|

पर्वत : अस्वस्थ भेडा च्याङ्‍ग्राको बिक्री वितरण हुन नदिनका लागि कास्कीको पोखरा महानगरपालिकाले बिक्रीका लागि राखिएका भेडा च्याङ्‍ग्राको अनुगमन गरेको छ।

महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा पोखराको याम्दीमा राखिएका भेडा च्याङ्‍ग्राको बिहीबार अनुगमन गरिएको हो। बिक्रीका लागि मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, डोल्पा, मुगु, लगायतका ठाउँबाट ल्याइएका भेडा र च्याङ्‍ग्राको स्वास्थ्य अवस्था जाँच गरेर खानका लागि योग्य भए नभएको जाँच गरिएको पोखरा महानगरका उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव भरतराज पौडेलले बताए।

अनुगमनमा अस्वस्थ देखिएका भेडा, च्याङ्‍ग्रा बिक्री नगर्न व्यवसायीलाई जानकारी गराइएको महानगरको पशु शाखाका  प्रमुख नवराज अधिकारीले बताए।

उनका अनुसार बिक्रीकै लागि राखिएका १५ वटा भेडा च्याङ्‍ग्राको नमुना सङ्कलन पनि गरिएको छ। नमुना परीक्षणपछि याम्दी क्षेत्रमा राखिएका भेडा च्याङ्‍ग्रा मासुका लागि योग्य भए नभएको थाहा हुने छ।

अनुगमनको क्रममा खरिदकर्ताले महानगरपालिकाको टोलीसँग भेडा च्याङ्‍ग्राको दरमा एकरुपता हुन सकेमा उपभोक्ता मारमा नपर्ने सुझाव राखेका थिए। उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले पनि भेडा च्याङ्‍ग्राको मूल्य निर्धारण गर्न सकेमा उपभोक्ता ठगिनु नपर्ने अवस्था आउने बताए।

उनले उपभोक्ताले खरिद गर्दा स्वस्थ छ कि छैन भन्ने ख्याल गरेर किन्नुपर्ने सुझाव दिँदै मूल्य निर्धारण वैज्ञानिक नभएको उल्लेख गरे। यस वर्ष नसके पनि आगामी वर्षबाट भेडा च्याङ्‍ग्राको बिक्रीमा वैज्ञानिक मूल्य निर्धारणमा ध्यान दिनुपर्ने उनको आग्रह छ।

पोखरा महानगरको उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा एक साता अघिदेखि अनुगमन सुरु गरिएको थियो। पोखराका मासु पसल र खाद्य पसलहरूमा हरेक दिन जसो अनुगमनहरू भइरहेका छन्। अनुगमनको क्रममा मूल्य सूची नराखेको, व्यवसाय दर्ता नगरी चलाएको, दर्ता भएका पसलहरूको पनि नवीकरण नभएको, किला काँटा दर्ता नभएका तथा सरसफाइमा पनि ध्यान नदिएको पाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए।

उनका अनुसार एक सातामा २० जना व्यवसायीहरूलाई पाँचदेखि १० हजारसम्मको जरिवाना गरिएको छ। महानगरपालिकालाई अनुगमन गर्ने अधिकार भए पनि जरिवाना गर्न पाउने व्यवस्था नभएकाले जिल्ला प्रशासन कार्यालयमार्फत जरिवाना गरिएको हो। चाडपर्व लक्षित पोखराको अनुगमनमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य गुणस्तर तथा नापतौल, उपभोक्ता मञ्च, पत्रकार लगायतको सहभागिता रहँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.