्।

अन्तिममा जन्मिएको छोरा बल्ल ९ महिनाको भयो, सीताले भनिन्। नेपाली रुपैयाँ दिएर भारु रुपैयाँ लिने गाउँका साहुबाट सीताका श्रीमानले ५ हजार रुपैयाँ ऋण काडेर भारत गएका थिए।

दशैँमा फिर्ता गर्ने गरी लिएको उक्त पैसा दशैँका केही दिन बाँकी रहँदा साहुले घरमा दैनिक छिटो दिन ताकेता गरिरहेको सीताले बताइन्। श्रीमान आएपछि दिइहाल्नुहुन्छ नि भन्दा साहुले तिम्रो पोई ( श्रीमान्) कहिले आउँछ थाहा छैन, हामीलाई अरु ठाउँमा ब्याज स्वरुप ठेकी लगाउनु छ। छिटो गरिदिनु भन्दै हैरान बनाएको सीताले दुखेसो पोखिन्। दशैँ, तिहार त सबैलाई आएको छ भन्दै सीताले भनिन्, ‘रमिताका बाबासँग फोनमा कुरा भएको थियो मंगलबार बिहान, उहाँ यो पटक कमाई राम्रो नभएकाले तिहारपछि आउने कुरा गर्नुभएको छ। म सँग पैसा छैन कसरी साहुलाई दिनु।’

यहाँ दुइजना प्रतिनिधिमूलक पात्र भएपनि जाजरकोट, डोल्पा र रुकुम पश्चिमका अधिकांश भारत गएर कमाइ गरी (पारिश्रमिक) घरको खर्च चलाउने परिवारको समग्र पीडा हो यो। हुने खाने भन्दा पनि हुँदा खाने बीचको गरिबीको ठूलो खाडल पहाडी जिल्लामा रहेको छ। छोराका आशमा धेरै सन्तानको जन्मदिने देखि थोरै जमिन भएर आफूले उत्पादन गरेको अन्नले चार महिना पुरा खाना नपुग्ने निम्न स्तरका परिवारलाई ठूला चाडपर्वमा समस्या बनाउँदै आएको छ।

आर्थिक नभएर पीडा भएपनि दशैँ तिहारले भावनात्मक रुपमा नै पीडा दिने गरेको निम्न वर्गका सर्वसाधारणले बताउँदै आएका छन्।

घरमा ठूला व्यक्तिलाई पैसाको अभाव भएकाले धनी व्यक्तिजति चाड पर्वमा खर्च गर्न नसक्ने थाहा भएपनि साना बालबालिकालाई त्यो जानकारी नहुने हुँदा अभिभावकलाई ठूला पर्व, मेला, जात्रामा बालबालिकाले समस्या पर्दै आएको जाजरकोट नलगाड नगरपालिका –११ का कालीबहादुर विकले बताए।

दशैँपछि आउने असोज २३ गतेको पूर्णिमाको दिनदेखि तीन जिल्लामा मेला तथा जात्रा सुरु हुन्छन्। जाजरकोटको पूर्वमा रहेको सबैभन्दा ठूलो जात्रा रामीडाँडा, रुकुम पश्चिम आठबीसकोटको राडीमा लाग्ने चौतारा मेला, अनाहमेला, दामाचौर, छिनखेत मेला, चिसापानी मेला लाग्ने गर्दछ।

जाजरकोटको नलगाड नगरपालिकाको तल्लुस्थित (साविक भगवती गाविस) डाँडामाथि मेला  र अन्तिम जाजरकोट सदरमुकाममा लाग्ने रमाइली मेला गरी यस क्षेत्रमा दुइ दर्जन ठूला जात्रा, मेला लाग्ने गर्दछन्।

यी सबै मेला, जात्रामा भारी एकथरीको खर्च हुन्छ भने व्यापारीको भारी लाभ उठाउने गर्दछन्। गरिब परिवारलाई यी मेला पर्वमा खर्च धान्न धौ धौ हुने गरेको छ। डोल्पा र जाजरकोटका निम्न आर्थिक अवस्था भएका स्थानीयवासीहरुको संख्या ठूलो रहेको छ।

वर्षेनी कमाइका लागि भारत जाने परिवारको संख्या अत्याधिक बढिरहेको पाइएको छ। आयआर्जनको गतिलो बाटो नदेखेपछि यहाँका सर्वसाधारणहरु भारत नै आफ्नो कमाइ गर्ने उपयुक्त गन्तव्य बनाउँदै आएका छन्।

दशैँ, तिहारका लागि भन्दै अधिकांश सर्वसाधारणहरू घर फर्कनेको संख्यासमेत भारी मात्रामा रहेको छ। मंसिरमा हुने चुनावभन्दा अगावै ती सर्वसाधारणहरुलाई फेरि कमाइका लागि भारत जाने बताएका छन्।

नेता, कार्यकर्ताहरु गाउँ गाउँमा भोट माग्नका लागि पुगेपनि भारतबाट कमाइ गरेर फर्कनेहरूले हाम्रो लागि के हुन्छ भन्दै प्रश्न गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.