शतप्रतिशतको खोजी गरेको प्रहरीको दाबी

|

काठमाडौं : भविष्यको कर्णधार मानिने बालबालिकाहरु वर्षेनी हराउने क्रम बढ्दो देखिएको छ। बेपत्ता हुनेहरुमा बालकभन्दा बालिका झण्डै तेब्बरले बढी रहेका केन्द्रीय प्रहरीको तथ्यांकले देखाएको छ।

सामाजिक, मानसिक तथा मनोवैज्ञानिक कारणबाट बालिकाहरू धेरै घर छाड्ने गरेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेक प्रसाद राईले बताए।

उनले थाहाखबरसँग भने, ‘बालकहरू भन्दा बालिकाहरू अलि बढी दयालु, भावनामा बग्ने हुनाले घर छाड्ने गरेको पाइएको छ।’ नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ८ सय ३१ बालक र १८ सय ९८ बालबालिका गरी २७ सय २९ जना बालबालिका हराएका थिए भने २५ सय ७ बालबालिका फेला परेका छन्।

तीमध्ये दुईजना बालक मृत फेला परेका थिए भने २ सय १० जना बालबालिका अझै कहाँ कस्तो अवस्थामा छन्, पत्ता लागेका छैनन्। यस्तै, आर्थिक वर्ष  २०७७/७८ मा ३ हजार ६ सय ५८ जना बालबालिका बेपत्ता भएका थिए। जसमा ८ सय ४९ जना बालक थिए भने २ हजार ८ सय ९ जना बालिका हराएका थिए। उनीहरुमध्ये ३ हजार ३ सय ७६ जना फेला परिसकेका छन्। २ सय ६८ जना अझै बेपत्ता नै रहेका छन्।

गत आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ६ सय ४६ जना बेपत्ता भएका थिए। उक्त आर्थिक वर्षमा १२ सय १५ बालक हराउँदा ३४ सय ३१ बालिका बेपत्ता भएका थिए। तीमध्ये ४३ सय ९७ जनालाई नेपाल प्रहरीले खोजी गरेको छ भने २ सय ४९ जना अझै बेपत्ता रहेका छन्।

हराउनेमध्ये सबैभन्दा बढी मधेश प्रदेशका ९ सय ४३ बालबालिका छन्। तीमध्ये ८ सय ४१ जना फेला परेपनि एक सय २ जनाको अवस्था अज्ञात नै छ। त्यस्तै प्रदेश १ बाट हराएका ८१५ बालबालिकामध्ये ७७० जना फेला पारेको तथ्यांक प्रहरीको छ।

अन्य ४५ जनाको खोजी जारी रहेको प्रहरीको दाबी छ। त्यसैगरी लुम्बिनी प्रदेशबाट ६ सय ८३, गण्डकीबाट ५ सय १७, सुदूरपश्चिमबाट ४ सय ११, बागमती प्रदेश बाहिरका जिल्लाबाट ३ सय ७३ र बागमती प्रदेशबाट ६ सय ३२ बालबालिका हराएका निवेदन परेको छ।

प्रहरीका अनुसार हराएकामध्ये अधिकांश बालबालिका फेला पर्ने गरेका छन्। तथ्यांकमा ९४ दशमलव ६४ प्रतिशत फेला परे पनि ५ दशमलव ३६ प्रतिशत बालबालिकाका अझै बेपत्ता नै छन्। तर, हराएकामध्ये शतप्रतिशत बालबालिका भेटिइसकेका दाबी प्रहरीको छ।

डिआइजी राईले भने, ‘छोरा छोरी हराएपछि बुबा आमाले प्रहरीलाई निवेदन दिन्छन्। तर, बच्चा घरमा फर्किएपछि प्रहरीमा खबर नगर्ने गरेकाले तथ्यांकमा बेपत्ता नै राखेको हुन्छ।’

पारिवारिक वातावरण राम्रो तथा बालमैत्री नभएका परिवारका बालबालिका हराउने गरेको उनको तर्क छ। अभिभावकले राम्रो भूमिका निर्वाह नगर्दा पनि बालबालिकाले घर छाडेर हिंड्ने गरेको उनको बुझाई छ।

‘बाबु आमाबाट हेरचाहको कमी भएको, घर झगडा भइराख्ने, बुबा वा आमा नभएका बालबालिकाहरु हरायो भनेर निवेदन पर्ने गरेको छ।’, उनले थपे, ‘आमाबुवाले मादक पदार्थ सेवन गरी झगडा गर्ने पारिवारिक वातावरणमा बालबालिकाले घर छाड्ने गरेको पाइन्छ।’

हराएका बालबालिकाहरु जोखिमपूर्ण काम गरिरहेको, बाल श्रमिकको रुपमा प्रयोग भएको तथा सडकमा अलपत्र अवस्थामा भेटिने गरेको डिआइजी राईले जानकारी दिए। केही बालबालिका भने आफन्त तथा नातेदारको घरमा भेटिने गरेको उनले बताए।

हराएकामध्ये थोरै बालबालिका भने खुला सीमा नाकाका कारण छिमेकी मुलुक भारतमा श्रमिकको रुपमा पाइने गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.