|

काठमाडौं : पूर्व राष्ट्रपति डा. रामवरण यादवले प्राकृतिक सम्पदाहरूको दोहन हुँदासमेत राज्य संयन्त्र मौन रहेको भन्दै दुःखेसो गरेका छन्। शुक्रवार काठमाडौंमा आयोजित १५३ औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले प्रकृति दोहनका कारण हिमालको हिउँ आवश्यक भन्दा धेरै पग्लिरहेको र यसले विभिन्न समस्या सिर्जना गरिरहेको बताए। पूर्व राष्ट्रपति यादवले नदीनाला दोहन, तराईका जंगलको विनाश, चुरे क्षेत्रको दोहन र चुनढुङ्गा निकाल्ने बहानामा भइरहेको पहाडको दोहनका कारण प्राकृतिक विपद्हरु दिनप्रतिदिन बढिरहेको बताए।

​उनले नेपालमा मात्रै नभइ विश्वमा नै क्लाइमेट इमर्जेन्सी, ग्लोबल वार्मिङको समस्या रहेको बताए।

उहाँले वैज्ञानिकहरुले प्राकृतिक श्रोत सम्पदाहरूको दोहन गर्दा आउनसक्ने परिणामको चेतावनी दिँदासमेत विश्वका नेतृत्वकर्ताहरुले जलवायु परिवर्तनको विषयमा कुनै चासो नदिएको बताए। पूर्व राष्ट्रपति यादवले प्रकृति दोहन गर्दा हाल जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढिरहेको उल्लेख गर्दै यस्ता समस्याहरु समाधानका लागि विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नरहेको जिकिर गरे।

उनले प्रकृतिको संरक्षण नगरे मानव सभ्यता नै धरापमा पर्ने अवस्था आइसकेको बताए।

उनले भने, ‘अहिले क्लाइमेट इमर्जेन्सी छ संसारमा। ग्लोबल वार्मिङ भएर हाम्रो हिमालको हिउँ पग्लिरहेको छ। ​अन्टार्कटिकाको हिउँ पग्लिरहेको छ। साइबेरियामा आगो लागिरहेको छ। वैज्ञानिकहरुले यसबारेमा चेतावनी दिइरहेका छन्। तर अहिलेको संसारका कोही पनि नेतृत्वकर्ताहरुले यसमा चासो दिएका छैनन्। वैज्ञानिकहरु २२ औँ शताब्दीमा मानव सभ्यता नै मुस्किलमा पर्ने भनिरहेको छ। प्रकृतिलाई शोषण गरेकै कारण प्राकृतिक विपद्हरु निम्तिरहेका छन्। हाम्रै हिमालको हिउँ पग्लिरहेको छ। नदीनाला दोहन गरिरहेका छौँ। चुरे क्षेत्र समाप्त भइरहेको छ। तराईको जंगल समाप्त भएको छ। तर लिडरलाई मतलब छैन। चट्टान फोरेर चुनको लोभमा चुनढुंगा निकालेर प्रकृति समाप्त भइरहेको छ। जलवायु परिवर्तनको असर, खाद्यान्न अभाव, इन्धनको अभाव जस्ता समस्या बढिरहेका छन्। २१ औं शताब्दीमा रुस र युक्रेनको युद्धले लाखौँ मानिस मरिरहेका छन्।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.